काठमाडौं- गण्डकी प्रदेशको विशेष अधिवेशन सुरु भएको छ। सोमबार पोखरामा सुरु भएको अधिवेशनको सुरुमै नेकपा एमालेका सांसदले कोरोना परीक्षण नगरी बैठक सञ्चालन गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
बैठकको सुरुमै समय लिएर बोलेका एमालेका एक सांसद्ले यसअघि प्रदेश सभा सुरु गर्दा सांसदहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै भित्र प्रवेश गर्ने गरिएकोमा यसपटक त्यसो नगरिएको बताए। 'अहिले कोरोनाको दोस्रो चरणको महामारी देशभर फैलिएको छ। पोखरामा पनि फैलिएको छ। प्रदेश सभा सञ्चालन हुनु एउटा कुरा हो। तर सञ्चालन हुनुभन्दा पहिला माननीय र कर्मचारीहरुको पिसिआएर गरेर मात्र प्रवेश गराउनुपर्नेमा परीक्षण नगरीकन, गम्भीरतापूर्वक नलिइकन खाँदाखाँद गराएर जुन प्रदेश सभा सञ्चालन गरिएको छ', उनले भने।
एमालेको तर्फबाट बोलेका उनले यस्तो अवस्थामा बैठक सञ्चानल गर्दा महामारी फैलिनसक्ने आफ्नो दललाई लागेको बताए। 'त्यसैले पीसीआर परीक्षण गरेर मात्रै बैठक सञ्चालन गरियोस् भनेर गम्भीर आग्रह गर्न चाहन्छु', उनले भने।
गण्डकीको यस विशेष अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध अविश्वास प्रस्ताव टेबल हुँदैछ। उनीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी २८ जना सांसदले गत वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।