काठमाडौं– आगामी शैक्षिक सत्र असार १ गतेबाट सुरु हुने भएको छ। भौतिक रूपमा कक्षा सञ्चालन गर्ने सम्भावना नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गर्ने शिक्षा मन्त्रालयको तयारी छ।
विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशनसमेत दिइसकेका छन्।
वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउनुपर्ने भएकाले तयारी थाल्न मन्त्री श्रेष्ठले सम्बद्ध पक्षलाई निर्देशन दिएका हुन्।
योसँगै अब कक्षा १० सम्मका विद्यार्थीको नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट सुरु हुनेछ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको आन्तरिक मूल्याङ्कनलगायतको विषयमा स्पष्ट पार्न कार्यविधि बनाउने तयारी भइरहेको र कार्यविधि जेठ महिनाभित्र जारी गरिने जनाएको छ।
यसका साथै नयाँ शैक्षिक सत्रसँगै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पु–याउन र पाठ्यपुस्तकको ढुवानीको आवश्यक प्रबन्ध मिलाउन सीसीएमसीमार्फत मन्त्रिपरिषद्मा पत्र लेखेर पठाउने निर्णय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।