काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्न नहुने उल्लेख गरेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टेटस मार्फत् एकता अभियानमा अघि बढेको नेकपा एमालेलाई बधाई तथा शुभकामना दिँदै प्रवक्ता श्रेष्ठले माओवादीले बैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरण को अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरेका हुन्।
‘नेकपा(एमाले )का कमरेडहरुलाई बधाई तथा शुभकामना’ उनले लेखेका छन्,‘हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरु, मुख्यतः हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) ले अव प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्नु हुदैन।’
वैचारिक छिपछिपेपन, बिधिपध्दतिको अवज्ञा, ब्यक्तिवाद,संकिर्णता, अनेकता, गुटवन्दी, भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको बिरुध्द संघर्ष गर्न दृढ हुनुपर्ने उनले उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले त्यसरी मात्र क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सकिने उल्लेख गरेका छन्।
बिचलन, निराशा र निष्कृयता क्रान्तिकारी गुणचरीत्र नभएको भन्दै उनले घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारिकन आजको आवश्यकता पूरा गर्न नसकिने उल्लेख गरेका छन्।
तत्कालै भने सिङ्गो पाटी पङ्क्ति कोरोना महामारीसँग जुझ्न स्वयंसेवामा जुट्न उनले आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।