काठमाडौं– नेपाल चिकित्सक संघले भेरी अस्पतालमा बिहीबार राति भएको घटनालाई 'कालो दिन'को घोषणा गरेको छ।
संघले एक विज्ञप्ति जारी गर्दै बिहीबार राति भेरी अस्पतालमा भएको घटनालाई कालो दिन घोषणा गर्दै सबै फ्रन्टलाइनर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शुक्रबार कालोपट्टी बाँधेर काम गर्न अपिल गरेको हो।
कोरोना महामारीमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सीमित स्रोत, साधन र जनशक्तिका बाबजुद पनि अग्रपंक्तिमा रहेर उपचारमा खटिरहेको अवस्थामा उनीहरु माथि दुुर्व्यवहार र कुटपिट जस्ता अवान्छित क्रियाकलापहरुले असुरक्षित वातावरण बनाएको भन्दै संघले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ।
भेरी अस्पतालमा बिहीबार राति ड्युटीमा रहेका चिकित्सक तथा स्वस्थ्यकर्मीलाई मनोबल बढाउनुको सट्टा हातपात गर्ने, घाँटी थिचेर लखेटी लखेटी पिट्ने र अस्पतालमा समेत तोडफोड गर्ने कार्य भएको भन्दै संघले स्वास्थ्यकर्मी असुरक्षित रहेको जनाएको छ।
संघले भेरी अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कानुुन अनुसार कारबाही गर्न माग समेत गरेको छ।
यसैबीच अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ परेका छन्।
लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकका अनुसार पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका—११ मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन्। एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर मृतकका भाइ हुन् भने बाँकी दुई जना मृतकका छोरा हुन्।
बिहीबार राति बिरामीको मृत्यु भएपछि अस्पतालको कोभिड वार्डमा खटिएका चिकित्सक तथा नर्सहरुमाथि कुटपिट भएको थियो। कोरोना संक्रमितहरुको उपचार हुने कोभिड आईसीयूमा उपचाररत दाङका ५४ वर्षीय संक्रमितको मृत्यु भएपछि उनका आफन्तले आईसीयू कक्षमै पसेर नर्सको घाँटी थिचेका थिए। त्यसपछि अन्य चिकित्सक र नर्समाथि समेत हातपात गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।