काठमाडौं- एम्नेस्टी इन्टरनेसनलले कोरोनाका कारण नेपालमा देखा परेको मानव विपत्ति तत्काल सम्बोधन गर्न अपिल गरेको छ।
भारतसँग खुला सीमा जोडिएको नेपालमा संक्रमण तीब्र वृद्धि भइरहेका बेला भारतले अक्सिजनको निर्यातमा रोक लगाएपछि स्थिति जटिल बनेको भन्दै यही बेला विकसित राजनीतिले झन् उथलपुथलको अवस्था आएको पनि एम्नेस्टीले उल्लेख गरेको छ।
एम्नेष्टीले नेपालका राजनीतिज्ञहरूलाई राजनीतिक झगडा र आन्तरिक कलहमा नअल्झी देशमा चुलिँदो संकटलाई सम्बोधन गर्न पनि अपिल गरेको छ। एम्नेष्टीले एशियाका दुई देश नेपाल र भारत यतिबेला मानवीय संकटमा परेको भन्दै यस्तो आग्रह गरेको हो।
दक्षिण एशियामा घातक रूपमा फैलिएको कोभिड–१९ संक्रमणसँग जुध्नका लागि तत्काल गम्भीर कदम चाल्न आवश्यक रहेको भन्दै एम्नेष्टीले दक्षिण एशियाका सरकारहरूले स्वास्थ्य सेवासम्बन्धी अभावहरूलाई तत्काल सम्बोधन गर्नुपर्ने भनेको छ। यस क्षेत्रमा कोभिड–१९ को तीब्र संक्रमणविरुद्ध प्रतिकार्यका लागि अति शीघ्र स्वास्थ्य प्रणालीहरूलाई सुदृढ पार्नुपर्ने भनेको छ।
भारत र नेपालको स्वास्थ्य प्रणाली टुट्ने विन्दुमा पुगेपछि दक्षिण एशियाका अरु देशमा भाइरसको पछिल्लो र घातक फैलावटलाई सामना गर्ने सवालमा देखिएको तयारीपनको अभावप्रति उसले चासो व्यक्त गरेको छ। एम्नेस्टीले खोपको न्यूनताका कारण यस क्षेत्र जोखिममा पुगेको औंल्याएको छ।
‘भारत र नेपालमा जुन खालको मानव विपत्ति देखापरिरहेको छ यसले यस क्षेत्रका अन्य देशहरूलाई संकटकालीन प्रतिकार्यका उपायहरूका लागि ठूलो लगानी गर्न एउटा चेतावनीको काम गरेको छ’, एम्नेस्टी इन्टरनेसनलका एशिया प्यासिफिक निर्देशक यमिनी मिश्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भाइरस डरलाग्दो गतिमा फैलँदै सीमानाहरू पार गरिरहेको छ। र, यसले यस क्षेत्रका सबैभन्दा सीमान्तकृत जनसंख्यालाई बढी आक्रमण गर्नेछ।’
महामारीले दक्षिण एशियालाई तहसनहस बनाइरहेको सन्दर्भमा जीवन बचाउने चिकित्सा उपकरणहरू प्रदान गर्न, खोपको उत्पादन र आपूर्तिमा अवरोध नगरी मानवअधिकारप्रतिको दायित्व पूरा गर्न तथा आवश्यक सहयोग प्रदान गर्न एम्नेस्टी इन्टरनेसनले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।