काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनका लागि समय दिए पनि गर्न नसकेका कारण संसद् अधिवेशन अन्त्य गरिएको बताएका छन्। कतिपयले अविश्वासको प्रस्ताव छल्न संसद् अधिवेशन अन्त्य गरेको बताएको भन्दै यस्तो टिप्पणी गरेका हुन्।
संसद्सँग बिजनेस नभएका कारण धेरै अघि नै स्थगित गर्ने सुझाव आएको उनको भनाइ छ। तर, सरकार परिवर्तन गर्ने चाहना भएकाहरुलाई अवसर दिन हालसम्म संसद् चलेको उनको भनाइ छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'संसद्सँग बिजनेस नभएकाले धेरै अगाडि स्थगितका लागि सिफारिस गरिनुपर्थ्यो। तर, सरकार परिवर्तन गर्ने र प्रधानमन्त्री बन्न रहर भएकालाई हुने अवसर दिएका हौं। सरकार परिवर्तनका लागि कुनै गतिविधि नगरेको र समर्थन फिर्ता लिन चाहनेले पनि नलिएकाले स्थगित गरियो।'
कोरोना भाइरस संक्रमणका कारण २५ जनाभन्दा बढी भेला हुन नपाउने नियमअनुसार पनि संसद् स्थगित गरिएको उनले बताए। उनले थपे, 'अरुलाई भेला हुन रोक्ने सांसदहरु लाइन लागेर संसद् जाने भन्ने हुँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।