फाइल तस्बिर
काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै खारेज गर्ने निर्णय गरेपछि मुलुक निर्वाचनतर्फ जाने निश्चित भएको छ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि शुक्रबार बेलुकी ५ बजेको समय दिएकी थिइन्। निर्धारित समयमा ओली र देउवा दुवैले आफ्नो पक्षमा बहुमत सांसदको समर्थन रहेको दाबी प्रस्तुत गरेका थिए।
प्रतिनिधि सभाबाट प्रधानमन्त्री चयन हुने यो अन्तिम विकल्प थियो। राष्ट्रपतिले यो विकल्पबाट पनि प्रधानमन्त्री नियुक्त हुन नसक्ने ठहर गरेपछि मुलुक संसद विघटन र नयाँ निर्वाचनतर्फ अघि बढेको हो।
यसबारे निर्णय लिन मध्यरातमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।
संविधानको धारा ७६ उपधारा ७ मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख छ।
यसअघि बेलुकी ७ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक राष्ट्रपतिको निर्णय कुरेर पछाडि सारिएको थियो। त्यसपछि राति ११ बजे मन्त्रीहरुलाई बालुवाटार आउन भनिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।