काठमाडौं– स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानुनी भएको भन्दै यस्ता आपराधिक कार्य गर्नेमा संलग्नमाथि कानुनी कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिई कानुनी कारबाही गर्ने बताएको छ।
‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था रस्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो,’ गृह प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन्।
साथै, घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समितिसमेत बनाइएको छ।
यसैबीच, मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।
महामारीको विषम परिस्थितिमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको भन्दै गृहले सुरक्षामा ध्यान दिन निर्देशन दिएको हो।
आगामी दिनमा उपचारमा संलग्न स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाको भरपर्दो सुरक्षा प्रत्याभूति तथा स्वास्थ्यकर्मीको मनोबल बढाउने कुरामा मन्त्रालय गम्भीरताका साथ लागिरहेको जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।