काठमाडौं- राष्ट्रिय सभा उपनिर्वाचनका बागमती प्रदेशका उम्मेद्वार खिमलाल देवकोटाले आफ्नो उम्मेद्वारी फिर्ता नहुने बताएका छन्।
मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरूको समर्थन र सहयोगबाट उम्मेद्वारी दिएको उल्लेख गर्दै उनले यसमा पुनर्विचार नहुने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै देवकोटाले संविधानप्रदत स्थानीय र प्रदेशका अधिकारहरु बिना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने आफ्नो मान्यता रहेको र साेही अनुसार उम्मेद्वारी दिएको उल्लेख गरेका छन्।
बिहीबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधकुमार नेपालबीच भएको सहमतिपछि आफ्नो उम्मेद्वारीबारे चासो राखिएको भन्दै उनले यसबारे स्पष्ट पारेका हुन्।
'राजनीतिक पार्टी नीति, विधि र पद्धतिमा चल्नु पर्दछ। यसमा विवाद हुन सक्दैन। तर, मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेद्वारी दिएको स्थितिमा यसमा पुनर्विचार गर्ने कुरा कल्पना भन्दा बाहिरको विषय हो', देवकोटाले लेखेका छन्।
उनले आफू आफ्नो उम्मेद्वारीप्रति प्रतिवद्ध रहेको पनि उल्लेख गरेका छन्। यसअघि एमालेको माधवकुमार नेपाल पक्षले पनि देवकोटाको उम्मेद्वारीमा साथ दिएको थियो।
तर, बिहीबार ओली र नेपालबीच पार्टी एकतालाई अघि बढाउँदै जाने, विवाद समाधानका लागि कार्यदल बनाउने लगायतका सहमति भएको थियो। अब नेपाल पक्षले उनलाई साथ दिन्छ दिँदैन भन्ने स्पष्ट भइसकेको छैन। उपनिर्वाचन आउँदो जेठ ६ गते हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।