काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन बदर गरेको फैसला परम सत्य नभएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले अदालतले भनेको कुरा परम सत्य नहुने तर्क गरेका हुन्। प्रतिनिधि सभा विघटनको मुद्दामा आफूलाई सही देखाउन ओलीले सर्वोच्चको फैसलामाथि नै प्रश्न उठाए।
‘जिल्ला अदालतले कुनै समयमा दोषी ठहर गरेको व्यक्तिलाई, उच्च र सर्वोच्च अदालतले निर्दोष भनेर सावित गरेको उदाहरण पनि हामीमाझ छ,’ उनले भने ‘तत्काल अदालतमा रहेको बेन्चलाई जे ठिक लाग्यो उसले त्यो गर्छ।’
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विषय आहिले पनि आफूलाई बेठीक नलागेको दाबी गरे। ‘आफूले गरेको काम मलाई बेठीक लागेको छैन,’ प्रधानमन्त्रीको दाबी थियो ‘अदालतले दिएका आदेशको परिणामहरू त अहिले पनि देखिराखेको छ, समयक्रमसँगै देखिँदै जाला।’
प्रधानमन्त्री ओलीले आफूले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्ट्याए पनि निद्रामा पनि ठीक लाग्ने जिकीर गरे।
पत्रकारहरूले तपाईंलाई विघटनको निर्णय ठीक लागेको छ त? भनेर सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिए। ‘मलाई एक्लै बस्दा होइन, संसद् विघटनको निर्णय निद्रामा पनि ठीक लाग्छ,’ उनले भने ‘संसद् विघटनका कारण एकपटक थुतुनो पोलिसकेको मान्छे फेरि त्यता जान चाहान्नँ तर, विश्वासको मत नपाएमा जाने त्यही हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।