केहीदिन पहिले बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठक। फाइल तस्बिर : प्रधानमन्त्रीको सचिवालय।
काठमाडाैं- कोरोना संक्रमणको तीव्र वृद्धिले राजनीतिक दलका गतिविधि प्रभावित बनेका छन्। राजनीतिक दलका भेला र बैठक स्थगित हुन थालेका छन्। जोखिम बढेसँगै दलहरूले राजनीतिक गतिविधिलाई कम गर्न थालेका हुन्।
आइतबार सत्तारूढ एमालेको महाधिवेशन आयोजक कमिटी र स्थायी कमिटीको बैठक छोटो समय बसेर सकिएको थियो। स्वास्थ्य मापदण्ड लागू गरी कार्यान्वयन नगरेको भन्दै सरकारको आलोचना बढेपछि आइतबारको बैठक छोटो समय बसेर सकिएको थियो।
आयोजक कमिटीमा रहेका अधिकांश नेता बालुवाटार बैठकमा सहभागी भएका थिए। सरकारले सार्वजनिक गरेको स्वास्थ्य मापदण्डमा २५ जना भन्दा बढी भेला हुन नपाइने उल्लेख छ। २५ जना भन्दा धेरै सहभागी भएर बैठक बसेको आलोचना भएपछि आइतबारको बैठकको फोटो समेत सार्वजनिक गरिएन।
प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय एमालेको नवनियुक्त कार्यालय सचिव शेरबहादुर तामाङले भने, ‘पार्टीका अबका बैठक स्थगित गरिएको छ। बैठक गर्नैपर्ने भए स्वास्थ्य मापदण्ड अनुसार बस्छ।’ भेला हुने अवस्था नभएका कारण पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस मनाउन नसकिएको उनले बताए।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पनि कोरोनाकै कारण अनिश्चितिकालका लागि रोकिएको छ। सोमबारको केन्द्रीय समिति बैठक रोकेर नेताहरूको पीसीआर परीक्षण गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। संक्रमण बढेकाले अर्को बैठकको समय निश्चित नभएको उनले बताए।
माओवादी केन्द्रको बैठक वैशाख ७ र ८ गते बसेर स्थगित भएको छ। त्यसपछि माओवादीको बैठक बस्न सकेको छैन। सत्ता समीकरण र सरकारलाई दिएको समर्थन फिर्ताका सन्दर्भमा बैठक केन्द्रित थियो। स्थायी कमिटीमा छलफल भएका केही प्रस्ताव केन्द्रीय कमिटीको प्रस्तावको रूपमा अघि बढाउने जानकारी नेता नारायणकाजी श्रेष्ठले दिएका थिए।
केन्द्रीय समितिको बैठक भने अनिश्चित छ। संक्रमण बढेकाले पार्टी बैठक तत्काल बस्न सक्ने अवस्था नरहेको स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन्। गएको बिहीबार तत्कालीन राजपा पक्षको संसदीय दलको बैठक बसेको छैन। कार्यकारीणी समितिको बैठक वैशाख पहिलो साता बस्ने भनिएपनि बस्न सकेन। बैठक बस्न नसक्नु आन्तरिक विवाद र कोरोना दुवै कारण भएको जसपा नेता नवराज सुवेदी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।