काठमाडौं- विभाजनको संघारमा पुगेको भनिएको जनता समाजवादी पार्टी (जसपा)भित्रको संकट टर्ने संकेत देखिएको छ। मंगलबार जसपाका दुवै अध्यक्षद्वारा जारी संयुक्त विज्ञप्तिले पनि जसपा फुटबाट जोगिनथालेको संकेत गर्यो। र, सँगै वर्तमान राजनीति नयाँ कोर्समा प्रवेश गर्ने सम्भावना पनि यसले देखाएको छ।
जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच मंगलबार आठ बुँदे सहमति भएसँगै उनीहरू प्रधानमन्त्री केपी शर्माको विकल्प खोज्ने दिशातिर जानसक्ने संकेत देखिएका छन्। जसपाका अध्यक्षद्वयले प्रष्टतः यसबारे उल्लेख नगरे पनि अहिलेकै सरकारमा सहभागी नहुने, बरु सबै दल सहभागी सहमतिको सरकार बन्छ वा आफ्नो नेतृत्वमा सरकार बन्ने परिस्थिति बन्छ भने सरकार निर्माणमा अग्रसर हुने भने स्पष्ट पारेका छन्।
मंगलबार सार्वजनिक भएको जसपाका दुई पक्षका अध्यक्षहरुको सहमति किन पनि अर्थपूर्ण छ भने जसपामा ओली सरकारमा जाने वा नजाने विषयलाई लिएर तीब्र मतभेद थियो। अब जसपा तत्काल सरकारमा नजाने भएको छ। बरु आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको छ। त्यसो नभए राष्ट्रिय सहमतिको सरकार बने आफू त्यसमा सहभागी हुने जसपाका अध्यक्षद्वयको विज्ञप्तिमा उल्लेख छ।
जसपामा यसअघि ओली सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा विवाद हुँदा महन्थ–राजेन्द्रपक्ष तटस्थ बसेका थिए भने बाबुराम–उपेन्द्र पक्षले विपक्षमा मत दिएका थिए। प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेपछि संयुक्त सरकारका लागि महन्थ–राजेन्द्र पक्षले बाबुराम–उपेन्द्र पक्षलाई साथ नदिँदा ओली नै प्रधानमन्त्री बने।
बाबुराम–उपेन्द्रको मात्रै जोड नचलेपछि ओली संविधानको धारा ७६ को उपधारा ३ अन्तर्गत ठूलो पार्टीको हैसियतमा प्रधानमन्त्री नियुक्त भए। ओली प्रधानमन्त्री भएलगत्तै महन्थ–राजेन्द्रपक्ष आफूहरूका माग सम्बोधन गरे सरकारमा जाने तयारीमा थिए। त्यही विषयलाई लिएर बाबुराम-उपेन्द्रपक्ष पार्टी विभाजन नै गरेर जाने योजनामा लागेका थिए।
मंगलबार महन्थ–राजेन्द्रपक्ष 'एक स्टेप' पछाडि हटेर सहमति गरेपछि जसपा जोगिनुका साथै संयुक्त सरकार बन्ने बाटोतर्फ अघि बढ्ने आकलन गरिएको छ।
‘हामीले सकेसम्म आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था आएमाजिम्मेवारी स्वीकारेर अघि बढ्ने सहमति भएको छ। त्यो हुँदा महन्थजी, बाबुरामजी, उपेन्द्रजी जुनसकै नेतालाई पार्टीले अगाडि सार्न सक्छ’, जसपाका एक वरिष्ठ नेताले भने, ‘यदि जसपाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने स्थिति नभएमा कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्छ।’
अब बन्ने सरकार कसको नेतृत्वमा होला भन्ने तस्वीर प्रष्ट हुन बाँकी छ। तर, परिस्थितिमा कुनै नाटकीय फेरबदल नभएमा मंगलबारको जसपाको निर्णयपछि प्रधानमन्त्रीमा ओलीको निरन्तरता एक महिनापछि नहुने देखिन्छ। किनभने जेठ ३० गतेभित्र उनले प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्छ। जसपाको यही पोजिसन कायम रहँदा उनले विश्वासको मत प्राप्त गर्ने सम्भावना देखिँदैन।
त्यसमाथि आफ्नै पार्टी एमालेलाई एकढिक्का राख्ने प्रधानमन्त्री ओलीको प्रयत्नले मूर्तरुप पाउला या नपाउला भन्ने पनि निश्चित छैन।
तर, जसपाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने स्थितिमा महन्थ–राजेन्द्रपक्ष ओलीकै नेतृत्वमा सरकार बनाउनुपर्ने लबिङमा लाग्न सक्ने ती नेताले बताए। उनले भने, 'उहाँहरुले फेरि पनि त्यो बखेडा झिक्न सक्नुहुन्छ, तर बाबुराम–उपेन्द्र पक्ष भने राष्ट्रिय जसपाको नेतृत्वमा नबने कांग्रेसको नेतृत्वमा सरकार बनाउने तयारीमा छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।