काठमाडौं- प्रदेश २ प्रहरीले आफ्नो मातहतका विभिन्न जिल्लाहरुबाट ७०० थान अक्सिजन सिलिन्डर बरामद गरेको छ। १३२ थान भरी र ५६८ थान खाली गरी ७०० सिलिन्डर विभिन्न ठाउँबाट बरामद गरिएको प्रदेश २ प्रहरी कार्यालयले जानकारी दिएको छ।
उद्योग, कलकाखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरुमा स्टक गरी राखेको उक्त सिलिन्डरहरु बरामद गरिएको हो। बरामद गरिएका सिलिन्डरहरु सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारिक वितरकलाई बुझाई स्वास्थ्य प्रयोजनमा प्रयोग गराउने प्रहरीले जनाएको छ।
स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनका लागि स्टक गरी राखेको व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान कार्य भइरहेको पनि प्रहरीले जनाएको छ।
अहिलेको विषम् परिस्थितिमा स्वास्थ्य प्रयोजनबाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नराख्न पनि प्रहरीले आग्रह गरेको छ। कोरोना भाइरस संक्रमण दर बढेसँगै बजारमा अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि लुकाएर समेत राख्न थालेपछि प्रहरीले देशभर अक्सिजन सिलिन्डर खोजी अभियान चलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।