काठमाडाैं- साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार उच्च अंकले वृद्धि भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.२४ अंकले बढेर २८१८.११ विन्दुमा कायम भएको हो।
अघिल्लो साता लगातार गिरावट भएको नेप्से अन्तिम दुई दिनमा भने बढेको थियो। यो साता पहिलो दिनमै उच्च अंकको वृद्धि आएको हो। कारोबार रकममासमेत आज सुधार आएको छ।
नेप्सेमा आज कूल आठ अर्ब छ करोड १३ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। कूल २२५ वटा कम्पनीका तीन करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर ८२ हजार ४९ पटक खरिद-बिक्री भएका थिए।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १३.७७ अंकले बढेर ५४३.४३ विन्दुमा कायम भएको छ।
आज गोर्खा फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र आईसीएफसी फाइनान्सको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३.७५ प्रतिशतका दरले गुमाएका छन्।
आज एनआईसी एसिया बैंकका सेयर सबैभन्दा धेरै ३९ करोड ९६ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ सबैभन्दा धेरै ७० लाख ३७ हजार ६०० कित्ता र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका सेयर सबैभन्दा धेरै तीन हजार ९६४ पटक किनबेच भएका थिए।
आज सबै समूहका परिसूचक बढेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।