काठमाडौं- नेकपा (एमाले) कर्णाली प्रदेश सभा संसदीय दलले पार्टीको ह्वीप उल्लंघन गरेर ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई कारबाही गर्न सिफारिस गरेको छ।
शुक्रबार साँझ बसेको दलको बैठकले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरि कारबाही गर्न एमाले कर्णाली प्रदेश कमिटीलाई सिफारिस गरेको सांसद करवीर शाहीले बताए।
एमालेको प्रदेश कमिटीले अब कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गर्नेछ। केन्द्रीय कमिटीले कारबाहीको निर्णय गरेपछि उनीहरूको सांसद पद पनि गुम्नेछ।
शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा एमालेका चार सांसदले विश्वासको मत दिएका थिए। पार्टीको निर्णयविपरीत माओवादी केन्द्रका नेता शाहीलाई मुख्यमन्त्रीका रूपमा विश्वासको मत दिएपछि उनीहरूलाई कारबाहीको सिफारिस गरिएको सांसद शाहीले बताए।
विश्वास र अविश्वासको मतको सन्दर्भमा, नीति तथा कार्यक्रम, बजेट र राष्ट्रिय महत्वमा प्रभाव पार्ने विषयमा पार्टीको ह्वीप नमाने स्वतः कारबाही हुने व्यवस्था छ।
एमालेका चार सांसदले 'फ्लोर क्रस' गरेसँगै मुख्यमन्त्री शाहीको पद भने जोगिएको छ। अब एक वर्षसम्म उनकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पाइने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।