काठमाडौं– नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज (मंगलबार) पुनः बस्ने भएको छ। सिंहदरबारमा सोमबार साँझ सम्पन्न बैठक आज दिउँसो १ बजे पुनः बस्ने गरी टुंगिएको हो।
कार्यदलमा दुवैपक्षका पाँचरपाँच जना नेता रहेका छन्। कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन्।
गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो।
गत जेठ ६ गते राष्ट्रिय सभाको बागमती प्रदेश अन्तर्गत रिक्त पदमा भएको उपनिर्वाचनपछि कार्यदलले गर्दै आएको एकताको पहल बिथोलिएको थियो।
सोमबारको बैठकमा अनौपचारिक रुपमा भइरहेका छलफल, सहमति र सहमतिका मस्यौदाका विषयमा छलफल भएको कार्यदल सदस्य गोकर्ण विष्टले बताए।
‘पार्टीभित्रको विवादमा समाधान खोज्नका लागि कार्यदलले फेरि औपचारिक रुपमा काम अगाडि बढाएको छ। हार्दिकतापूर्वक छलफल भएको छ,’ विष्टले भने, ‘पार्टीभित्रै छलफल गरे सहमतिका लागि निकास खोज्ने, पार्टी नेता, कार्यकर्ता र आमजनताको चाहना बमोजिम एकतालाई सार्थक बनाउनेगरी छलफल भयो।’
मंगलबारको बैठकमा सहमतिको वातावरण कसरी बनाउन सकिन्छ भन्नेबारे थप छलफल गरिने नेता विष्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।