परिवर्तन पक्षधर एक नागरिकका रुपमा यसपटकको ब्लग राजनीतिक व्यवस्था फेरिएर पनि नफेरिएका केही चलनहरुका कारण दुखेको चित्तका कुरा सबैलाई सुनाएर परिवर्तनका पक्षमा केही योगदान गर्न सकिन्छ भन्ने आँटका साथ लेख्दै छु।
न्यूजिल्याण्ड र क्यानडामा युवा उमेरका सरकार प्रमुख छन्। उनीहरुले नागरिकप्रति उत्तरदायी भएर गरेका गतिविधिको मुक्तकण्ठले प्रशंसा गर्ने मेरो समाजबाट आफैभित्र चलिआएका गलत र प्रतिगामी कदमविरुद्ध कहिले आवाज उठ्ला र विद्रोह होला भनेर कुरी बस्ने म जस्ता लाखौं नागरिक छन्। बिडम्बना, परिस्थिति सुध्रिएको देखिँदैन। राजनीतिक वृत्तमा दोस्राे पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा यदाकदा उठ्ने गरेको छ। तर, त्यो दोस्राे पुस्ता पनि करिव साठी वर्ष उमेर वरपरको हो।
न्यूजिल्याण्ड, क्यानडा जस्ता देशका युवा नेतृत्वबाट हामी उत्साहित त हुन्छौं, तर नागरिक वा कुनै राजनीतिक पार्टीको कार्यकर्ताको हैसियतले युवा पुस्तामा नेतृत्व हस्तान्तरणको विषयमा आवाज बुलन्द गर्न सक्दैनौं। यसको प्रमुख एक कारण आलोचनात्मक चेतको कमी वा त्यस्तो चेत भएर पनि आफ्नो नेतृत्वले जे जस्तो गर्दा पनि बफादार कार्यकर्ता बन्नुपर्ने बाध्यता हो। मौनताको संस्कार तोड्न अगुवाइ कसले गर्ने? यस्तो बफादारिता राजनीतिक र सामाजिक रुपान्तरणका लागि घातक प्रवृति हो।
करिब दुई महिना अगाडि प्रतिनिधि सभाका एकजना सदस्य आफैले निर्वाचन जितेको ठाउँ जाँदा त्यहाँ ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरुले विमानस्थलमा खादा र फूलमालाका साथ जयजयकार गरे, भव्य स्वागत गरे। यस्ता दृष्य देख्दा तपाईं हामीलाई सामान्य लाग्छ। किन फूलमालासहित स्वागत वा अबीरजात्रा गरियो भन्ने प्रश्न होइन। प्रश्न त यस्तो समाजले आफूबाट निर्वाचित प्रतिनिधिले नागरिकसामु गरेका बाचा पूरा नगरेको अवस्थामा तिनै कार्यकर्ताको लामो पंक्तिले प्रश्न गर्ने हिम्मत राख्छ कि राख्दैन भन्ने हो।
कहिलेकाहीँ कुनै सञ्चारमाध्यमले सञ्चालन गरेका सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रममा प्रश्न प्रतिप्रश्न गरेको देख्न सुन्न पाइन्छ। साथै विपक्षी पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमार्फत् प्रश्न गर्ने वा चुनावका बेला गरेका बाचा सेयर गरेर प्रश्न गर्ने प्रयत्न नभएका होइनन्। नेतृत्वसँग आफ्नै कार्यकर्ता मनमनै बेखुसी छन् वा हुन पनि सक्छन्। आफ्नो प्रतिनिधि हराएको महसुस गर्छन्, तर पनि प्रश्न गर्ने हिम्मत राख्दैनन् र स्वागतार्थ लामबद्ध हुन्छन्। यस्ता घटनाहरु प्रायःजसो हरेक दिन देख्न पाइन्छन्।
राजनीतिक लाइन फरक भएको भन्दा अरु कुनै अवस्थामा आफ्ना कार्यकर्ताले जनप्रतिनिधिलाई प्रश्न सोध्ने, जवाफदेही बनाउने र आवश्यक परे खबरदारी गर्ने समाज निर्माण हुन नसक्दाको नकारात्मक परिणाम हामी सबैले भोग्दै छौं। कसले बढी खादा र फूलमाला पायो भन्ने कुराले जबसम्म नेता र नेतृत्वको जाँच भइरहन्छ, तबसम्म नेताले नागरिकलाई भोट–बैंक र इमान्दार लम्पट कार्यकर्ताका रुपमा मात्र लिइरहने छन्। तसर्थ आफ्नै पार्टीका र आफ्नै जनप्रतिनिधिलाई प्रश्न सोध्ने र नागरिकका प्रश्नको जवाफ दिने कठघरामा उभ्याउन थालौं भन्ने मेरो पहिलो अपिल हो।
भीआइपीरुम र नागरिकसँगको सम्बन्धबिच्छेद
कोभिडको महामारी आउनुभन्दा केही समय पहिले मानिसहरुले मास्क लगाउन छाडिसके भनेर सरकारले सांकेतिक रुपमा धुलोमुक्त सहर निर्माण गरेको सन्देश दिन खोजेको थियो। सुविधासम्पन्न गाडी चढेर बानेश्वर बैठकबाट सिंहदरबार जाने, त्यहाँबाट अर्को बैठकका लागि बालुवाटार जाने र फर्केर बेलुका त्यस्तै अर्को कुनै सुविधासम्पन्न ठाउँमा सुत्न जानेले नागरिकले धुलो खाएका छन् कि छैनन् भनेर कसरी किटान गर्छन्? त्यसको भोलिपल्ट फेरि कुनै जिल्लाको कार्यक्रमका लागि जहाज चढ्न विमानस्थल जाने, अनि त्यहाँ नागरिकसँग भेटघाट हुन्छ कि, केही प्रश्नको सामना गर्नुपर्छ कि भनेर भीआइपी कक्षमा बस्ने।
जिल्लाको कार्यक्रममा भाग लिँदा अगाडि र पछाडि गाडीका लस्कर कुदाउने। अलि अलि भएका खाल्डाखुल्डी एक दुई दिन अगाडि नेताको प्रोटोकल अनुसारले पुर्न पनि लगाउने, अनि एकाध घण्टापछि त्यही बाटो फर्केर बेलुका अघिल्लै रात सुतेको सुविधासम्पन्न घरमा सुत्न आउने। जिल्लामा अलिकति थप समय बाँकी रह्यो भने चाकडीमा रुचाउने कार्यकर्ताबाट घेरिएर बस्नै पर्यो।
यस्तो तालिका र ताल भएको नेता वा शासकले सडकमा धुलो भए नभएको कसरी थाहा पाउँछन्? दार्चुलाबाट राजधानीसम्म बस चढेर आउन ३६ घन्टा लाग्छ र बाटोमा के कस्ता अव्यवस्था झेल्दै आउनु पर्छ भन्ने तिनले कसरी थाहा पाउँछन्? नेताज्यू, तपाईंको आधा घण्टाको भाषण सुन्न घन्टौं लगाएर नागरिक त्यो सभामा आएका हुन्छन्।
तपाईंलाई चाटुकारले घेरेर राखेपछि तिनले तपाईंसामु आएर यसपालि खडेरी परेर आफ्नै उब्जनीले खान नपुगेको कुरा कसरी बताउन सक्छन्? कसरी अरब गएर बाकसमा फर्किएको छोरोको मृत्युपश्चात पाउनुपर्ने जीवन बिमाको रकम दिन दलालले आनाकानी गरिरहेको कुरा सुनाउन पाउँछन्? जीवनभरि आर्दशको राजनीति गरेका अभियन्ताहरुले पहुँच र पैसा नभएका कारण चुनाव लड्न नसकेको कुरा कसरी सुनाउन सक्छन्?
भीआइपी रुट प्रयोग गर्नेहरुले यस्ता कुराहरुको हेक्का कसरी राखून्? भीआइपी रुट प्रयोग गर्ने स्थान आफ्ना लागि उपयुक्त हो कि होइन भन्ने हेक्का तिनले किन राख्न सक्दैनन्? जहाज कुर्ने बेलाको जति समय हुन्छ, त्यति समय मात्र पनि नागरिकले कुर्ने ठाउँमा गएर बस्न तपाईं र तपाईंलाई यो ठाउँमा पुर्याउने नागरिकको हैसियत नमिलेर हो? एकजना क्याबिनेट मन्त्रीले भीआइपी कक्ष प्रयोग नगरी नागरिकसँगै बसेर हवाइयात्रा गर्ने हिम्मत मात्र गर्दा पनि आधाजसो विरोधी यसै घटेर जान्छन्।
नेताज्यूहरु जिल्लाको कार्यक्रममा जाँदा ठूला होटलहरुमा तपाईंलाई फुक्र्याउनका लागि गरिने खादा मालाको सम्मान छाडेर सामान्य चिया पसलमा पुगेर केही समय बातचित गर्नुस्। त्यसो गर्नुभो भने अर्को पल्टका लागि चुनाव खर्चको जोहो कसरी गर्ने भन्ने समस्या आफै घटेर जान्छ। आफ्नो जग बसाल्ने नागरिकसँग दूरी कायम गर्ने जनप्रतिनिधि हुन सक्दैन। यस्तो भाष्य भत्काउने कि नभत्काउने?
खादाको उपयोग र पुनर्प्रयाेग
केही समयअघि खादा प्रयोगबारे भएको छलफल अन्तिममा धार्मिक मुद्दामा गएर बहकिएको थियो। त्यो विषयप्रति म सजग पनि छु र खादाको धार्मिक पक्षमा म तटस्थ रही सो कुराको सम्मान गर्ने कुरा ‘डिस्क्लेमर’ दिएर केही विषयहरुमा यहाँ छलफल गर्न चाहन्छु।
तपाईंले आजसम्म सम्मानस्वरुप पाउनु भएका खादाहरुको व्यवस्थापन कसरी गर्नु भएको छ? तिनीहरुको केही पुनर्प्रयोग छ? कुनै एउटा गाउँको ५० जना सदस्य भएको सामान्य सहकारीले कुनै कार्यक्रम आयोजना गर्दा खादा मालामा कति रुपैयाँ खर्च गर्ने गरेको छ? एकजना बहालवाला मन्त्रीले वा उच्चपदस्थ अधिकारीले एक दिनमा कति पटक खादा पाउँछन्, ती खादा कहाँ जान्छन् र तिनले दुई चार वर्षयता कति खादा पाए होला र ती कहाँ गए होला? केही उपयोगमा आए कि आएनन् होला? भन्ने केही आधारभूत प्रश्नको जवाफ खोज्न थालेर यो छलफल शुरु गर्यो भने ठिक ठाउँमा पुगिन्छ होला।
पाहुनालाई स्वागत सत्कार गर्ने विषयमा विवाद होइन। खादा प्रयोगका नाममा श्रोत साधन खेर गइरहेको कुरामा छलफल केन्द्रित गर्न खोजेको हो। एकजना उच्चपदस्थ अधिकारीले एक दिनमै दर्जनौं खादा पाइरहेका हुन्छन्। ती खादा प्रायःजसो कुनै न कुनै रुपमा सार्वजनिक खर्चका शीर्षकबाटै किनिन्छन्। अर्को विषय यसको पुनर्प्रयोगकाे पनि हो। यतिका संख्यामा एकै छिनका लागि प्रयोगमा आउने खादाको पुनर्प्रयोगका बारेमा सोच्न पनि जरुरी छ।
तेस्राे विषय, यो चलन फेरि पनि समाजमा वर्ग निर्धारण गर्ने र विद्यमान विभेदलाई झन् मलजल गर्ने चलनहरुकै निरन्तरता जस्तो भइरहेछ। खादा मालासहित जयजयकारको अपेक्षा गरिरहने असल नेतृत्व होइन र अनावश्यक कसैलाई खुसी पार्न गरिने खादाको प्रयोग सचेत र सशक्त नागरिक वा कार्यकर्ताले गर्ने व्यवहार पनि होइन। पाहुनाको स्वागत सत्कारमा पनि नयाँ र आर्थिक रुपमा कम खर्चिला तौरतरिकाहरु अपनाउन जरुरी छ।
आसन ग्रहणमार्फत विभेदलाई मलजल
भर्खरै निर्वाचित अमेरिकी राष्ट्रपतिको सपथ समारोहमा कुनै तामझाम थिएन। कार्यकर्ताको लामो लाइन पनि थिएन। वरिपरि सेनामेना थिएनन्। नेपालमा प्रतिगमनविरुद्ध आन्दोलन गर्दा बीच सडकमा राखिएका जस्ता बडेमानका सोफा पनि थिएनन्। कसले खादा र फूलमाला सम्हालिदेला भन्ने पिर पनि थिएन। भएभरका साहित्यका शब्दहरु खर्चंदै प्रशंसाको पुल बाँध्ने र नवनिर्वाचित राष्ट्रपतिको गुणगान गाउने कार्यक्रम सञ्चालक पनि थिएनन्। सबैभन्दा रोचक कुरा त कार्यक्रम सकिन लाग्दा पनि नसकिने आसन ग्रहणको झन्झट पनि भएन।
हामीले पनि यो तरिकालाई वाह गज्जब छ भन्यौं। बिडम्बना, त्यो वाहवाही हेर्नका लागि मात्र थियो। हामी आफ्नो तरिकामा नयाँ र प्रगतिशील तरिकाहरु मिसाउनै जान्दैनौं वा चाहँदैनौं। मेरो एक मनले सोच्दै थियो, सामाजिक सञ्जालमा वाहवाही गर्नेहरुले अबउप्रान्त सञ्चालन गर्ने कार्यक्रममा परिवर्तन ल्याउने भए। तर, त्यो कार्यक्रम भएको करिब तीन महिना भइसक्दा पनि वाहवाहीलाई साच्चिकै कार्यान्वयन गर्ने प्रतिगमनविरोधी र असली नागरिक समाजका मोर्चाहरु पनि देखिएन्, अरुका त के कुरा गर्नु?
अब थोरै हाम्रा कुरा गरौं। विभिन्न कार्यक्रमहरु हुँदा मञ्चमा अतिथिहरुको लामो लाइन लाग्छ। कार्यक्रम सञ्चालकले कार्यक्रम सकिँनै लाग्दा पनि आसनग्रहण गराइरहेका हुन्छन्। कार्यक्रमको प्रकृति जेसुकै होस्, आसनग्रहण गराउनै पर्ने। सबैभन्दा अनौठो त के छ भने धेरैपटक सार्वजनिक संस्थाको सेवा गुणस्तरका बारेमा सामाजिक लेखाजोखा गर्दा पनि अतिथिको लामो लाइन बनाउने, खादा मालाले स्वागत गर्ने र ती अतिथिहरुको गुणगानमा पुष्पगुच्छाहरु अर्पण गर्ने गरिन्छ।
संस्था सुधारका लागि पृष्ठपोषण दिन बोलाइएका अतिथिलाई उच्चसम्मानका साथ राख्नु सैद्दान्तिक रुपमै विरोधाभासपूर्ण कुरा हो। अतिथिको बोल्ने विषयमा पनि प्रोटोकल मिलाउनुपर्ने, सो नमिलाए भयंकर ठूलो गल्ति गरेको ठहरिने कुरीतिपूर्ण सोच आजका मितिसम्म जीवित छ।
कार्यक्रमको मूल विषयमा के कति छलफल हुन सक्यो भन्ने विषयमा खासै समीक्षा हुँदैन तर, अतिथिको स्वागत गरियो कि गरिएन, विषयसँग एक रति पनि मेल नखाने भए पनि पालो पुर्याउनका लागि अतिथिलाई बोल्न दिइयो कि दिइएन र अतिथि आउँदा जाँदा धनुष्टंकार गरियो कि गरिएन भन्ने कुराले कार्यक्रमहरुको गुणस्तर मापन गरिन्छ।
नागरिकका लागि आयोजना गरिएको कार्यक्रममा नागरिकले बोल्न पाए कि पाएनन्, बस्ने ठाउँ पाए कि पाएनन्, आफ्ना पीडा सुनाउन पाए कि पाएनन् भन्ने कुरामा कार्यक्रमको गुणस्तरको समीक्षा भएको बिरलै भेटिन्छ। आफूलाई परिवर्तनका धुरन्धर पक्षधर मान्ने संघसंस्थाहरुले आयोजना गरेको मञ्चमा अतिथिहरुको लामो लाइन हुँदा पनि सो मञ्च वारपार पुरुषले भरिनु लज्जास्पद कुरा हो। परिवर्तनकारीहरुका यस्ता मञ्चहरु किन प्रतिगामी बन्दैछन् भनि प्रश्न गर्नेको संख्या पनि न्यून छ।
यसलाई संस्कार मान्ने कि कुसंस्कार भन्ने हाम्रै हातमा छ। म यसलाई कुसंस्कार मान्छु र यस्तो प्रवृतिको नियमित विरोध गरिरहन्छु।
मञ्च र युवतीहरुको स्वागत नृत्य
प्रेमपिण्ड नामको नेपाली चलचित्र स्कुले केटाकेटी हुँदा हेरेको र डायमनशमशेरका अरु उपन्यासहरु पढ्दाको झझल्को हिंजोआज पनि सार्वजनिक मञ्चहरुमा देख्न पाइन्छ। मञ्चमा बसेका अतिथिहरुको एक दुई मिटर नजिकैको भागमा कहिले स्वागत गीतका नाममा र कहिले मनोरञ्जनका नाममा प्रायःजसो युवती र किशोरीहरुको नृत्य राखिएको हुन्छ। त्यो सभाका धेरै त दर्शकदीर्घाबाट हेरिरहेका हुन्छन् जुन सामान्यतया स्वाभाविक जस्तो पनि देखिन्छ। तर सो नृत्य हुँदा पनि मञ्च नछोडी नजिकैबाट हेरिरहेका अतिथिहरुको बसाई त्यति सहज र सुहाउँदो देखिँदैन। त्यसैमा पनि विशेष नृत्यका लागि महिलाहरुले प्रयोग गरेका कपडा र नजिकै बसिरहेका अतिथिको संयोजन मिलेको हुँदैन।
यसलाई सामान्य मान्नेको जमात ठूलो होला। तर, म यसमा विभेद र शोषणका स्पस्ट रेखा र मनोभावहरु देख्छु। जब यस्तो दृष्य देख्छु, तब राजा महाराजाहरुले मदिरालयमा नर्तकीहरुसँग रमाइलो गरिरहेका पटकथाहरु सम्झना आउँछन्। पहिलो विषय त स्वागत नृत्यका नाममा महिलालाई नाच्न लगाउनु आफैमा लैङ्गिक विभेद हो। यस विषयमा रुपान्तरण हुन जरुरी छ।
स्वागत नाच, अतिथिहरुलाई खादा तथा फूलमाला अर्पण, ब्याज वितरण आदि कार्यका लागि केवल महिला सदस्यहरु तोकिनु लैङ्गिक विभेदलाई थप मलजल गर्नु हो। यस्तो स्वागत सत्कारको भूमिका महिलाको मात्र हो भन्ने भाष्य भत्काई पुरुषले पनि त्यसो गर्न थाल्ने वातावरण बनाउनु पर्नेछ र यस्तै ब्लगहरुमार्फत राजनीतिज्ञ, संघसंस्था तथा अन्य “सामाजिक क्रान्तिका नायकहरु” सबैलाई दैनिक जीवनमा राजामहाराजाको शैली अब त त्याग्ने बेला भयो भनेर सम्झाइ राख्नुपर्ने छ।
ट्वीटर : joshihanshu
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।