नेकपा एमाले एकीकृत रहने सम्भावनाहरु क्षीण हुँदै गएका छन्। शीर्ष नेतृत्वलाई संवादका लागि सहजीकरण गर्नेभन्दा विवादका लागि उक्साउनेहरु हाबी भइरहेका छन्। त्यसैलाई आफ्नो क्षणिक लाभका लागि उपयोग गर्नेहरु छन्। यसैबीचमा एमाले स्थायी कमिटी सदस्य गोकर्ण विष्ट लगायतका केही नेताहरु अझै एकताको प्रयत्न गरिरहेका पनि छन्। उनीहरुको प्रयत्नले मूर्तरुप लिन नसके पनि आशा मारिसकेका छैनन्। एकता प्रयासमा अवरोधक को भए? एकता सम्भावना अझै छ वा नेताहरुले एकता भन्दै गर्ने तर बाटो फरक पनि गर्ने तयारी गरिरहेका छन्? यही विषयलाई केन्द्रमा राखेर विष्टसँग नेपाल लाइभका लागि डिबी खड्काले गरेको संवाद :
तपाईं एकता भनेर लामो समयदेखि लागिरहनुभएको छ। तर, आइतबारदेखि दुई पक्षबीच चलिरहेको दोहोरीले तपाईंको आशा निराशामा बदल्न थालेको हो?
म निराश बनेको छैन। नेकपा एमालेलाई एकताबद्ध गर्न मलगायत केही साथीहरु निरन्तर पर्यत्नरत छौं। सही विचार बोकेको सबल र एकीकृत पार्टीले मात्रै जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलन लगायतका कुरालाई सम्पादन गर्न सम्भव छ। एउटा विभाजित पार्टीले न राष्ट्रको हितमा काम गर्न सक्छ, न लोकतन्त्रको रक्षा गर्न सक्छ। नेकपा एमालेको इतिहासलाई हेर्ने हो भने धेरैपल्ट यस्ता उताचढाव देखापरेका छन्।
कहिलेकाहीँ स–साना कुरालाई व्यवस्थापन गर्न नसक्दा नेकपा एमाले विभाजित भएका घटना छन्। २०५४ सालमा महाकाली नामको एउटा फन्दा आयो, त्यो फन्दा मात्रै थिएन। नेकपा एमालेका नेताहरुमा रहेका व्यक्तिगत इगो, टकराव र प्रतिष्ठा आदिका कारण एमाले विभाजित भयो। त्यसपछि पनि एमालेमा विभिन्न उतारचढाव आए। आज अदालतको फैसलाले एमाले र माओवादी केन्द्र भइसकेपछि नेकपा एमालेभित्र विग्रहको अवस्था देखा परेको छ। फागुन २८ गते आधाभन्दा धेरै केन्द्रीय सदस्यलाई जानकारी नदिई पार्टी अध्यक्षको नेतृत्वमा पदाधिकारी हटाउने, जिम्मेवारीमुक्त गर्ने र आयोजक कमिटी बनाउने लगायत गरियो। विधान समेत संशोधन गरियो। त्यसपछि विवाद अघि बढेको छ।
हामी एकताका लागि प्रयत्नशील छौं। अध्यक्षबाट एकताको लागि आह्वान भनेर वक्तव्य सार्वजनिक भएको छ। उहाँको त्यो अडान छ, हाम्रो मान्यता पनि पठाएका छौं। हिजो एकताको आधार सार्वजनिक गरेका छौं। त्यसका विभिन्न शब्दमा फरक होलान् तर एकताको मुख्य आधार के हो भन्ने राख्दै आएका छौं। यसले एकताको सम्भावना बढायो। केही साथीहरुको फरक बुझाइ छ तर मेरो बुझाइमा एकताको सम्भावना छ। विधिअनुसार पार्टीलाई एकताबद्ध गर्ने बाटो खोजियो भने सम्भव छ।
एकताको सम्भावनाका लागि त अध्यक्ष ओलीको प्रस्तावमा नेपाल पक्षबाट पुरक प्रस्ताव अपेक्षित होला। तर, हिजोको वक्तव्य हेर्दा प्रतिक्रियात्मक देखिन्छ। यसले झन् टाढा पो पुर्यायो कि?
केही त्यस्ता शब्दावली परेका छन्। प्रतिक्रियात्मक पनि छ। एकताका केही आधार पनि प्रस्तुत गरिएका छन्। जस्तोः अध्यक्ष ओलीबाट प्रस्तुत वक्तव्यमा जेठ ३ पूर्व फर्किने भनिएको छ तर नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी र स्थायी कमिटीमा फर्किनुपर्ने हाम्रो मान्यता हो।
उहाँले पार्टीका विभिन्न तह र जनसंगठनका मूलतः पूर्ववत् अवस्थामा फर्काउने भन्नुभएको छ। मूलतः भन्ने कुराको सान्दर्भिकता छैन। पूर्ण रुपमा पूर्ववत् अवस्थामा फर्किनुपर्छ। पार्टीमा झलनाथ खनाल, माधव नेपाललगायतलाई कारबाही गरिएको छ। एकताको वातावरण बनाउन कारबाही फिर्ता हुनुपर्थ्यो। भविष्यमा कारबाही गरिने छैन त भनिएको छ। तर, विगतको कारबाही फिर्ता लिने प्रष्ट छैन। प्रष्ट पार्नुपर्छ।
प्रतिनिधि सभाको विघटनपछि अदालतमा मुद्दा परेको हो। प्रतिनिधि सभा विघटनको ‘बाइप्रडक्ट’का रुपमा मुद्दा परेको हो। अदालतका मुद्दा लैजानेको पनि इगोको विषय बनेको छ, प्रतिनिधि सभा विघटन गर्नेको पनि इगोको विषय बनेको छ। दुवैलाई मान्य हुने गरी बीचको बाटो के हुनसक्छ? यसमा पनि गम्भीरताका साथ गृहकार्य गर्नुपर्छ। एकता अहिले पनि सम्भव छ, हाम्रो तर्फबाट एकताका आधार पनि प्रस्तुत गरिएको छ। चाहे नयाँ पार्टी निर्माण गरेको अवस्थामा होस् वा यही पार्टीभित्र होस् अन्तरसंघर्ष र फरक विचार हुन्छन्। यही पार्टी फुटेर बनेको दुई पार्टी द्वन्द्वरहित, विवादरहित, अन्तरविरोधरहित रहन सक्छन् र?
द्वन्द्वको सिर्जना कसरी हुन्छ? अन्तरविरोध कसरी जन्मिन्छ? समाधान कसरी गर्ने? हरेक व्यक्तिका विचार पार्टीभित्र प्रतिबिम्बित हुन दिने, ती व्यक्तिका विचारहरुलाई सम्बोधन हुने वातावरण सिर्जना गर्ने र निष्कर्षमा पुग्ने मान्यतालाई कसरी कार्यान्वयन गर्न सकिन्छ? भन्ने सन्दर्भ आज महत्त्वपूर्ण छ। हाम्रो जस्तो सत्तारुढ पार्टीभित्र अन्तरविरोध सिर्जना हुने मूल कारण के हो? यसलाई हामीले गम्भीरताका साथ विश्लेषण गर्न जरुरी छ। अवसरको ठीक ढंगले विन्यास नभएको कारणले हो कि? पार्टी र सरकारको समन्वय नभएर हो कि? तल्लो तहका कार्यकर्ता र माथिल्लो तहका नेता कार्यकर्ताको सम्बन्धमा ‘ग्याप’ भएर हो? उस्तै–उस्तै क्षमता राख्ने, उस्तै–उस्तै पृष्ठभूमिबाट आएका व्यक्तित्वको टसलले हो कि? यो शिराबाट विश्लेषण गरेर हामीले टुंगोमा पुग्नुपर्दछ।
पार्टी अध्यक्षबाट जेठ ३ पूर्व फर्किने भनिएको छ। तपाईंहरु जेठ २ मा फर्किने भन्नुहुन्छ। जेठ ३ पूर्व फर्किनु भनेको नेकपाकालमा एमालेबाट केन्द्रीय सदस्यमा थपिएका र माओवादी केन्द्रबाट एमालेमा आएकाहरुलाई व्यवस्थापन गर्ने भनिएको बुझिन्छ। त्यसलाई स्वीकार्न किन समस्या?
पार्टी एकताको समयमा थपिएकासहित गरेर एमालेका २४१ सदस्य थिए। माओवादीबाट हाल एमालेमा रहेका साथीहरुप्रति हाम्रो अन्यथा सोचाइ केही होइन। उहाँहरुको पनि उचित र सम्मानजनक व्यवस्थापन हुनुपर्छ भन्नेमै हामी विश्वास राख्दछौं।
केपी ओली र माधव नेपालबीच कुरा हुँदा त्यसबेला दुवै तर्फबाट छुटेका साथीहरु पनि छन्। लामो लामो समय आन्दोलनमा लागेका साथीहरु पनि बिर्सन पुगिएको छ। यो दुवै तर्फबाट देखिएको हो। माधव नेपाल र केपी ओली दुवै तर्फका केन्द्रमा आउने साथीहरु छुटेको देखिन्छ। संस्थागत रुपले सोच्ने हो भने लामो समयसम्म कम्युनिस्ट आन्दोलनमा रहेकाहरु छुट्नुभएको छ। यस्ता साथीहरुलाई पनि न्याय दिने गरी व्यवस्थापन गर्न नयाँ शिराबाट छलफल गर्नुपर्ने आवश्यकता छ।
पहिले आइसकेका साथीहरुलाई हामीले अव्यवहारिक अडान राखेर मात्रै समाधान निस्किँदैन। पूर्वमाओवादीका नेताहरुको पनि कुनै न कुनै हिसाबले समाधान निकाल्नुपर्दछ। र, केन्द्रमा आउन योग्यता पुगेका र दुई नेताको नजरमा नपरेका, दुई नेतालाई चित्त बुझाउन नसकेका नेताहरु पनि कमिटीबाहिर हुनुहुन्छ। यस्ता साथीहरुको जिम्मेवारीको सन्दर्भमा पार्टीले गम्भीरतापूर्वक सोच्ने कि नसोच्ने? यी सबै कुरालाई एउटा डालोमा राखेर छलफल गरी निकास निकाल्न सकिन्छ।
कम्युनिस्टहरुको ‘भाषा विवाद’का विषयमा एउटा किस्सा छ- स्टालिनका कति प्रतिशत कमजोरी थिए भन्ने विषयमा कुरा हुँदा एउटा पार्टी फुट्यो। अहिले एमालेमा पनि समस्या ठूलो भन्दा बुझाइमा परेको भिन्नताका कारण फुट्ने अवस्था आउन लागेको हो?
शब्दहरुमा पनि केही महत्त्वपूर्ण आशय लुकेको हुन्छ। ‘मूलत:’ भन्ने शब्दले पार्टीका सबै तहलाई पूर्व अवस्थामा फर्काउनमा समस्या हुनसक्छ। एमाले दुईतिर लागेपछि यो बीचमा अर्कालाई तीर चलाइरहेका छौँ। आम जनताका मुद्दा ओझेल परेका छन्। कोरोनाको सन्दर्भमा हाम्रो गम्भीरता देखिँदैन। जनताका आधारभूत कुराहरु पनि हामीले सोचिरहेका छैनौँ। जनताको पक्षमा राजनीति गर्ने भनी बाहिर अपिल गर्दछौं तर व्यवहारमा जनताका मुद्दा ओझेल परिरहेका छन्। पार्टीका आन्तरिक मुद्दामा मात्रै हामी हरेक दिन लडिरहेका छौं। जनताका मुद्दा थाँती राखेर केबल पार्टीका शब्द शब्दमा जुध्नुपर्ने, विवाद गर्नुपर्ने, अन्तरविरोध गर्नुपर्ने कार्य नहोस् भनी थोकमा समाधान खोज्न लागिएको हो। पछि समस्या उत्पन्न तथा द्वन्द्व नहुनका लागि गम्भीर हुन जरुरी छ।
जेठ २ र जेठ ३ भन्नुमा अवश्य फरक छ। जेठ २ भन्नासाथ नवौं महाधिवेशनबाट निर्वाचित कमिटी छ। ‘मूलत:’ भन्ने शब्द केपी ओलीको वक्तव्यमा देखिनुले त्यस अवस्थामा फर्काउन नचाहको भन्ने पनि सकिन्छ। नवौं महाधिवेशनबाट पारित दस्तावेजलाई कार्यान्वयन गर्ने कि नगर्ने? हामीले दोहोर्याउन खोजेको यही हो। पार्टीको विधान पालन गर्ने कि नगर्ने? राजनीतिक प्रतिवेदनलाई पालना गर्ने कि नगर्ने? पार्टीका संस्थागत मान्यतालाई पालना गर्ने सन्दर्भमा हामीले बढी जोड दिएका छौँ।
फागुन २३ पछि सांगठनिक रुपमा केही गलत निर्णय पनि भएका छन्। दुवैतर्फबाट केही अस्वभाविक निर्णयहरु पनि भएका छन्। एकले अर्कोलाई बेठीक सावित गर्नको लागि पार्टीको राजनीतिक जीवनमा केही गलत काम पनि भएका छन्। ती सबै कुरा फिर्ता लिएपछि पार्टीलाई नयाँ तरिकाले लिएर जाने वातावरण रहन्छ। प्रष्टता भयो भने पार्टी एकता हुनसक्छ भनेर हामीले जोड दिएका हौं।
एकतातिर लाग्ने हो भने त युद्धविराम जस्तो हुनुपर्ने थियो। अर्कालाई कमजोर बनाउने गतिविधिहरु बन्द हुनुपर्ने थियो। आज मात्रै (मंगलबार)पनि सुदूरपश्चिममा एमालेका सांसद्हरुले माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएछ। कसरी एकताउन्मुख गतिविधि भए यी?
पार्टी एकरुप नहुँदासम्म एक अर्काविरुद्ध लाग्ने प्रयत्न जारी छन्। पार्टी एकताका लागि केही समयसम्मको लागि एकले अर्को पक्षका विरुद्ध गरिने कार्य थाँती राख्नुपर्छ। अन्तरविरोधलाई साँघुरो बनाउनेतर्फ हामी इमान्दार हुनु जरुरी छ। इमान्दार भयौँ भने एकताको सम्भावना छ।
पार्टी एकताका लागि लागिपरेका तपाईंहरु फुटाउन खोज्नेहरु भन्दा कमजोर देखिएको हो?
पार्टीको दुवैतिर केही अतिवादीहरु छन्। केपी ओलीतर्फ पनि केही अतिवादीहरु छन्, जसले पार्टीलाई सकेसम्म मिल्न नदिने प्रयत्न गरिरहेका छन्। माधव नेपाल र झलनाथ समूहमा पनि केही अतिवादीहरु छन्। जसले कुनै पनि हालतमा पार्टी विभाजित गर्न चाहन्छन्, मिल्न दिन चाहँदैनन्। केही अतिवादी सानो संख्यामा छन्। ९९ प्रतिशत कार्यकर्ता पार्टीलाई एकतावद्ध गर्न चाहन्छन्। सबल कम्युनिस्ट आन्दोलनका रुपमा एमालेलाई अघि बढाउन चाहन्छन्। आम नेपाली जनताको चाहना पनि यही हो। एकताका लागि गरिएको इमान्दारपूर्ण कार्य गर्नेहरुका बारेमा कमजोर पार्नका लागि दुवै पक्षबाट गलत प्रचार गर्ने प्रयत्न गरियो। प्रचार गर्ने वा प्रचार गराउने प्रयत्न भए। त्यसतर्फ पनि हामीलाई कुनै सरोकार छैन।
आमजनता र कार्यकर्ताको चाहना बमोजिम नेपाललाई सशक्त कम्युनिस्ट शक्ति चाहिएको छ। त्यो शक्तिले मात्रै नेपालको राष्ट्रियताको रक्षा गर्न सक्दछ। सबल कम्युनिस्ट पार्टीलाई विभाजित गर्नका लागि विभिन्न शक्तिकेन्द्रहरु निरन्तर क्रियाशील छन्। चाहे देशबाहिर वा देशभित्रका शक्ति केन्द्रहरु हुन्। उनीहरुको चाहनाको गोटी नबनुन् भन्ने हाम्रो अपेक्षा हो। उनीहको चाहनाको निमित्त पात्र नबनुन् भन्ने पवित्र चाहना हाम्रो हो।
मुख्य सवाल के हो भने फागुन २३ मा केपी ओली पक्षले आधाभन्दा बढी केन्द्रीय सदस्यलाई जानकारी नदिइकन बैठक गरेर निर्णयहरु बाहिर ल्याएपछि त्यसले अलिकति दूरी बढ्यो। अन्तरविरोध बढ्दै जान थाल्यो। केपी ओलीले जे प्रस्ताव गर्नुभएको छ, त्यो उहाँको कुरा हो। त्यो अन्तिम कुरा होइन। यताबाट पनि अर्को प्रस्ताव गएको छ। यी दुवै प्रस्तावलाई एकै ठाउँमा राखेर दुवै पक्ष एकताका लागि एक स्टेप अघि बढेर केपी र माधवले हात मिलाउन पर्यो। आफ्ना अडानमा उहाँहरु दुवै केही पछि हट्नुपर्यो। नवौं महाधिवेशनबाट पारित राजनीतिक मूल्य मान्यतामा टेकेर संस्थागत तरिकाले पार्टी चल्ने प्रत्याभूति हुने गरि अगाडि बढ्न पर्यो। यसो गरियो भने पार्टी र आन्दोलन जोगिन्छ, अन्यथा बाहिरबाट आयातित प्रभाव हामीमा छ कि भनी सोच्नु जरुरी छ। पर्दामा हामी देखिए पनि पछाडि अरु नै छ कि सोच्नुपर्दछ।
पदहरु पार्टीमा आउँछन्/जान्छन्। विभिन्न समयमा जिम्मेवारी पनि प्राप्त गर्यौं होला, त्यो महत्त्वपूर्ण होइन। महत्त्वपूर्ण कुरा आफ्नो निर्णय क्षमतामा कति आत्मनिर्भर छौं भन्ने हो। आफ्ना बारेमा आफैंले निर्णय गर्ने कति सामर्थ्य राख्दछौं? आफूभित्र देखा परेका अन्तरविरोधको व्यवस्थापन संयमित तरिकाले गर्न सक्छौं/सक्दैनौं? यो सवालमा गम्भीर हुन जरुरी छ।
तपाईंलगायत ४–५ जना दोस्रो पुस्ताका प्रभावशाली नेताहरु अहिले एकताको संवादमा हुनुहुन्छ। यसअघि नेपाल पक्षमा रहेका तपाईंहरु अहिले ओली पक्षतिर ढल्किएको आरोप प्रशस्तै सुनिन्छन्। तपाईंहरु खासमा कुन कित्तामा हो?
हामी एकीकृत एमाले बनाउने र पार्टीलाई बलियो बनाउने चाहनेहरु हौँ। पार्टीलाई विभाजन गर्नबाट जोगाउन चाहने, एउटा एकीकृत कम्युनिष्ट आन्दोलनको विकास गर्न चाहने योद्धा हौँ। नवौं महाधिवेशनपछि हामीले नेपाल पक्षमा रहेर कमरेड ओलीले गरेको गलत प्रवृत्तिविरुद्ध जुध्ने कोसिस गर्यौं। यसको अर्थ यो होइन कि हाम्रा आफ्ना विवेक छैनन्, आफ्नो विचार छैनन्, व्यक्तिगत सोच हुँदैनन्। आफ्ना व्यक्तिगत मूल्य र मान्यता हुँदैनन भन्ने होइन। कुनै पार्टी वा समूहमा लाग्नुको तात्पर्य व्यक्तिगत विवेकलाई बन्धकमा राखेर आँखा चिम्लेर पछि लाग्नुपर्छ भन्ने होइन। हरेक पार्टी र समूहभित्र फरक विचारहरु प्रतिबिम्बित हुन पाउनुपर्छ। पर्याप्त बहस र छलफल गरौं। जे सही हो, त्यही निष्कर्षमा पुगौँ। हामीले यही भन्दै आएका छौँ। हामीलाई एउटा कोणबाट हेर्दा एउटा देखिएको होला, अर्को कोणबाट हेर्दा बेठीक देखिएको होला तर हामीले जे मूल्य र मान्यता उठाइरहेका छौं, ठीक छौं। समयले मूल्यांकन गर्ला।
नेकपा (एमाले)को विभाजनलाई उकास्न अहिले दुवैतर्फ विभिन्न शक्ति केन्द्रहरु परिचालित छन्, यसतर्फ दुवै तर्फका नेता सावधान हुन जरुरी छ। होसियारीका साथ जिम्मेवारीपूर्वक ठण्डा दिमागले सोचेर भूमिका खेल्नुपर्छ। आवेग, उत्तेजना र प्रतिशोधले फेरि पनि कम्युनिष्ट आन्दोलनको अपेक्षा पूरा हुँदैनन्। आम जनता र कार्यकर्ताका अपेक्षा पूरा हुँदैनन्। नेताहरुले आफ्नो इगोहरु त्यागेर लचकता अपनाएर पार्टीलाई एक बनाउने र पार्टीको विकासका लागि महत्वपूर्ण भूमका खेल्न जरुरी छ।
विगतलाई हेर्ने हो भने सुरुमा महाकालीको मुद्दा सतहमा देखा पर्यो। तर, अन्तिममा केन्द्रीय कमिटीमा १३ जना राख्ने कि १४ जना राख्ने भन्ने अडानले २०५४ सालमा नेकपा एमाले विभाजित भयो र हामी १८ वर्ष पछि पर्यौं। अशोक राई लगायत केहीले नेताहरुले आफ्ना केही मान्यता अघि सार्नुभएको थियो। उहाँहरुले पाटीभित्र आफ्ना फरक विचार राख्न पाउँ भन्नुभएको थियो। ठीक ढंगले व्यवस्थापन गर्न नसक्दा लामो आन्दोलनबाट स्थापित नेताहरु बाहिरिनुभयो। केही क्षति भयो। नेकपा एमाले र माओवादी केन्द्रको एकता भएको थियो, केही अन्य शक्ति पनि लागे। केही प्रतिष्ठाको टकराव पनि भयो। सिर्जित समस्यालाई समाधान गर्न सकेनौं। फरक पार्टी भएर बस्नुपर्ने अवस्था आयो।
नेकपा एमाले ठीक ढंगले चलाउने अवसर थियो। जनताको आस्था थियो। दूरी बढ्दै जाँदा एउटाले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ दिने र अर्को पक्षले जसपाको महन्थ–राजेन्द्र पक्षको वैशाखी टेक्नुपर्ने अवस्था बन्यो। के कारणले यहाँ आइपुग्यौं? झट्ट हेर्दा यो ठूलो कूनै वैचारिक कारण देखिँदैन। ठूलो राजनीतिक कारण पनि देखिदैन। तर, के कारणले हामी विभाजनका संघारमा अवस्थामा पुग्दैछौं। यसलाई अहिले गम्भीरताका साथ समीक्षा गर्न सकिएन भने हामीलाई भविष्यले धिक्कार्ने छ।
तपाईं अहिले अजेन्डाका हिसाबले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा हुनुहुन्छ। पार्टीका हिसाबले एमालेको पक्षमा हुनुहुन्छ भन्दा हुन्छ?
नेकपा एमालेभित्र मात्रै होइन, पार्टीहरुभित्र अन्तरविरोध सिर्जना हुनसक्दछ। सत्ता बाहिर रहेको पार्टीभित्र सिर्जना हुने अन्तरविरोध बेग्लै खालको हुनसक्छ। सत्तारुढ पार्टीभित्र सिर्जना हुने अन्तरविरोधको खास कारण बेग्लै हुनसक्दछ। तर, पार्टीहरुभित्र द्वन्द्व र अन्तरविरोध हुनसक्दछ। अहिले नेपालाई विषम अवस्थातिर लैजान प्रयत्न गरिँदैछ। नेकपा एमालेभित्र यो प्रकारको विभाजनको संघार छ। नेपाली कांग्रेसभित्र पनि महाधिवेशनको नाममा द्वन्द्व देखा परिरहेको छ। जसपा एक प्रकारले विभाजनको अवस्थामा आइपुगेको छ। माओवादी केन्द्रबाट पनि केहीले छाडेर एमालेतिर आएको अवस्था छ। नेपालका प्रमुख पार्टीहरुमा देखापरिरहेको यो अन्तरविरोधले के बताइरहेको छ? अन्तरविरोध र द्वन्द्वरहित कुनै पार्टी छैन। के कारणले पार्टीहरुभित्र अन्तरविरोध पैदा भइरहेको छ?
कतै हामी राजनीतिक व्यक्तिहरुमा देखापरेका व्यक्तिवादी प्रवृत्तिहरु, अहंकारवादी प्रवृत्तिहरु, स्वेच्छाचारी प्रवृत्तिहरु वा व्यक्तिगत महत्त्वाकांक्षा मुख्य कारण हुन् कि! वा बाह्य शक्तिहरुको प्रभाव अलि बढी परिरहेको छ कि! कतै देशभित्रका अन्य शक्तिहरुले नेपालको राजनीतिक स्थिरतालाई कमजोर पार्नका लागि वा नेपालमा राजनीतिक अस्थिरता सिर्जना गरेर संविधान र त्यसका उपलब्धिहरु समाप्त पार्नको लागि डिजाइनमै यस प्रकारका प्रवृत्तिहरु अगाडि बढेका छन् कि! कारणहरु के हुन्? जनताको मुद्दाहरु ओझेल पर्ने, जनताको समस्यालाई बेवास्ता गर्ने तर आज बिना कारण र बिना अजेन्डा पनि पार्टीहरुमा द्वन्द्व देखापर्नुका मुख्य कारण के हो? यसलाई पनि गम्भीरताका साथ सोचियो भने हामीले आफ्ना कमजोर सच्याउन सहयोग पुग्नेछ।
दुई शीर्ष नेताबीच कुरा मिल्यो भने तपाईंहरुले राखेका कुराहरु स्वतः मिल्नेजस्तो देखिन्छ। यतिबेला दुवै शीर्ष नेताले त्याग्नुपर्ने कुरा केके हुन् भन्ने लाग्छ?
धेरै कुरा छैनन्। लुकेका कतिपय कुरा रहेछन् भने त्यसलाई समयले बाहिर ल्याउला। ती कुरा मलाई जानकारी छैन। देखिएका कुरामा पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने। सबै तहका पार्टी र जनसंगठनका कमिटीहरुलाई पूर्ववत् अवस्थामा फर्काएर क्रियाशील बनाउने। झलनाथ खनाल र माधव नेपाल लगायतका नेताहरुलाई गरिएको कारबाही फिर्ता लिने। पार्टीलाई नवौँ महाधिवेशनबाट पारित विचार, सिद्धान्त, कार्यक्रम, कार्यदिशा र विधानलाई अक्षरश: पालना गरेर संस्थागत प्रणालीबाट सञ्चालन गर्ने। र, फागुन २३ पछाडि एकताको प्रतिकूल हुनेगरी गरिएका दुवै तर्फका राजनीतिक र सांगठनिक निर्णयहरुलाई नि:शर्त फिर्ता गरेर पार्टीमा एकमना एकताका साथ अगाडि बढ्ने र त्यो सकिएन पनि पार्टीमा राखिने फरक विचारहरुलाई पनि सम्मानपूर्वक सञ्चालन हुने वातावरण सिर्जना गर्दै पार्टीलाई एउटा निश्चित विधिका आधारमा एकताबद्ध गरेर अगाडि जाने कुराले नै एकता सम्भव छ। यी कुरा दुवै नेताले मान्नुपर्यो।
दुवैलाई पछाडि फर्किनुस् भन्दा उहाँहरुको सम्मानमा चोट पर्ला। तर, कम्तीमा पार्टीका संस्थागत मान्यता र फैसलाहरुलाई, पार्टीको महाधिवेशनबाट पारित विचारहरुलाई, मूल्य र मान्यताहरुलाई सबैले पालना गरेर जाने र पार्टी व्यक्तिको अधिनस्थ होइन, व्यक्ति पार्टीको अधिनस्थ हुन्छ भन्ने कुरालाई व्यवहारतः स्थापित गरेर जान खोजियो भने, जान सकियो भने एकता सम्भव छ। म अहिले पनि आशावादी छु। म फेरि पनि भन्न चाहन्छु कि विभाजन सुखद् कुरा होइन। अन्तिम अवस्थासम्म एकताका लागि प्रयत्न गर्नुपर्छ। अहिले पनि एकता सम्भव छ। पार्टी अध्यक्षबाट केही कुरा प्रस्तावित गरिएको छ। त्यसले उहाँको पोजिसन प्रष्ट भएको छ। माधव नेपालबाट पनि केही कुरा प्रस्ताव गरिएको छ। त्यसले पनि उहाँको पोजिसन प्रष्ट भएको छ। म पनि माधव नेपाल समूहमै छु। हाम्रो पोजिसन पनि त्यसले प्रष्ट पारेको छ। यो दुवै पोजिसनलाई फेरि पनि एक ठाउँमा बसेर अझ प्रष्ट बनाएर पार्टीलाई एउटा निश्चित मूल्य मान्यता र विधिमा चलाउने गरी एकता गर्न सम्भव छ।
यो पार्टी एउटा व्यक्तिले निर्माण गरेको पार्टी होइन। लाखौँ कार्यकर्ताहरुको त्याग र बलिदानले, लाखौँ जनताको समर्थनले, सहयोगले यो पार्टी यहाँ आएको छ। तर, केही सीमित नेताहरुलाई यस्तो लागेको होला कि हामी जुन ढंगले पर्दामा देखिएका छौँ, हाम्रो अनुहार हेरेर लाखौँ कार्यकर्ताहरु र जनता पछि लागिरहेका छन्। यस्तो कमरेड केपी ओली, कमरेड माधव नेपाल र कमरेड झलनाथ खनाललाई पनि लागेको होला। वा अरु कसैलाई पनि लागेको होला। त्यस्तो भ्रम थोरैथोरै मात्रामा हामीलाई पनि पर्न सक्छ। फेरि पनि त्यो गल्ती हुनेछ। यो पार्टीको निर्माणका पछाडि लाखौँ कार्यकर्ताहरुको त्याग तपस्या र बलिदानी छ। योगदान छ। लाखौँ जनताको साथ र समर्थन छ। यसलाई बिर्सिनु हुँदैन।
जब लाखौँ जनताको साथ र समर्थनले यो पार्टी निर्माण भएको छ भने के उनीहरुले आज विभाजन चाहिरहेका छन्? माधव नेपाल र झलनाथ खनाल समूहलाई बाहिर पठाएर पार्टी बलियो होस् भन्ने चाहिरहेका छन्? नयाँ पार्टी निर्माण गरेर पार्टी बलियो होस् भन्ने चाहिरहेका छन्? छैनन्। यस्तो अवस्थामा फेरि पनि पार्टीलाई एकताबद्ध बनाउने गरि केपी ओली प्रधानमन्त्री र पार्टी अध्यक्षको हैसियतले सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ। मुख्य जिम्मेवारी उहाँको हो। तर, यसको साथसाथमा माधव नेपाल र झलनाथ खनाल पनि जिम्मेवार हुनुपर्छ। त्यो बाहेक दोस्रो पुस्ताका भनिएका हामी सबै लगायतको पार्टीको र्याङ एन्ड फाइलमा सबै पंक्तिले एकताको लागि वातावरण बनाउनुपर्छ। दबाब दिनुपर्छ।
एकता नै शक्ति हो। एकता नै हाम्रो भविष्य हो। एकता नै जनताको अपेक्षा हो भन्ने कुरालाई इमानका साथ सोचियो भने हाम्रो यो प्रयत्नलाई एकतामा पुर्याउन सक्छौँ। सार्थक निष्कर्षमा पुर्याउन सक्छौँ। यो त व्यक्तिगत हिसाबले मेरो विश्वास हो। मेरो मात्रै होइन, एकताका लागि प्रयत्न गरेका हामी धेरै साथीहरु, विभिन्न हिसाबले हाम्राविरुद्ध प्रचार गर्न कोसिस गरिएको छ, हामीलाई कमजोर पार्न कोसिस गरिएको छ, एकताको प्रयत्न गर्नेहरुको मनोबल गिराउनका लागि दुष्प्रचार गरिएको छ, यसबाट हामी विचलिन नभइकन अझ उचाइबाट एकताका लागि प्रयत्न जारी राख्छौँ। एकतालाई पूरा गरिछाड्छौँ।
दुइटा शीर्ष नेतृत्वको व्यक्तित्व, विचार वा इगोको टकरावले दुईतिर हिँड्ने अवस्था आयो भने तपाईं नेकपा एमाले बनाउने आम कार्यकर्ताको कुरा सुन्नुहुन्छ कि कुनै पक्ष र नेतातिर लाग्नुहुन्छ?
व्यक्तिगत हिसाबले म ०.०००१ प्रतिशतसम्म पनि एकताको सम्भावना रहँदासम्म नेकपा एमालेको एकताका लागि, त्यो एकता फेरि माधव नेपाल र झलनाथ खनाल समूहलाई टुक्र्याएर आधा व्यक्तिसहितको एकता होइन, नेकपा एमालेको सम्पूर्ण एकताको लागि म अन्तिम अवस्थासम्म प्रयत्न गर्छु।
मैले मात्रै होइन, मसहित अन्य साथीहरुले पनि त्यही ढंगले प्रयत्न जारी राख्नुहुन्छ भन्ने मेरो अपेक्षा हो। हाम्रो भावना र सोचाइ मिलेको छ। त्यो हिसाबले हामी अन्तिमसम्म पर्यत्न गर्छौँ। त्यो प्रयत्न पनि असफल भयो भने अवश्य पनि नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइबाट, नयाँ शिराबाट आजको आवश्यकतालाई सम्बोधन गर्ने गरि हामीले जे आवश्यकता पर्दछ, त्यो आवश्यकता अनुसार फैसला लिनेछौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।