काठमाडौं- नेकपा एमालेका सांसद झपट रावल बस्ने घरमा गएराति ढुंगा प्रहार भएको छ। बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा रावलले आफू बस्ने घरमा भएको ढुंगा प्रहारबारे जानकारी गराएका हुन्।
'राति १२ बजे ढोकामा ढुंगा हानियो। हामी उठ्यौं। घरबेटीहरुसँग कुरा गर्यौं। ५-१० मिनेटमा फेरि ढुंगा हानियो,' रावलले भने।
उनले आफूले सुरक्षाका लागि १०० र कोटेश्वर प्रहरी कार्यालयमा पनि फोन गर्दा पनि नउठेको बताए। पछि हनुमान ढोका प्रहरीलाई फोन गर्दा झन्डै ४५ मिनेटपछि मात्रै प्रहरी आइपुगेको बताए।
गृहमन्त्री रामबहादुर थापा पनि उपस्थित बैठकमा रावलले सुरक्षा निकाय परिचालन गर्ने कुरामा सुधार गर्नुपर्ने बताए। 'यही तरिकाले हामी सुरक्षित हुन सक्दैनौं,' उनले बताए।
राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा 'कारकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन र बेवारिसे शवको पहिचना एवं व्यवस्थापन' सम्बन्धमा छलफल थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।