मेलम्चीमा हामी थुप्रै वर्षदेखि होटल चलाउँदै आएका छौं। दुःख गरेर कमाएको पैसा र धेरैजसो ऋण लिएर हामीले यहाँ दुईवटा घर बनाएका थियौं। चारतले घर छत मात्र देखिने गरी पुरिएको छ, तीनतले घर त पूरै पुरिएको छ।
बैंकबाट करिब २ करोड रुपैयाँ ऋण लिएर बनाएको घरको यो हालत भएपछि अब कहाँबाट कमाएर त्यो ऋण तिर्ने होला? अलि अलि खेत थियो, त्यो पनि हेर्दाहेर्दै बगर भएको छ। अब न खेत रह्यो न घर। हामी एक रातमै कहाँबाट कहाँ पुग्यौं। हेर्दाहेर्दै सुकुम्बासी भयौं।
यही ठाउँले हामीलाई गरिखाने मेलो दिएको थियो। अब गरिखाने पेसा पनि रहन्न होला। घर बनाउँदा लिएको ऋण बैंकले माफीमिनाहा दिने कुरा भएन। हिजो रातिदेखि नै सुत्न सकेको छैन। खान मन छैन। हामी त पलपल त्यही लेदोमा पुरिएको घर हेर्दै, रुँदै बसेका छौं।
अहिले स्कूलमा आएर बास बसेका छौं। अब कति दिन यसरी बस्ने? यहाँ नबसे कहाँ जाने? घरिघरि फर्केर घर हेर्न जान्छौं, मन त्यसै भक्कानिएर आउँछ। अब भोलिदेखि कहाँ जाने? के गरेर खाने? हामी बेवारिसे भयौं।
पसलभित्र पाँच लाख नगद र गहना थियो, त्यो पनि निकाल्न पाइएन। एकसरो लगाएको लुगाबाहेक केही छैन। धन्न ज्यान बचेको छ। बेलैमा खबर पाएकाले ज्यानसम्म बचाउन सक्यौं। आखिर बच्ने यही ज्यान मात्र न भयो।
(मेलम्चीमा हाेटल सञ्चालन गर्दै आएका श्रेष्ठ दम्पतीसँग दुर्गा दुलालले गरेकाे कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।