काठमाडौं– नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको भन्दै भण्डारीविरुद्ध महाभियोग लगाउन माग गरेको छ।
राष्ट्रपति भण्डारीले २१ घण्टाभित्र दलहरूलाई नयाँ सरकार गठनका निम्ति आव्हान गर्दै बिहीबार बेलुका जारी गरेको विज्ञप्तिप्रति वाईसीएलकोे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रिपरिषद गठनसम्बन्धी नेपालको संविधानको धारा (७६) को प्रावधानविपरीतको असंवैधानिक भएको भन्दै वाईसीएलले स्वेच्छाचारी राष्ट्रपतिविरुद्ध महाअभियोग लगाएर संविधानको रक्षा गर्न आग्रह गरेको छ।
वाईसीएलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘निर्वाचनका माध्यमबाट स्थापित सार्वभौम संसद (प्रतिनिधि सभा) को हत्या गर्ने गलत मनसायका साथ आएको यस्तो निर्णयले देशलाई द्वन्दकोे अध्यारो सुरुङतर्फ धकेल्नेछ, जनताले महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बलमा प्राप्त गरेका सार्वभौम अधिकारहरू कुण्ठित गर्नेछ । तसर्थ, राष्ट्रपति–प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदम सर्वथा निन्दनीय छ ।
बाइसीएलले राष्ट्रपतिद्वारा जारी आव्हान फिर्ता गर्दै संवैधानिक व्यवस्थाको सम्मान गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत लिन वा राजीनामा दिएर नयाँ सरकारको मार्गप्रशस्त गर्न माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ,‘लोकतन्त्र र संविधानका पक्षधर शक्तिहरूलाई स्वेच्छाचारी राष्ट्रपतिविरुद्ध महाअभियोग लगाएर संविधानको रक्षा गर्न र यथाशीघ्र नयाँ सरकार गठनको बाटोमा अग्रसर हुन आग्रह गर्दछ । साथै, राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संयुक्त संघर्षका निम्ति सम्पूर्ण युवा संगठन र युवा साथीहरूमा हार्दिक अपील गर्दछ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।