काठमाडौं– झापामा जारी निषेधाज्ञा एक साताका लागि लम्बिएको छ। जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।
झापामा यस अघि वैशाख २२ गतेदेखि पहिलो चरणका लागि निषेधाज्ञा लगाइएको थियो। पहिलो चरणको निषेधाज्ञा आज राति १२ बजे सकिँदै थियो।
कोभिडका बिरामी जिल्लामा बढेको र मृत्यु दरसमेत उच्च रहेको पाइएपछि निषेधाज्ञा जेठ ७ गतेसम्मका लागि लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।
निषेधाज्ञाका समयमा औषधि, स्वास्थ्य सामग्री, इन्धनबाहेक अन्य खाद्यान्न पसल, व्यवसाय पूर्ण रूपमा बन्द गर्ने र हरियो तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थ स्थानीय तह र स्थानीय उद्योग वाणिज्य सङ्घको समन्वयमा बिहान ८ बजेभित्र घरघरमा होम डेलिभरी सेवा उपलब्ध गराउने सकिने प्रजिअ तिमिल्सिनाले बताए।
बैठकले औषधि खरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने, अत्यावश्यक सेवा सञ्चालन बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।