काठमाडौं– उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात् वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरुसँग बढी भाडा लिई ठगी गर्ने दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका ४१ वर्षीय हृदय नारायण साह रहेका छन्। साहले ना६ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए।
त्यस्तै गंगबुबाट बर्दियाका ३५ वर्षीय कृष्ण चौधरीलाई बुधबार ट्राफिक प्रहरीले पक्राउ गरी प्रहरी बृत्त बालाजुमा बुझाएको छ। पक्राउ परेका चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रति ब्यक्ति पच्चीस सयदेखि तीन हजारसम्म लिने गरेका थिए। उनले ना ७ ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुसँग बढी भाडा लिएको पाइएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ।
दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निगरानी गरि हालसम्म महाशाखाले २८ जनालाई पक्राउ गरि कारबाहिको दायरामा ल्याएको महाशाखाले जनाएको छ।
महाशाखले निषेधाज्ञा लागु भएपश्चात बढी भाडा लिई यात्रु ठग्नेबिरुद्ध कारबाही अभियान संचालन गरि छुट्टै डेडिकेटेड टिम समेत परिचालन गरेको जनाएको छ।
टोलीले सूचना संकलन गर्ने, निगरानी गर्ने, यात्रु बनी भाडा बार्गेनिङ्ग गर्ने, गोप्य रुपमा बुझ्ने र यात्रु ठग्नेलाई पक्राउ गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।
हामी निरन्तर अनुगमन एवं गोप्य निगरानी गरिरहेका छौं, तोकिएको भन्दा बढी भाडा लिएको पाइए जो सुकैलाई नियन्त्रणमा लिन्छौं,'उनले भने। पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु समेत बढी भाडा लिएको कसुरमा पक्राउ परेका भट्टराईले जानकारी दिए।
निषेधाज्ञा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट यसरी यात्रु ठग्नेलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।