काठमाडौं– उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि एक ढिक्का भएर उभिन मनमोहन अधिकारी प्रेरणाको स्रोत भएको जनाएका छन्।
नेकपा एमालेका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औं स्मृति दिवको अवसरमा एक वक्तव्य जारी गर्दै पोखरेलले नेपालका विभाजित कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन अधिकारीले महत्वपूर्ण अभिभावकीय भूमिका खेलेको स्मरण गरेका हुन् ।
अधिकारीको प्रेरणाले एमालेका नेता कार्यकर्ता एकढिक्का भइ काममा सक्रिय हुन उर्जा मिल्ने उनले उल्लेख गरेका छन्।
‘स्वर्गीय अधिकारीले नेपालको विभाजित कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेल्नु भएको थियो। आजको यस विशेष दिनले नेकपा(एमाले) का सम्पूर्ण नेता कार्यकर्ताहरुलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु’ विज्ञप्तिमा पोखरेलले उल्लेख गरेका छन्।
अधिकारीले स्थापित गरेको आदर्श, सिद्धान्त र मूल्य मान्यता कम्युनिस्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको पोखरेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।