काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी ‘पुनर्गठन’ गरेका छन् । पुनर्गठित स्थायी कमिटीमा नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालको नाम छैन ।
यस्तै, नेपाल र खनाल पक्षका अन्य नेतालाई पनि ओलीले स्थायी कमिटीमा समेटेका छैनन् । ओली आफैंले घोषणा गरेको पार्टीको १० औं महाधिवेशनको मिति नजिकिँदै गर्दा गठन गरिएको स्थायी कमिटीमा हाललाई १९ जनालाई राखिएको छ ।
स्थायी कमिटीका बाँकी सदस्य पछि थपिने जनाइएको छ । ओलीले गठन गरेको स्थायी कमिटीमा माओवादी परित्याग गरेर एमालेमा आएका ४ जना नेता अटाएका छन् ।
पूर्व माओवादी नेताहरु रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र (मणि) थापा ओलीले पुनर्गठन गरेको एमालेको स्थायी कमिटीमा अटाएका छन् ।
नेकपा एमालेको नवौं महाधिवेशन पछि गठित स्थायी कमिटीमा २२ जना सदस्य थिए । तत्कालीन स्थायी कमिटी सदस्यमध्ये माधव नेपाल र झलनाथ खनाल पक्षका एकजना पनि पुनर्गठित कमिटीमा परेका छैनन् ।
ओली इतर नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने सदस्य थिए । उनीहरू कसैलाई पनि कमिटीमा समेटिएको छैन ।
पुनर्गठित स्थायी कमिटीमा माओवादी छाडेर आएका ४ जना नेताका अतिरिक्त हाललाई अन्य १५ जना छन् । केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेललाई स्थायी कमिटीमा राखिएको छ ।
यस्तै, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, किरण गुरुङ र पुष्पराज कँडेल पनि स्थायी कमिटीमा अटाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।