फाइल तस्वीर
काठमाडौं– लमजुङमा जारी निषेधाज्ञा एक साताका लागि थपिएको छ। जिल्लामा संक्रमण दर नघटेको भन्दै जिल्ला प्रशासन कार्यालयले सात दिन निषेधाज्ञा थप गरेको जनाएको छ।
कोभिड व्यवस्थापन समितिको बुधबार सम्पन्न बैठकले निषेधाज्ञा थप गर्दै जेठ २७ गते राति १२ बजेसम्म पुर्याउने निर्णय गरेको हो।
जिल्लामा यसअघि जारी निषेधाज्ञा बिहीबार राति १२ बजे सकिँदै छ। सोही समयदेखि लागू हुने गरी निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए।
साथै, बैठकले बैँक, वित्तीय संस्था र सहकारी संस्था हप्तामा दुई दिन आइतबार र बिहीबार दुई÷दुई घण्टा खोल्ने निर्णयलाई यथावत् राख्ने निर्णय गरेको छ। त्यस्तै, जिल्लाभित्र सञ्चालन हुने ढुवानीका साधनलाई बेलुका ६ बजेदेखि बिहान ९ बजेसम्म र जिल्ला बाहिरबाट यस जिल्लामा प्रवेश गर्ने ढुवानीका साधनलाई बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म मात्र आवतजावत गर्न दिने निर्णय पनि यथावत रहेको जिल्ला प्रशासनले जनाएको छ।
जिल्लामा गत वैशाख २८ गतेदेखि निषेधाज्ञा जारी छ।
यसैबीच, सिरहामा जारी निषेधाज्ञाको समय १० दिन थप गरिएको छ। जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबारको बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा १० दिन थप गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले यही जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जानकारी दिए।
सिरहामा गत वैशाख २३ गतेदेखि नै निषेधाज्ञा जारी छ । पछिल्लोपटक जेठ २१ गतेसम्म निषेधाज्ञाको समय थपिएकामा सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म लम्ब्याइएको प्रजिअ कँडेलले बताए। कोरोनाको जोखिम नघटेसम्म निषेधाज्ञा जारी रहने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।