गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गर्यो। त्यसयता माओवादी शान्तप्रायः भए पनि एमाले भने तीन चिरामा विभाजित छ। केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल तथा वामदेव गौतमले छुट्टाछुट्टै समूहको नेतृत्व गरिरहेका छन्। सत्ताको नेतृत्व गरेका ओलीले नेपाल–खनाल लगायत सो पक्षका केही नेतालाई पार्टीबाट निष्कासन गरेका छन्।
यसैबीचमा एमाले एकताको प्रयास पनि चलिरहेको छ। केही नेताहरु त्यसका लागि नियमित प्रयासमा छन्। केही समयअघि ओलीले पनि ६ बुँदे आह्वान सार्वजनिक गरेका थिए। त्यसको ‘काउन्टर’मा नेपाल–खनाल पक्षले पाँच बुँदे जवाफ फर्काएका छन्। तर, दुई पक्षबीच सहमतिको बिन्दु र एकताको आधार फेला पर्न सकेको छैन। अहिले एकताको लागि प्रयासरत नेता योगेश भट्टराईसँग नेपाल लाइभका लागि वीरेन्द्र ओलीले एमालेभित्रको विवाद, एकताका लागि भइरहेका प्रयास र सम्भावित साझा धारणा लगायतको विषयमा गरेको कुराकानीः
तपाईं एमालेलाई एक बनाउने अभियानमा लागिरहनुभएको छ। त्यसका लागि कस्ता छलफल र कुराकानीहरु भइरहेका छन्?
यसलाई बुझ्न गत फागुन २३ गते आएको सर्वोच्च अदालतको फैसलाबाट सुरु गर्नुपर्ने हुन्छ। जुन दिन हाम्रो पार्टीको नामको विषयमा फैसला भयो। त्यसमा कुनै व्यक्तिले दाबी गरेको पार्टीको नामसँग हाम्रो पार्टीको नाम जुध्यो। त्यसपछि अदालतले भन्यो– तपाईंहरु पार्टी एकतामा जाने हो भने दुवै पार्टीमा छलफल गरेर सहमति गरेर आउनुस्। त्यस्तो अवस्था भएन भने तपाईंहरु आ–आफ्नो पार्टीमा फिर्ता हुनुस् भन्ने फैसला भयो। त्यसका लागि हामीलाई १५ दिनको समय दिएको थियो। त्यो समयमा एमाले र माओवादी केन्द्र दुवैबाट पहल भएन।
२०७५ साल जेठ ३ गते पार्टी एकता भएको थियो। त्यो अमान्य भएको घोषणा गरेपछि हामीले जुन ठाउँबाट पार्टी एकता थालेका थियौँ, त्यही बिन्दुमा फर्किनुपर्थ्यो। त्यो भनेको जेठ २ गतेमा फर्किनुपर्ने थियो। हामीले जेठ २ मा फर्किने भनेका छौँ। सर्वोच्च अदालतको आशय पनि त्यही छ। त्यस बीचमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट केही गल्ती भए। गत फागुन २८ गते उहाँले एकपक्षीय ढंगले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनुभयो। त्यहीँबाट एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटीलाई जिम्मेवारीविहीन बनाउनुभयो। साथै नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरेर दशौं महाधिवेशन आयोजक कमिटी बनाउनुभयो। त्यसमा हाम्रो असहमति भयो।
एउटा कुरा त्यो बैठकमा अर्को पक्ष (नेपाल) लाई बोलाइएकै थिएन। ती सबै निर्णय एकपक्षीय भएका थिए। दोस्रो, नवौँ महाधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गर्ने अधिकार कुनै केन्द्रीय कमिटीलाई छैन। जब हामी दशौं महाधिवेशनको हलमा जान्छौँ र नयाँ केन्द्रीय कमिटीको निर्वाचन हुन्छ। त्यसपछि मात्रै नवौँ महाधिवेशनबाट निर्वाचित कमिटी भंग हुन्छ। यी कुरामा एकपछि अर्को गल्ती हुँदै आए। त्यसको प्रतिवाद गर्ने सन्दर्भमा केही कमजोरी भए। सांगठनिक रुपमा गल्ती भए। एउटा पार्टीमा दुई कमिटी बन्न थाले । दुई केन्द्रीय कमिटी, दुई जिल्ला कमिटी र दुई अनेरास्ववियु भए। त्यो अभ्यास हुँदै आयो। त्यस्तो समानान्तर कमिटी बन्दै गए। त्यसपछि दुवै पक्षबाट समानन्तर गतिविधि हुँदै आए।
सर्वोच्च अदालतले दशौं महाधिवेशन कमिटी विधानले चिन्दैन भन्यो। त्यस आधारमा जति पनि गतिविधि भएका छन्, अमान्य हुन्छन्। अदालतले यस्तो भनेपछि हामी र पार्टी अध्यक्षसँग पार्टीलाई जेठ २ गतेको पुरानो कमिटीमा फर्काउनु बाहेक कुनै विकल्प छैन। त्यही बीचमा पार्टी अध्यक्ष र वरिष्ठ नेता नेपालवीच कुराकानी भयो। त्यो कुराकानीले पार्टीको समस्या हल गर्नका निम्ति १० जनाको कार्यदल बनायो। त्यो कार्यदलको १/२ बैठक समेत बस्यो। त्यो बैठक अगाडि बढ्न सकेन। त्यसपछि पनि दुवै पक्षबीच अनौपचारिक संवाद भइरहेका छन्। त्यो संवादको क्रममा फेरि पनि जेठ २ गतेमा फर्किनुपर्छ भन्ने कुरामा जोड दिँदै अध्यक्षले ६ बुँदे आह्वान पत्र निकाल्नुभयो। उहाँले जेठ ३ गतेको अगाडिको स्थितिमा फर्किने भन्नुभएको छ। त्यतिबेला जेठ २ गते भनेर किटानी गर्नुपर्नेमा त्यो नभनेको हुनाले समस्या हल भएको छैन।
तपाईंहरुले जेठ २ गतेमा फर्किनुपर्ने भनिरहनुभएको छ। केपी ओलीले जेठ ३ गते पूर्वको अवस्थामा फर्किने भन्नुभएको छ। यसमा के लुकेको छ?
जेठ २ गते भनेको एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित एउटा सग्लो कमिटी हो। त्यहाँ अध्यक्ष केपी ओली हुनुहुन्छ। पाँच जना उपाध्यक्ष, दुई जना वरिष्ठ नेता, एक जना महासचिव, दुई जना उपमहासचिव र हामी पाँच जना सचिव छौँ। त्यसपछि स्थायी कमिटी र केन्द्रीय कमिटी छ। यो जेठ २ गतेको कमिटी हो।
जेठ ३ गतेमा जाँदा एमाले र माओवादी केन्द्रका बीच पार्टी एकता हुने निर्णय भइसकेको हुने दिनमा पुग्छौँ। एकताको निम्ति त्यहाँ केन्द्रीय कमिटीमा ३७ जना नयाँ सदस्य थपेका छौँ। जेठ ३ गतेमा पुग्दा अध्यक्ष केपी ओली रहनुभयो। हामीहरु स्थायी कमिटी सदस्य मात्रै रह्यौँ। जेठ ३ गते माओवादीसँग एकता गर्दा विष्णु पौडेललाई महासचिव छानिएको थियो। यदि उहाँ (ओली) ले भनेको जस्तै जेठ ३ गतेमा जाने हो भने एउटा जटिलता आइलाग्छ। सर्वोच्चको २३ गतेको फैसलापछि विष्णु पौडेल महासचिव हुनुहुन्न। सो पदमा ईश्वर पोखरेल पुनर्स्थापित हुनुभयो। यदि अध्यक्षले जेठ ३ गतेको अडान नछोड्ने हो भने ईश्वर पोखरेल कसरी महासचिव हुन सक्नुहुन्छरु विष्णु पौडेल नै महासचिव बन्नुपर्ने हुन्छ।
केपी ओलीले एकता गर्नभन्दा अल्झाउन जेठ ३ पूर्वको कुरा झिकेको भनेर टिप्पणी गरिन्छ नि?
जेठ ३ गते एमालेबाट थपिएका ३७ जनाको कुरा छ। एमाले र माओवादी केन्द्र छुट्टिसकेपछि माओवादीबाट आउनुभएका केही कमरेडहरु हुनुहुन्छ। तर, त्यो पार्टीका लागि ठूलो समस्या होइन। प्रमुख कुरा एमालेको एकता हुन्छ कि हुन्न भन्ने हो। यदि एमालेमा एकता हुन्छ भने जेठ २ गतेलाई ‘बेस लाइन’ मान्नुपर्यो। त्यसलाई ‘बेस लाइन’ मानेर अरु कतिपय कुराहरु समाधान गर्न नसकिने कुरा छैनन्। तर कहाँ उभिने, त्यो कुरा प्रष्ट हुनुपर्यो। हामीले २०७५ साल जेठ २ गतेमा उभिने हो। त्यसपछि बढ्ने अगाडि नै हो। अगाडि बढ्ने क्रममा हिजो के(के बन्दोबस्ती गर्दै आएका थियौँ, त्यसलाई पनि सँगसँगै लगेर जानुपर्छ। पार्टीमा अरु कुराहरु मिलाउँदै जानुपर्छ। त्यसमा अध्यक्षको पनि आधारभूत रुपमै फरक धारणा देखिदैन। उहाँले आफ्नो तर्फबाट प्रयास गरेको देखिन्छ।
केपी ओलीले जेठ ३ गते पूर्वको अवस्थामा पुग्न चाहने, तपाईंहरु जेठ २ गतेमा पुग्न खोज्ने। यस्तो अवस्थामा कसरी एमाले एकता हुन्छ?
त्यसो पनि नभनौँ। अध्यक्षले पछिल्लो समय लचकता देखाउनुभएको छ।
सर्वोच्च अदालतले दोस्रो पटक संसद् पुनःस्थापना गर्ने संकेत देखाएपछि केपी ओलीले आफ्नो पद जोगाउन एमाले एक बनाउन पहल गरेको भन्छन् नि?
त्यो भन्नेहरुलाई छोडौँ। त्यो टिप्पणीप्रति मेरो भन्नु केही छैन। जे जस्तो कारण भए पनि उहाँले ६ बुदे प्रस्ताव अगाडि सार्नुभयो। त्यो ६ बुँदे प्रस्तावको आशय एकताको मुखतिर फर्किएको छ। त्यसलाई मैले स्वागत पनि गरेको छु। त्यो मुख फर्काउँदैमा अगाडि बढ्छ भन्न सकिँदैन। पाइला चालेर अगाडि बढ्नुपर्छ। त्यसले पाइला चालेर खुट्टा टेक्छ कि टेक्दैन, त्यो मुख्य कुरा हो। अध्यक्षले एकतातिर फर्काउनुभएको छ। पार्टी मिलाउने हो भने जेठ २ गतेको ‘बेस लाइन’ मान्ने कुरामा अध्यक्ष सहमत हुनुपर्छ। त्योभन्दा अर्को कुरा छैन।
तपाईं पक्षकै केही नेताहरुले पार्टीलाई जेठ २ गते फर्काउने र संयुक्त बैठक बस्ने कुराको मात्रै अर्थ छैन, प्याकेजमा सहमति गर्नुपर्छ भन्दै छन्। के त्यो आवश्यकता देखिएको हो?
मैले प्याकेजको विषय राम्रोसँग बुझेको छैन। फागुन २३ गतेपछि लगातार राष्ट्रिय कार्यकर्ता भेला गर्यौँ। विभिन्न बैठक र भेला गर्यौँ। ती सबै बैठकको महत्त्वपूर्ण बुँदा नै पार्टीलाई जेठ २ गतेमा पुर्याउनुपर्छ भन्ने नै हो। त्यहाँबाट अघि बढ्ने हो। अहिलेसम्म माधव नेपालको तर्फबाट त्यसमा थप अरु ‘कन्डिसन’ राखेको मलाई थाहा छैन। फागुन २३ गतेबाट अहिलेको अवस्थामा आइसकेका छौँ। त्यस बीचको समयमा अरु थुप्रै घटनाहरु घटेका छन्। ती घटनाहरुको सन्दर्भमा पनि एउटा समान दृष्टिकोण बनाऔँ भन्न खोजेको हो।
यसबीचका घटनाक्रमका विषयमा पनि समीक्षा गर्नुपर्यो। यस बीचमा दोस्रो पटक संसद विघटन भयो, त्यो ठीक कि बेठीक भयो? संसद् विघटन भएपछि एमालेका केही सांसदहरु अदालतमा मुद्दा हाल्न जानुभएको छ। राष्ट्रपतिकहाँ अर्को प्रधानमन्त्रीका लागि दाबी पेश गर्न जानुभएको छ। त्यसलाई कसरी हेर्ने? त्यस बीचमा पार्टीमा अन्य घटनाक्रमहरु घटेका छन्। त्यसलाई कसरी मूल्यांकन गर्ने होरु विगतका कुरा मात्रै होइन। आउने दिनमा कसरी एकताबद्ध भएर जाने भन्ने कुरा छन्।
पार्टी एकताबद्ध भएर जाने आधार फेरि पनि नवौँ राष्ट्रिय महाधिवेशनको नीति कार्यक्रम, विधान, सिद्धान्त र नेतृत्व नै हो। अर्को महाधिवेशन नहुँदासम्म एकताको आधार त्यही हो। त्यो आधारलाई दुवै पक्षले बलियो गरि समाउनुपर्छ। त्यसप्रति प्रतिबद्ध छौँ भन्ने कुरा माधव नेपाल र पार्टी अध्यक्षको तर्फबाट पनि प्रतिबद्धतता जानाउनुपर्छ। सायद यी सबै कुरालाई प्याकेजमा सहमति भन्न खोजिएको पनि हुन सक्छ।
तपाईंहरुबीच जेठ २ र ३ गते पुग्ने विषयमा माओवादी समूह पनि बाधक बनेको हो?
उहाँहरुले कुनै समस्या खडा गरेको लाग्दैन। माओवादीको स्थायी कमिटीमै हुनुहुन्थ्यो। पछि नेकपामा स्थायी कमिटीमा हुनुभएको साथीहरु एमालेमा समाहित हुनु भएको छ। यसलाई समस्या ठान्नु हुँदैन। त्यो हाम्रो लागि अवसर हो। जब हामी एमाले हुँदै छौँ भने अरु पार्टीबाट धेरैभन्दा धेरै मान्छे आउन् भन्ने चाहना राख्नु राम्रो हो। माओवादीबाट मात्रै किन कांग्रेसबाट आउनुपर्यो। त्यति मात्रै होइन, एमालेलाई एकताबद्ध गरेर फेरि वामपन्थी एकताको स्टेपमा जान सक्छौँ। त्यो ढोका बन्द भएको छैन। त्यो ढोका खुल्लै छ। त्यसमा हामीले विशाल र उदार दिलबाट जानुपर्छ।
राजनीतिक विश्लेषकहरुले एमालेमा अपेक्षा गरिएका तपाईं सहित चार जना नेताहरु बीचधारमा बस्दा तपाईंहरुप्रति अपेक्षा घटेको टिप्पणी गर्दै आएका छन्?
हामीलाई आन्दोलनमा जुन नैतिक हिसाबले र अरु विभिन्न हिसावले सहयोग गरिरहुनभएका बुद्धिजीवी, मिडियाको एउटा ठूलो पंक्ति छ। हामीले त्यो पंक्तिको अपेक्षा कतिपय पूरा गर्न सक्छौ, सक्दैनौ, त्यो त्यो आफ्नो ठाउँमा छ। तर, हामी स्वतन्त्र होइनौ। हामी एमालेका सदस्य हौ। हामी त्यहाँ बाँधिएका छौँ। स्वतन्त्र नागरिक भएको भए स्वतन्त्र विचार विवेकहरु भिन्न ढंगले प्रस्तुत गर्न सक्थ्यौँ। हामी एमालेको विधानलाई मानेर हाम्रो व्यक्तिगत स्वतन्त्रतालाई एमालेको स्वतन्त्रतासँग अनुबन्धित गरेका छौँ। हाम्रा बुद्धिजीवी साथीहरुले बुझ्नुपर्छ, उहाँहरुलाई केपी ओलीसँग रिस उठेको हुनसक्छ।
अरु कसैसँग रिस उठेको हुनसक्छ। एमालेबाट विद्रोह हुँदा अर्को पार्टी बन्थ्यो होला भन्ने अपेक्षा होला। त्यहाँबाट राम्रा मान्छे आएर पार्टी बनाए हुन्थ्यो भन्ने उहाँहरुको चाहना हुन सक्छ। त्यसलाई मैले अन्यथा मान्दिनँ। म एउटा एमालेको सदस्यको रुपमा हेर्दा एमाले कसरी एक हुन्छ, त्यो सबैभन्दा पहिला हेर्छु। मेरो पहिलो कर्तव्य एमाले विभाजन होइन। एकता कसरी बच्नसक्छरु मैले त्यहाँबाट हेर्छु। जब एमाले भौतिक हिसाबले एक हुन्छ, त्यसपछि एमालेलाई राजनीतिक र वैचारिक रुपमा स्पष्ट बनाउँदै लग्न सकिन्छ।
संसद दुई पटक विघटन भयो। ती दुवै पटकको विघटन संविधानतः गलत छन्। आज अध्यक्षले त्यसको पक्षमा वकालत गर्नु भएको छ। हामी विपक्षमा वकालत गरिरहेका छौँ। पार्टी भनेको त्यही हो। फरक मतहरु, भिन्न मतहरु त्यहाँ बस्न सक्छन्। भोलि पार्टीको केन्द्रीय कमिटीले अध्यक्षले संसद विघटन गर्नु गलत छ भन्यो भने त्यो कुरा उहाँले मान्नुपर्ने हुन्छ। हामीले पार्टी सिस्टमलाई मानेनौ भने धेरै चिज बिग्रिहाल्छ।
पाँचौँ महाधिवेशनबाट जनताको बहुदलीय जनवाद अगाडि सार्यौ। जबजको सारांश पार्टीभित्र पनि लोकतान्त्रीकरण हुनुपर्छ भन्ने हो। पार्टीको लोकतान्त्रीकरण भनेको पार्टी नेतृत्व पार्टी सदस्यबाट निर्वाचित हुन्छ। पार्टीको सार्वभौम सत्ता पार्टी सदस्यमा निहित हुन्छ। पार्टीभित्र विभिन्न व्यक्तिहरुले विचारहरु स्वतन्त्रतापूर्वक राख्न पाउँछन्। त्यस वापत दण्डित गरिँदैन। पार्टीमा बहुमतले पारित गरेको विचार कार्यान्वयन गरिन्छ, अल्पमतलाई सम्मान गरिन्छ। त्यो फरकमत हुन्छ, छलफलमा लगिन्छ।
तपाईंहरुलाई कतिपयले २०५४ सालको भूतले तर्साएको पनि भन्छन्। कतिले चाहिँ राजनीतिक कम ‘करियरिस्टिक’ बढी भए भनेर समेत आरोप लगाउँछन् नि?
२०५४ सालको विभाजनमा एमालेबाट माले भएका हामीहरु अहिले विभिन्न ठाउँमा छौँ। केपी ओली पक्षको स्थायी कमिटीमै धेरै जना हुनुहुन्छ। रघुवीर महासेठ अहिले हाम्रो प्रधानमन्त्रीले असाध्यै विश्वास गरेको र मानेको व्यक्ति हुनुहुन्छ। सत्यनारायण मण्डल हुनुहुन्छ। उहाँ प्रदेश २ को मुख्य खम्बा हो। गण्डकी प्रदेशको अर्थमन्त्री किरण गुरुङ माले हो। सबैको नाम लिन चाहन्न तर धेरै जना हुनुहुन्छ।
त्यतिबेला माले भएका घनश्यामजी र म मात्रै ओलीको पक्षमा छैनौँ। कुनै एउटा खास घटनामा निश्चित विचार राखे भन्दैमा जिन्दगीभर त्यहीँ उभिनुपर्छ भन्ने होइन नि। जिन्दगी त गतिशील छ। परिवर्तनशील छ, मुद्दा र घटना बदलिन्छ भने मान्छेको ‘पोजिसन’ पनि बदलिन्छ।
तपाईंहरु अनिर्णित हुँदा माधव नेपालले निर्णय लिन नसक्नुभएको त सत्य हो नि?
समाचार आइरहेका छन्। हेरिरहेको छु। माधव नेपाल पार्टी फुटाइहालौँ, अर्को खोलिहालौँ भन्ने, उहाँसँग भएका केहीले हुँदैन भनेर रोकिनुभएको छ। यो गलत कुरा हो। नेपाललाई नजिकबाट चिनेको, संगत गरेको र विचार समूहमा आवद्ध भएका नाताले भन्न सक्छु कि, उहाँको इच्छा पार्टी विभाजन होइन। उहाँ अहिले पनि कसरी एकता गर्ने भनेर लागिरहनुभएको छ र हामीले उहाँलाई सहयोग गरिरहेका छौँ।
माधव नेपाल विभाजनको पक्षमा र अरु जोगाउने पक्षमा भनेर उहाँलाई जुन ढंगले चित्रित गर्न खोजिँदैछ, त्यो गलत छ। यत्रो ५० वर्ष बिताएको पार्टी उहाँले विभाजन गर्न खोज्नुभएको होला ररु नेपालले पार्टी सदस्यता दिएका मान्छे स्थायी कमिटीमा छन्। कति मन्त्री छन्। ती मान्छे उहाँले बनाउनुभएको हो। माओवादीको १० वर्षको द्वन्द्वको शान्तिपूर्ण रुपान्तरणमा उहाँले एमालेको महासचिवका हिसाबले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। त्योबेला उहाँले अनेक राजनीतिक शक्तिसँग संवाद गर्नुभएको छ। संविधान निर्माणमा भूमिका खेल्नुभएको छ। यत्रा संघर्ष गरेर जनाधार बनाएको पार्टी उहाँले थपक्क छाडेर अर्को पार्टी बनाउन जानु होला ररु जानुहुन्न। नेपालप्रतिको बुझाइ त्यो हो भने अन्याय हुन्छ।
अहिले तपाईंहरु एकताका लागि होइन कि ओलीतिरै रहनका लागि संवाद गरिरहनुभएको छ भनिन्छ। एकताका लागि त गाडी धेरै पर पुगिसक्यो रे?
गाडी छुटे पनि फर्किने ठाउँ हुन्छ। ‘यु–टर्न’ हुन्छ। ‘ब्याक’ गर्न सकिन्छ।
यो बीचमा नेपालसँग एकदमै निकट रहनुभएका विष्णु रिजाललगायत कतिपय नेताहरु ओलीतर्फ लाग्नुभयो। तपाईं बालुवाटार कि कोटेश्वर भनेर दोधारमा रहनुभएको भन्ने कति सत्य हो?
नवौं महाधिवेशनबाट निर्वाचित र पछि मनोनित कति केन्द्रीय सदस्य ओलीजीतर्फ लाग्नुभयो होला। तर, १० जना केन्द्रीय समिति सदस्य नेपाल समूहतर्फ लाग्नुभएको छ, ओलीजीलाई छाडेर। स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने ओलीलाई बनाउन दिलोज्यान दिएर लाग्नुभएको हो नि। उहाँ आज ओलीसँग हुनुहुन्न। बामदेव गौतम आफैं अध्यक्ष उठेको भए पनि त्यति खट्नुहुन्थेन होला, ओलीलाई अध्यक्ष बनाउन त्यति खट्नुभएको थियो। आज उहाँ ओलीसँग हुनुहुन्न।
पहिलो कुरा हामीले के बुझ्नुपर्छ भने कोही नेपाल विचार समूह छाडेर ओलीतर्फ जानु र कोही ओली विचार समूह छाडेर नेपालतर्फ जानु भनेको एउटै हाँडीमा भुटिरहेका मकै हौँ। हामी कहाँ जाने तरु त्यहीँ ठोक्किएर न फूल उठ्ने हो। एकअर्कामा ठोकिन्छ र फूल उठ्छ।
गुटमा यताउता हुँदा फरक रुपमा बुझ्नु हुँदैन भन्ने अर्थ हो?
हो। म कांग्रेसमा गए पो अनौठो हो। म राजावादी भए पो अनौठो भयो।
कसरी बुझ्ने त तपाईंलाईं। कुन पक्षको भनेर बुझ्ने?
मान्छे कुनै पक्ष हुनैपर्छ भनेर कहाँ लेखिएको छ? म आफ्नै पक्ष भएर न नेपाल पक्ष भएको हो। म आफ्नै पक्ष भएर न केपी ओलीलाई अध्यक्ष मानेको हो। पहिले त मान्छे स्वतन्त्र हुन्छ भन्ने कुरा बुझ्नुपर्यो। यदि यो बुझ्दैनौं भने हामी मार्क्सवादी होइनौँ। यो बुझ्दैनौं भने मान्छेको स्वतन्त्रताका लागि किन लड्छौंरु मान्छे जब नेपालको नागरिक हुन्छ भने यहाँको कानुन मान्नुपर्छ। सार्वभौमसत्ताको अधिनस्थ हुन्छ। पार्टीभित्र पनि व्यक्ति स्वतन्त्र हुन्छ। स्वतन्त्रता पार्टीभित्र अनुबन्धित हुन्छ।
तपाईका कुराहरु बारम्बार आउने पनि गर्छ, एमालेसँग एकता गर्दा ओलीसँग मिल्न होइन पार्टी कब्जा गर्न जाने हो। के त्यही सोचेर एकता भनिएको हो?
कब्जा भनेको माओवादीका साथीहरुको भाषा हो। कब्जा कहीँ पनि हुँदैन। पार्टी भनेको कब्जा गर्ने भन्ने हुँदैन। पार्टीमा क्रियाशील हुने हो। मैले भनेको एमालेको विभाजन औचित्यपूर्ण छैन। केपी ओली माधव नेपालसँग तनाव भयो । कुनै विचारमा मिलेन भन्ने आधारमा पुष्टि हुँदैन। कुरा के हो भने आज एमालेले कसको प्रतिनिधित्व गर्छ भन्ने हो।
एमालेले व्यापक मध्यम वर्गको र त्योभन्दा तल्लो क्लासको गर्छ। ठूलो संख्या मध्यम वर्ग छ। अर्कोतिर एमालेले माथिल्लो वर्गका देशभक्तहरुको प्रतिनिधित्व गर्छ। विचारमा यो पार्टी समाजवादी छ। यो एउटा देशभक्तिपूर्ण आन्दोलनबाट आएको पार्टी हो। यसले जनजीविका, श्रमजीवी, लोकतन्त्र र समाजवादको सवाल उठाउँछ। यो पार्टी विभाजन भयो भने देशभक्तिपूर्ण आन्दोलनलाई घाटा छ। देशभक्तिपूर्ण आन्दोलनमा विगत २००६ सालदेखि कम्युनिस्टहरु पिलर भएर उभिएका छन्। यदि त्यसो हुन सकेन मा राष्ट्रियता लगायत धेरै विषयहरु खतरामा पर्छन्।
खतरामा त पारिसक्नु नै भयो नि?
पार्टीभित्र कहिलेकाहीँ नेतृत्वले गलत विचार बोक्न सक्छ। त्यसको मतलब सिंगो पार्टी गतल दिशामा छ भन्ने होइन। नेतृत्वले कहिलेकाहीँ गलत मुद्दा बोकिरहँदाखेरी त्यसलाई सच्याउने हो। त्यसलाई रुपान्तरण गर्ने हो। पार्टीभित्र एकता र संघर्ष हुन्छ भन्ने कुरा हामी मार्क्सवादीहरुले बुझ्नुपर्छ। कुनै कुनै संघर्षहरु विभाजनको निम्ति हुन्छ। कुनै कुनै संघर्ष एकताका निम्ति हुन्छ। आज एमालेभित्रको संघर्ष विभाजनको निम्ति होइन। एकता र रुपान्तरणको निम्ति हो। एमालेलाई योभन्दा उन्नत लोकतान्त्रिक पार्टी बनाउन, योभन्दा उन्नत देशभक्तिपूर्ण आन्दोलनमा अग्रसर गराउन, एमालेभित्र देखिएका कतिपय गैरराजनीतिक चरित्रहरुलाई सच्याउन र एमालेलाई राजनीतिक चरित्रको पार्टी बनाउन हाम्रो संघर्ष हो। विभाजनको लागि होइन।
तपाईंले ईश्वर पोखरेललाई भावी अध्यक्ष र आफूलाई महासचिवको लागि पनि तयारी गरिरहनुभएको छ भन्ने चर्चा छ। त्यस्तो हो?
यस्ता प्रश्न धेरै आउँछन्। तर, तपाईंले भनेजस्तो विषय कुनै कुनामा पनि छलफल भएको छैन। हाम्रो दशौँ राष्ट्रिय महाधिवेशनमा को अध्यक्ष उठ्छ भन्ने पनि प्रष्ट छैन। मेरो भनाइ त के छ भने, आजसम्म पार्टीलाई यहाँसम्म ल्याउन मुख्य नेताको रुपमा नेतृत्व गर्नुभएका अग्र नेताहरुले अब हाम्रो अभिभावकको रुपमा भूमिका लिनुस्। अब तपाईंहरु सक्रिय राजनीतिबाट अभिभावको ठाउँमा जानुस्। अरु पुस्तालाई दिनुस्। हाम्रो पार्टीको विधानले नै ७० वर्षभन्दा पछि कार्यकारी पदमा आउन पाइँदैन भनेको छ।
स्वभाविक रुपमा त्यो विधान लागू भयो भने अहिले नाम चलेका चारपाँच जना नेताहरु त उठ्न पाउनुहुन्न। उहाँहरुले बिदा लिनैपर्छ। त्यसपछि को आउँछरु पार्टी अध्यक्षको पद खालि त हुँदैन। कोही न कोहीले त प्रतिस्पर्धा गरिहाल्छ। ईश्वर पोखरेलले गर्नुहोला, अरुले गर्ला वा मैले नै पनि गर्छु कि। सबैका निम्ति त्यो खुला छ। मेरो विचारमा, त्यसबेला एमालेको दोस्रो र तेस्रो पुस्ता एक ठाउँमा बसेर ‘नेताहरुले यहाँसम्म ल्याउनुभयो, उहाँहरुलाई धन्यवाद छ, अब हाम्रो हातमा आयो, अब यसलाई एकताबद्ध लैजाऔँ’ भनेर नयाँ प्रणाली स्थापित गर्न सक्छ र सर्वसम्मत अध्यक्ष बनाउन सक्छ। त्यसको पनि सम्भावना छ।
अब कसरी संयुक्त बैठक बस्ने वातावरण मिल्ला?
मेरो विचारमा अब छिट्टै मिल्छ।
त्यसको आधार के हुन्छ?
आधार प्रष्टै छ। कमरेड माधव नेपालले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव पार्टी अध्यक्षलाई पठाउनुभएको छ। त्यो मिडियामा आइसकेकै छ। त्यसक्रममा छलफल हुँदैहुँदै जाँदा पार्टी अध्यक्षले ६ बुँदे सार्वजनिक आह्वान गर्नुभयो। माधव नेपालले पठाएको पाँच बुँदा र अध्यक्ष कमरेडले जारी गर्नुभएको ६ बुँदाको आह्वान पत्रको बीचमा १९ र २० हो। १९ र २० मा हामी पुगिसकेका छौँ भने एक ठाउँमा बस्न के कठिन छ। अब हामीभित्रका केही आग्रह र पूर्वाग्रहहरुलाई अलिकति हल गर्ने हो भने हामी २०७५ जेठ २ गतेको स्थायी कमिटी बस्छौँ। बस्नुपर्छ। त्यहाँबाट सुरु हुन्छ। त्यो स्थायी कमिटीले २०७५ जेठ ३ गते थपिएका साथीहरुलाई समायोजन गर्नुपर्छ।
त्यो स्थायी कमिटीले कमरेड बादल लगायत माओवादीतर्फबाट समाहित हुनुभएका कमरेडहरुलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्नुपर्छ। त्यो स्थायी कमिटीले कसरी अगाडि जाने त( कार्यविभाजन होलान्, महाधिवेशन कसरी गर्ने, यो बीचको समस्या कसरी हल गर्ने, दुवै तर्फबाट ठाउँठाउँमा बनेका समानान्तर कमिटीहरुलाई कसरी समायोजन गर्ने( त्यस सन्दर्भमा अस्ति एउटा कार्यदल बनेको छ। त्यो कार्यदललाई आधिकारिक रुपमा मान्यता दिएर ‘तपाईंहरुले हल गरेर ल्याउनुस्’ भनेर दियो भने त सिद्धियो नि।
तर, केपी ओलीको ६ बुँदे आह्वानलाई सकुनीको पासा जस्तो हो, बीच धारमा रहेका नेताहरुलाई आफूतिर तान्नलाई गरेको आह्वान हो पनि भन्नेहरु छन् नि?
त्यस्तो टिप्पणीतिर अहिले म नजाऔँ। यस्तो हुन्छ, तपाईं पूर्व जाने हो भने त्यहीत्यही दिशा खोज्नुहुन्छ। बाटो बिग्रेको छ भने बनाउँदै जानुहुन्छ। होइन, पूर्व नगएर पश्चिम जाने हो भने, पूर्व जाने बाटोको चर्चै गर्नुहुन्न। पश्चिम जाने बाटो नै खोज्दै जानुहुन्छ। आजको दिनमा एमाले विभाजनतिर जाने हो भने पनि पर्याप्त आधारहरु छन्। विभाजनका लागि लामा(लामा स्टेटमेन्ट दिन सकिन्छ। त्यो बाटो खोज्दै खोज्नै जान पनि सकिन्छ। एकताको निम्ति जाने हो भने अविश्वासहरुलाई विश्वासमा बदल्दै जाने हो।
तपाईंले महाभारतको सकुनीको कुरा ल्याउनुभयो। महाभारतको युद्ध पाण्डवहरुले जिते। तर, उनीहरुको विजयोत्सव मनाउने मान्छे बाँकी थिएनन्। आफन्त कोही पनि थिएनन्। राज्य प्राप्त गरेको खुसीयाली साट्ने मान्छे थिएनन्। सकुनीको कुरा मात्रै किन गर्नु, युद्धपछिको अवस्था के हुन्छ भन्ने कुरा केपी ओली र माधव नेपालले मैले भन्दा ज्यादा बुझ्नुभएको छ। ज्यादा अनुभव उहाँहरुसँग छ नि। यत्रो पार्टीको नेतृत्व उहाँहरुले गर्नुभएको छ। म त तल(तल बसेर आएको हुँ। उहाँहरुले माथि(माथि बसेर हेर्नुभएको छ। जति माथि बसेर हेरिन्छ, उति टाढा देखिन्छ। जति तल बसेर हेरिन्छ, त्यति फोहोरमैला देखिन्छ। त्यसैले नेतृत्वले माथि नै बस्नुपर्छ।
त्यसो भए नयाँ घर बनाउन मेहनत गर्नेभन्दा पुरानै घरलाई रङरोगन गर्नुपर्छ भन्ने तपाईंको भनाइ हो?
पुरानो घर काम नलाग्ने भएको छैन नि। नेकपा एमाले कामै नलाग्ने भयो भन्ने मेरो निष्कर्ष छैन। माधव नेपालको पनि त्यो निष्कर्ष होइन। अरुको पनि त्यस्तो निष्कर्ष होइन। सवाल जुन ढंगले त्यो घरभित्र बन्दोबस्ती गरिँदैछ, त्यो तरिका ठीक छैन। घर ठीक नभएको होइन। तरिका ठीक छैन। नेतृत्वकै तरिका ठीक छैन।
अध्यक्षलाई भनौँ न, अरुलाई किन दोष दिनेरु पार्टी अध्यक्षले पार्टीलाई एकताबद्ध बनाउने कुरामा जसरी पहलकदमी लिनुपर्थ्यो, त्यो लिनुभएन। कतिपय उहाँले लिएका निर्णयहरु गलत छन्। सरकारका तर्फबाट लिएका निर्णयहरु गलत छन्। पार्टी अध्यक्षका हिसाबले लिएका निर्णयहरु गलत छन्। ती निर्णय सच्याऔँ। त्यो भनेको हो। त्यो घर सम्पूर्ण रुपमा खत्तम छ, त्यसलाई भत्काऔँ भनेको होइन नि।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।