काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज (बिहीबार) बाट थप दुई साताका लागि थपिएको छ।
उपत्यकाको तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी मंगलबार सम्पन्न बैठकले आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो। त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दै बुधबार राति १२ बजेसम्मका लागि समय थपिएको थियो।
सङ्क्रमण दर नघटेपछि पुनः दुई साता थप गरिएको निषेधाज्ञाको अवधिभरमा यसअघिका केही नियमसमेत परिवर्तन गरिएको छ। अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द रहने प्रशासनले जनाएको छ।
कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
अत्यावश्यक सेवाका कार्यालय भर्ने न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्न पराजुलीले आग्रह गरेका छन्।
अब अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ। उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छ।
सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन्।
त्यस्तै, विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।