काठमाडौं– नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ। नेपालको पुरानो राजनीतिक दल कांग्रेसको उमेर ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’बाटै गणना गर्ने हो भने ७५ औं वर्ष पुगेको छ। संयोगले यो रुपमा कांग्रेसको जन्म भएकै वर्ष अर्थात् २००३ सालमा जन्मिएका शेरबहादुर देउवाले वर्तमान कांग्रेसको नेतृत्व गरिरहेका छन्।
२०७२ साल फागुनमा भएको १३ औं महाधिवेशनबाट सभापति बनेका देउवालाई समयमै महाधिवेशन गरेर कांग्रेसको वैधानिकता जोगाउने दायित्व छ। महाधिवेशनको त्यो मिति अन्तिम पल्ट सरेर आउँदो भदौ १६ गतेदेखि १९ सम्मका लागि तय भएको छ।
महाधिवेशन सर्दै गएर भदौभित्र गर्नैपर्ने संवैधानिक बाध्यतामा परेको कांग्रेसले यसपल्ट नेतृत्व परिवर्तनको औपचारिकता मात्रै पूरा गर्ने छैन, बाटो बिराउँदै गएको आरोप खेपिरहेको कांग्रेसमाथि संकटग्रस्त बन्दै गइरहेको पछिल्लो राजनीतिलाई समेत सम्हाल्नुपर्ने अभिभारा आइलागेको छ।
प्रजातन्त्र, बहुदल हुँदै गणतन्त्र ल्याउनमा समेत नेतृत्वदायी भूमिका खेलेको कांग्रेसको भूमिकामाथि पछिल्ला वर्षहरुमा प्रश्न उठिरहेको छ। त्यसैले यो महाधिवेशन विगतको भन्दा महत्वपूर्ण मात्रै होइन, अर्थपूर्ण पनि छ।
त्यो विगत, यो हविगत
२००७ सालमा राणाशाही समाप्त गरेर मुलुकमा प्रजातन्त्र बहाली गरिरहँदा कांग्रेसमा विपी कोइरालाको मुख्य नेतृत्व थियो। २०१५ सालको पहिलो निर्वाचन सुवर्ण शमसेरले गराएका थिए भने त्यसपछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला भए। २०४६ सालमा निर्दलीय पञ्चायत ढाल्दा सर्वमान्य नेताका रुपमा नेपाली कांग्रेसको नेतृत्व गणेशमान सिंहले गरिरहेका थिए। २०४७ सालमा संविधान निर्माण गरेर २०४८ सालमा आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी कांग्रेस सभापतिको हैसियतमा कृष्णप्रसाद भट्टराईले पूरा गरे।
२०६३ को जनआन्दोलन, राजसंस्थाको बहिर्गमन तथा माओवादी हिंसाको शान्तिपूर्ण अवतरण र अन्तरिम संविधान जारी गरेर पहिलो संविधानसभाको निर्वाचन गर्न नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रह्यो। त्यसको नेतृत्व पार्टी सभापति रहेका गिरिजाप्रसाद कोइरालाले गरेका थिए। २०७२ सालमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्ने सरकारको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको थियो। त्यसबेला कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री थिए।
यस्तो विरासत बोकेको कांग्रेस पछिल्लो समय भने आफ्नो त्यही विरासत धान्न नसकेको भनेर आलोचित छ, पार्टीभित्रै र बाहिरबाट पनि। पछिल्लो दशकमा कांग्रेसलाई आफू राम्रो भएका कारण होइन, खासगरी सत्तामा लामो समय बस्ने मौका पाएका कम्युनिष्टहरुले राम्रो नगरेका कारण ठूलो दल हुने अवसर जुरिरहेको छ। २०६४ सालमा ठूलो दल बनेको माओवादीले जनअपेक्षा पूरा गर्न नसकेका कारण २०७० सालमा कांग्रेसले ठूलो दल बन्ने अवसर पायो तर, बहुमत हासिल गर्न सकेन। २०७४ सालमा फेरिवामगठबन्धनले नेपाली कांग्रेसलाई प्रत्यक्षतर्फ जम्मा २३ सिटमा झार्यो। यसपल्ट फेरिवामगठबन्धनमा आएको विभाजन र विचलनको लाभ कांग्रेसलाई नै हासिल हुने आकलन भइरहेको छ।
यसरी हेर्दा महत्वपूर्ण अवसर आइ नै रहे पनि कांग्रेस पहिलो रोजाइ होइन, विकल्प मात्रै बनिरहेको प्रतीत हुन्छ। त्यसकारण पनि यसपालिको महाधिवेशनबाट चुनिने नेतृत्वले कांग्रेसलाई त्यसबाट बाहिर निकाल्ने अपेक्षा आम कांग्रेसजनमा हुनु स्वभाविक नै हो।
महाधिवेशनबाट नीतिगत परिवर्तन र त्यसको व्यावहारिक कार्यान्वयन गर्ने नेतृत्व आउँछ कि आउँदैन? अबको कांग्रेस कस्तो बन्ला, अनि कांग्रेस अब कसको बन्ला भन्ने बहस आरम्भ भइसकेको छ।
पार्टी संरचनाको परिवर्तित रुप
आउँदो महाधिवेशनमार्फत् आफूलाई व्यवहारतः संघीय संरचनामा ढाल्न थालेको कांग्रेसले धेरै पदहरुमा लोकतन्त्रको अभ्यास अर्थात् निर्वाचन गर्ने तयारी पनि गरेको छ। विधानमा महत्वपूर्ण परिवर्तन गरेर कांग्रेस संरचनागत परिवर्तनको दिशामा हिँडिसकेको सन्देश दिन खोज्दै छ।
नेपाली कांग्रेसले संविधान बनेको पाँच वर्षपछि आफ्ना संगठन र संरचनाहरुलाई संघीयता अनुरुप बनाउने तयारी गरेको हो। संविधानले अंगीकार गरेको समावेशितालाई अंगालेर विधान परिवर्तन गरिएको कांग्रेसको दाबी छ। संविधानको मर्म अनुरुप महिला, दलित, आदिवासी, जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएका क्षेत्र लगायतलाई पार्टी संरचनाभित्र समेट्ने तयारी कांग्रेसले गरेको छ।
समावेशिताको उच्चतम प्रयोग अन्तर्गत् तल्लो तहदेखि नै महिलाको प्रतिनिधित्वलाई ३३ प्रतिशत पुर्याउने प्रयास गरिएको छ।
टोल, वडा, गाउँ/नगर, प्रदेश निर्वाचन क्षेत्र, संघीय प्रतिनिधि सभा, जिल्ला कार्यसमिति, प्रादेशिक कार्यसमिति र केन्द्रसहित कांग्रेसको संगठनमा आठ तहका संरचना छन्।
वडा तहबाटै समावेशिता सहितको संगठन बनाउने विधानले परिकल्पना गरेको छ। कम्तिमा तीन महिलासहित नौ जना प्रत्यक्ष निर्वाचित सदस्य वडा तहको कार्यसमितिमा हुनेछन्।
तल्लो तहदेखि उपल्लो संगठनसम्म महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रलाई समेटिने गरी विधान बनेको छ। गाउँपालिका वडा कार्यसमितिको सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य संख्या अनिवार्य रुपमा महिलालाई समेट्नुपर्नेछ।
कांग्रेसको इतिहासमा सांगठनिक संरचनामा नितान्त नयाँ कार्यसमितिका रुपमा यसपटकदेखि प्रादेशिक समिति थपिएको छ। प्रदेश कार्यसमितिमा सभापति, उपसभापति र महामन्त्री दुई/दुई, सहमहामन्त्री ३ मा एक जना महिला अनिवार्य गरिएको छ। सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष सहितका ९ जनाको पदाधिकारी कायम गरिएको छ। सभापति निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्नेछ।
कांग्रेसको १४ औं महाधिवेशन पश्चात्को कार्यसमिति समावेशिताको उच्चतम नमूना बन्ने दाबी कांग्रेस नेताहरुले गर्दै आएका छन्। केन्द्रमा सभापति, उपसभापति र महामन्त्री २/२ जना, आठ जना सह–महामन्त्री र कोषाध्यक्ष गरी १४ जना पदाधिकारी हुनेछन्। महिला, आदिवासी, मधेसी, खस आर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रका गरी आठ सह–महामन्त्री निर्वाचित हुनेछन्। समावेशिताका आधारमा चयन हुने उनीहरुका लागि क्लष्टर अनुसारका प्रतिनिधिले मत दिन पाउनेछन्। संशोधित विधान अनुसार अबको केन्द्रीय कार्यसमिति १६८ जनाको हुनेछ। त्यसमध्ये एक तिहाई महिला उपस्थिति अनिवार्य गरिएको छ।
यसपटकदेखि महाधिवेशनले सात प्रदेशबाट प्रदेशगत रुपमा २१ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ। तीमध्ये सातजना महिला निर्वाचित हुनैपर्ने प्रावधान छ। दलित, आदिवासी, खस आर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको वर्गबाट केन्द्रीय सदस्य चयन गर्दा विधानले निश्चित गरेको महिलाको संख्या पुर्याउनै पर्छ। समावेशिताको आधारमा ५४ जना केन्द्रीय सदस्य चयन हुनेछन्। अल्पसंख्यक र अपाङ्गताबाट १/१ चना केन्द्रीय सदस्य चयन हुनेछन्।
केन्द्रीय कार्यसमितिमा महिला प्रतिनिधित्व, अपाङ्ता, अल्पसंख्यक, पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुने गरी ३३ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ।
युवाको आकर्षण, नेतृत्वमा नयाँ पुस्ता
नीतिका हिसाबले पनि यसपल्ट कांग्रेसबाट परिवर्तनको अपेक्षा छँदैछ। नेतृत्व पनि अर्को पुस्तामा पुग्ने आकलन हुन थालेको छ।
कांग्रेसमा परम्परालाई तोड्दै यसपटकदेखि युवा पुस्ता क्रियाशील सदस्यमा प्रवेश गरेका छन्। सूचीकृत ८ लाख क्रियाशील सदस्यमध्ये हस्तक्षेपकारी भूमिकामा यसपटक युवा पुस्ता देखिने भएका छन्। २५ देखि ४० वर्ष उमेर समूहका सदस्य सबैभन्दा बढी रहेको क्रियाशील छानविन समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए।
हालसम्म करिब आठ लाख क्रियाशील सदस्यता दर्ता भएका छन्। त्यसमध्ये चार लाख २० हजार नयाँ क्रियाशील सदस्य थपिएका छन्। करिब ३ लाख ८० हजारले नवीकरण गरेका छन्। नयाँ क्रियाशील सदस्यमा युवा उमेर समूहको बाहुल्य छ। नयाँ र नवीकरण गरेका गरी करिब २ लाख ५० हजार युवा सूचीकृत भएका छन्।
यसपटकको महाधिवेशनमा युवा पुस्ताका नेताको पदाधिकारीसहित केन्द्रीय कार्यसमितिमा सार्थक हस्तक्षेप हुने दाबी कांग्रेसवृत्तमा भइरहेको छ। युवा क्रियाशील सदस्यको बलमा युवा नेताहरुले पदाधिकारीमा दाबी गर्ने भएका छन्। उनीहरुको दाबीले युवा पुस्ताको पक्षमा परिणाम समेत ल्याउने आकलन गरिएको छ।
तीन पुस्ता, तेहेरो टक्कर
कांग्रेसको पहिलो पुस्तामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, नेता कुलबहादुर गुरुङ लगायत चिनिन्छन्। यीमध्ये देउवा सभापतिमा दोहोरिने प्रयासमा छन् भने पौडेल ‘एकबारको जुनीमा सभापति बनिछाड्ने’ अडानमा छन्। यादव र गुरुङ भने पदाधिकारीमा दाबी गर्ने लयमा देखिएका छैनन्।
पहिलो पुस्तालाई नेतृत्व स्वीकार्ने अवस्थामा दोस्रो पुस्ताका नेताहरु छैनन्। यसले महाधिवेशनलाई रोचक मोडमा पुर्याएको छ। धक्काको ‘रेक्टर स्केल’ अहिल्यै आकलन नभएपनि स्थापित नेता भनिएका देउवा र पौडेललाई अन्य नेताले धक्का दिन खोजेको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। उनी भन्छन्, ‘कति धक्का दिन्छन्, त्यो त थाहा छैन तर, दबाब त सिर्जना भयो नि। प्रकाशमानले पौडेललाई र निधिले देउवालाई चुनौती दिए।’
आक्रामक बनिरहेको अर्को पुस्ताले भावी दिनमा दिने टक्करले अहिल्यै तर्साएको छ। यसलाई नेतृत्व प्राप्त गर्ने उपयुक्त अवसरका रुपमा दोस्रो पुस्ताका नेताहरुले लिएका छन्।
उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्मा पहिलो पुस्ताकै हाराहारी भएपनि दोस्रो पुस्ताको रुपमा उनीहरु आफुलाई चिनाउन चाहन्छन्। दोस्रो पुस्ताकै लाइनमा रहेका थप नामहरुमा डा रामशरण महत, डा शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, प्रकाशशरण महत, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्र बहादुर कार्की, डा मिनेन्द्र रिजाल, मीन विश्वकर्मा, नारायण खड्का लगायत छन्।
देउवा र पौडेलका अतिरिक्त निधि, शंशाक, शेखर, सिटौला, प्रकाशमान सभापतिको उम्मेदवारी दिने तयारी गरिरहेका छन्। उनीहरुले त्यसका लागि चहलपहल दिन थालिसकेका छन्।
दोस्रो पुस्ताका अन्य नेताहरुको आकांक्षा महामन्त्री हो। दुई महामन्त्रीका लागि दर्जनजतिको आकांक्षा देखिसकेको छ। तर, पहिलो पुस्तालाई सभापति नछाड्न दोस्रो पुस्ता लागेझैं, दोस्रो पुस्तालाई महामन्त्रीमा नयाँ पुस्ताले टक्कर दिने अवस्था बनेको छ। यसले धेरैजसोलाई उपसभापतिमा धकेल्न सक्छ।
नयाँ पुस्ताका केही लोकप्रिय नेताहरु दुई जना निर्वाचित हुने महामन्त्रीको दाबी गरिरहेका छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र यसअघि नै महामन्त्रीको दाबी गरिसकेका गगन थापाले दोस्रो पुस्तालाई जबर्जस्त चुनौती दिन सक्छन्। नयाँ पुस्ताका अन्य नेताहरु पनि छन््। पार्टीभित्र र बाहिर लोकप्रिय बनिरहेका यी युवा नेताहरुलाई आफ्नो महामन्त्री बनाउन सभापतिका हरेक उम्मेदवारले प्रयास गर्नेछन्। किनभने उनीहरुले गर्ने समर्थनले पनि सभापतिको मतमा अर्थपूर्ण अन्तर पार्ने माहोल देखिन थालेको छ।
नेताहरुको महत्वाकांक्षा र बहुध्रुवीय गुट
कांग्रेसका पुराना गुटका खाँबाहरु मक्किदै गएका छन्। एउटै गुटका कारण चुनाव जित्ने अवस्था नरहेको नेताहरुले आकलन गरिसकेका छन्। अझ सभापतिमा त गुटका कारण मात्रै विजयी हुन मुस्किल परेको कांग्रेसको विगत छ।
त्यसलाई हालका सभापतिका उम्मेदवारहरुले महशुस गरिसकेका छन्। सभापतिकै उम्मेदवारमध्य एक विमलेन्द्र निधि त विपी कोइरालाले समेत अन्य समूहको सहयोग लिनुपरेको बताउँछन्। उनी भन्छन्, ‘सभापतिमा विजयी भएका नेताहरुको सुक्ष्म अध्ययन गर्दा के पाउनुहुन्छ भने आफ्नै समूहको बलमा मात्रै अहिलेसम्म कसैले जितेको छैन। वीपी कोइरालाको पालादेखि नै अर्को समूहका साथीको सहयोग लिनै पर्ने रहेछ भन्ने देखिन्छ।’
त्यसैगरी गिरीजाप्रसाद कोइरालाले जित्दा पनि कृष्णप्रसाद भट्टराईको साथ लिएको, शुसिल कोइरालाले पनि इतर समूहको साथ लिएको, शेरबहादुर देउवाले जित्दा पनि इतरसमूहका अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, श्याम घिमिरे लगायतका अर्को समूहका नेताहरुको साथ लिएको हिसाब हातमा लिएर उम्मेदवारहरु बसिरहेका छन्।
विगतको भन्दा बढी सभापतिका आकांक्षी भएका कारण यसपल्ट नयाँ खालको अलायन्स स्पष्ट रुपमा देखिने राजनीतिक विश्लेषक आचार्य बताउँछन्। उनको विश्लेषण छ, ‘यसपटक सभापतिका आकांक्षी विगतमा भन्दा धेरै देखिए। उनीहरुको उम्मेदवारीको दाबी कतिबेलासम्म रहन्छ भन्न सकिन्न। तर, यसले नयाँ प्रकारको अलायन्स निर्माण गर्छ।’
केही अघिसम्म कार्यकर्ता वा नेताका सेकेण्डम्यान वा थर्डम्यान भएर कार्य गरिरहेकाहरु यसपल्ट त्यही रुपमा बस्न नचाहेको उनले बुझेका छन्। स्थापित नेताहरुको जगमा पनि निकटस्थ नेताहरुको महत्वाकांक्षाको पानी पसेको छ। जसले उनीहरुलाई विगतको भन्दा कमजोर पारेको देखिन्छ।
यो महाधिवेशन यस कोणबाट पनि फरक देखिने आचार्यको बुझाइ छ। उनको आकलन छ, ‘गिरिजासँग देउवाको प्रतिस्पर्धा वा शुसिलसँग देउवाको प्रतिस्पर्धा जस्तै रुपमा यो महाधिवेशन देखिँदैन। खासमा कांग्रेसमा लामो समयदेखि चलिआएको दुई गुुटको स्पष्ट लडाइँ देखिदैन। बहुध्रुवीय गुटहरुको निर्माण भएको देखिन्छ।’
पार्टीको मात्रै होइन, देशकै नेतृत्व छनोट
नेपाली कांग्रेसको महाधिवेशनले यसपल्टका लागि सभापति होइन, देशकै आगामी नेतृत्वको चयन गर्नेछ। किनभने झन्डै दुई तिहाईनजिक मत ल्याएकोवाम गठबन्धन तीन टुक्रा भइसकेको छ।
भदौमा हुने कांग्रेस महाधिवेशनबाट विजयी नेतृत्वले नै देशलाई निर्वाचनमा लैजानुपर्ने हुन सक्ने राजनीतिक विश्लेषक आचार्यको आकलन छ। उनी भन्छन्, ‘स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन शुरु हुन एकवर्षको अवधि पनि रहँदैन। मुलुकलाई अघि बढाउने कार्यभार स्वाभाविक रुपमा कांग्रेसको काँधमा आउने सम्भावना छ।’
आन्तरिक लडाइँबाट उम्किन नसकेका वामपन्थीहरु आगामी निर्वाचनमा एक ठाउँ उभिने सारसंकेत देखिदैन। जसको लाभ कांग्रेसलाई मिल्ने देखिन्छ। ढिलोमा दुई वर्षपछि हुने निर्वाचनबाट कांग्रेसले बहुमत हासिल नगरेपनि ठूलो पार्टी हुने निश्चितप्रायः देखिन्छ।
त्यहीकारण कुनै प्राविधिक गडबडी नआएमा कांग्रेसले भदौमा छान्ने सभापति नै आगामी प्रधानमन्त्री पनि हो। पार्टी मात्रै होइन, आगामी पाँच वर्ष देश हाँक्ने नेताको खोजी कांग्रेसजनले गर्नेछन्। त्यो नेता बन्ने चाहना धेरैले गरिरहेका छन्। यसले पनि कांग्रेसको यो महाधिवेशन अरुभन्दा थप पेचिलो बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।