फाइल तस्बिर।
काठमाडौं- सरकार र जनता समाजवादी पार्टी(जसपा)बीच मुद्दामा केन्द्रित भइ छलफल भएको छ। बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुर, कार्यदलका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाबीच छलफल भएको हो।
त्यसपछि बेलुका सरकारी र जसपा कार्यदलबीच मुद्दामै केन्द्रित भई छलफल भएको जसपा नेता लक्ष्मणलाल कर्णले बताए। छलफल सकारात्मक रहेको उनले बताए।
बिहीबार बेलुका बालुवाटारमा भएको छलफलमा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र जसपाका नेता कर्ण र शुक्ला सहभागी भएका थिए। दुवै पक्षबीच छलफल सरकारात्मक हुँदै गएको एमाले नेता नेम्वाङले बताए। 'सरकार र जसपाबीच छलफल जारी छ कुनै निर्णय भएको छैन। छलफललाई निरन्तरता दिने भन्ने छ’, नेम्वाङले भने।
जसपाले रेशम चौधरीको रिहा, मधेश आन्दोलनका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधन, नागरिकता सम्बन्धी विषयलाई प्रमुख मुद्दाको रूपमा अघि सारेको छ।
पहिलो प्राथमिकतामा चौधरीको रिहासहित २ सय ८ मुद्दा फिर्ताका विषयमा गृह मन्त्रालयमा पेश भइसकेको छ। मुद्दा फिर्ताका विषयमा के कति प्रगति भइरहेको छ भन्ने विषयमा बिहीबार छलफल भएको नेता कर्णले बताए।
‘अहिले छलफल भइरहेको छ। कुनै निर्णय भएको छैन। सबै मुद्दा केन्द्रित गरेर गृहमा पठाएको छ। कहिलेसम्म सहमति हुन्छ भन्न सकिँदैन’ कर्णले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।