काठमाडौं- नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक सकिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठक बुधबार फेरि बस्नेगरी सकिएको हो।
मंगलबारकाे बैठकले एकतामा थप चिरा नपार्न आचारसंहिता निर्माण गरेको छ। तर, राष्ट्रिय सभाको उपनिर्वाचनबारे भने केही निर्णय नभएको माधवकुमार नेपाल पक्षबाट कार्यदलको नेतृत्व गरेका भीम रावलले बताए।
बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तय गरी लागू गर्ने निर्णय गरेको रावलले बताए।
'पार्टीमा देखिएका समस्यलाई यथोचित रुपमा समाधान गर्दै पार्टीपंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैसँग सद्भावका लागि आग्रह गरेको छ', रावलले भने, 'पार्टी एकता र समझदारीलाई वृद्धि गर्ने र एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने गतिविधिबाट अलग रहन पार्टीपंक्तिलाई हार्दिक आह्वान गर्ने निर्णय पनि गरेको छ।'
कार्यदलका अर्का सदस्य प्रदीप ज्ञवालीले पनि माथिका विषय बाहेक अरु निर्णय नभएको बताए। समस्या समाधानका लागि सबैको सहयोग अपिल गर्ने निर्णय भएको ज्ञवालीले जोड दिए।
उनले राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशमा उम्मेद्वारी दिएका खिमलाल देवकोटालाई एमालेको उम्मेद्वार भन्न नमिल्ने बताए। उनले एमालेका तर्फबाट एकमात्र उम्मेद्वार रामबहादुर थापा भएको उल्लेख गरे। यद्यपि, यसबारे आजको बैठकमा कुनै छलफल नभएको उनले बताए।
यसअघि एमालेको माधवकुमार नेपाल पक्षले देवकोटालाई साथ दिएको विषयमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले अब एमाले कुनै पक्ष नरहेकाे बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।