काठमाडाैं- नेपाली फिल्मको इतिहास लामो छैन। विसं. २०२० मा मात्रै नेपालमा नेपाली कलाकार र नेपाली भाषामा पहिलो फिल्म बन्यो, आमा। त्यो फिल्म २०२१ मा प्रदर्शनमा आयो। नेपाली भाषामा खिचिएको पहिलो फिल्म ‘सत्य हरिशचन्द्र’ भएपनि नेपालमै खिचिएको पहिलो नेपाली भाषाको फिल्म भने ‘आमा’ नै हो।
एनालग प्रविधिबाट खिचिएको फिल्मलाई नेपाल चलचित्र विकास बोर्डले विभिन्न स्वदेशी तथा विदेशी संघसंस्थासँग मिलेर डिजिटाइज्ड गरेसँगै त्यसको पहिलो स्कृनिङ गरियो। फिल्मको करिब ४० मिनेट जतिमा राम्रोसँग आवाज नबुझिने र दृश्य पनि नबुझिने भएपनि त्यो पछिको भिडियो क्वालिटी राम्रो छ।
आमा फिल्ममा कलाकारहरू भुवन चन्द, शिव शंकर, हरिप्रसाद रिमाल, बिमला कुमारी, चैत्यदेवि सिंह, बसुन्धरा भुसालको अभिनय छ। नेपालको पहिलो फिल्म भएकाले यसमा हामी त्यो बेलाको समाज, समय र परिवेश बुझ्न पाउँछौं। तर, यो फिल्म व्यावसायिक हिसाबले प्रयोग गर्न पाइँदैन। त्यसैले यो फिल्मलाई हामी न कुनै च्यारिटी शोहरूमा हेर्न सक्छौं, न युट्युबमा नै। कुनै विशेष अवसरमा मात्रै हेर्न पाइने आमा फिल्मको कथा कस्तो छ त? यसलाई छोटकरीमा पढौं :
मानबहादुर (शिव शंकर) हर्कबहादुरका छोरा हुन्, जो लाहुरमा छन्। उनी १४ वर्षपछि आमालाई भेट्न नेपालको पश्चिम भागतिर जाँँदैछन्। फिल्मको सुरुवात कालो मुस्लो फालेर गुडिरहेको रेलबाट हुन्छ। माने (मानबहादुर) रक्सौल हुँदै वीरगंजसम्म रेलमा आउँछन्। त्यहाँबाट बस चढेर काठमाडौं आइपुग्छन्।
बस काठमाडौंको धरहरा अगाडिको खुला ठाउँमा रोकिन्छ। चिया चुरोट खाएर उनी दंग पर्दै काठमाडौंलाई नियाल्छन्। त्यो समयको रत्नपार्क र शहीदगेट हेरेर मुसुक्क हाँस्छन् र बाटो लाग्छन्।
भीर, पाखा-पखेराको बाटो छिचोल्दै एउटा घरमा बास बस्न पुग्छन्, जहाँ एक बुढी आमा आफ्नो जेठो छोराको व्यग्र प्रतीक्षामा हुन्छिन्। ती बुढी आमाको छोरा १० वर्षदेखि घर फर्किएका हुँदैनन्। भोलिपल्ट बिहान उनी सबेरै बास बसेको घरबाट निस्कन्छन्। बुढी आमालाई छोरालाई छिट्टै फर्कने सन्देश दिने आश्वासन पनि दिन्छन्।
गाउँ पुग्नै लाग्दा, केही युवायुवती आँखा छोपेर लुकामारी खेल्छन्। जहाँ आँखा छोपेर पकड्ने जिम्मा पाएकी हुन्छिन्, सानु (भुवन चन्द) ले। साथमा खेल्नेहरू हुन्छन्, भुन्टी (बसुन्धरा भुसाल), च्यान्टी र ल्वाङे। सानुले लुकामारीको क्रममा मानेलाई पकड्छिन्, गलत मान्छे परेको थाहा पाएलगत्तै लजाउँछिन्। यसरी फिल्ममा नायक नायिकाको पहिलो भेट हुन्छ।
सानु गाउँमा शोषक जमिनदारको एक्ली छोरी हुन्, जो मातृप्रेमबाट बञ्चित छन्। उनका बाबु जमिनदार आफ्नी एक्ली छोरी सानुको खुशीमा ज्यानै समर्पण गर्न तयार छन्। सानुको मिल्ने साथी तथा नातामा काकाकी छोरी पर्छिन् भुन्टी।
यता, मानबहादुर घर पुग्छन्। घरमा ताल्चा मारिएको हुन्छ। मानबहादुर आमा भन्दै बारम्बार चिच्याउँछन्, जसले गाउँ नै गुञ्जयमान हुन्छ। आमा भनेर चिच्याएको गाउँमा पञ्च सदस्य गजे काकाले पनि सुन्छन् र दौडिँदै माने भए ठाउँ आउँछन्।
उनै गजे काकाले आमा बितिसकेको कुरा सुनाउँछन्। त्यसपछि माने रुन्छन्। त्यही समयमा आफू १४ वर्ष अगाडि कसरी घर छाडेर भागेको थिएँ भन्ने सम्झन्छन्।
मानेका बाबु निकै जड्याहा हुन्छन्। उनी जाँडका लागि जे गर्न पनि तयार हुन्छन्। मानेलाई आमा (चैत्यादेवि सिंह)ले निकै माया गर्छिन्। एकदिन बाबु, आमाको मंगलसुत्र समेत छिनेर जाँड खान जान्छन् तर, फर्कंदा खाल्टोमा परेर अन्तिम सास मात्रै बोकेर फर्कन्छन्। श्रीमतीसँग माफी माग्छन् र मानेलाई आमाको हेरचाह राम्रोसँग गर्न भन्दै अन्तिम सास फेर्छन्।
बाबुले जाँड खाएर घर जग्गा सबै साहुको कब्जामा परिसकेको हुन्छ। त्यही ऋण चुक्ता गर्न माने रातिको समयमा आमालाई नभनेर खुसुक्क भाग्छन्। सम्झनामा उनी भारतको आर्मी बन्न गरेका प्रयास, लडाइँका दृश्य पनि देखाइन्छ। र, दृश्य फेरि वर्तमानमा आउँछ।
माने पञ्चायतको विरुद्धमा हुन्छन्। अब कहिल्यै नेपाल नफर्कने प्रण गरिरहँदा गजे काकाले नेपाल आमा नै सम्पूर्ण नेपालीको आमा भएको सम्झाउँछन्। त्यसपछि माने पञ्चायतसँग मिलेर गाउँ विकासमा होमिन्छन्। जसमा साथ दिन आइपुग्छिन् जमिनदारका छोरी सानु। यही बीचमा माने र सानुको प्रेम पनि शुरु हुन्छ।
उता च्यान्टीले पनि मानेलाई आँखा लगाइरहेकी हुन्छिन्। उनी मानेसँग बिहे गर्न पाए लाहुर जान पाइन्थ्यो कि भन्ने सोचमा हुन्छिन्। तर, च्यान्टीलाई ल्वाङे. जो गजे काकाका छोरा हुन्, उसले आँखा लगाइरहेका हुन्छन्।
यसरी कथा अगाडि बढ्दा, माने र सानुको प्रेम सफल होला कि विफल? ल्वाङेले च्यान्टीसँग बिहे गर्न पाउलान् कि नपाउलान्? फिल्मको क्लाइमेक्स त्यसमै केन्द्रित छ।
कहाँ त्यो बेलाको आमा, कहाँ आजका फिल्म !
नेपालमा खिचिएको नेपाली भाषाको पहिलो फिल्म आमा २ घण्टा ३ मिनेट लामो छ। फिल्ममा त्यो समयको पञ्चायत शासन, प्रजातन्त्र दिवस लगायतलाई देखाइएको छ। नेपाल आमालाई सबै मिलेर माया गर्नुपर्ने बताइएको छ।
अहिले फिल्ममा चुम्बन अपरिहार्यजस्तै छ। यस्ता दृश्य राख्दा पनि दर्शकले नायक नायिकाको प्रेम अनुभूति गर्न सक्दैनन्। आमा फिल्ममा नायकले नायिकालाई ‘तिमी’ भन्दा पनि काँडा उम्रन्छ। दर्शकले आँखाबाट दर्शाइएको प्रेम, बोलाइ, लजाइ सबैमा प्रेमको अनुभूति गर्नसक्छन्।
फिल्ममा गीतहरू पनि राष्ट्रप्रेमका धेरै छन्। तारादेवी र शिव शंकरको आवाजमा रहेका गीतहरू निकै कर्णप्रिय छन्। 'हेर हेर यही हो हाम्रो जन्मभूमि नेपाल आएर, जबसम्म यी दुई हात छन् किन अर्काको भर पर्दछौ, सुन्दर शान्त हिमाली देश, पञ्चै हो, यो देश बनाइदेऊ' लगायतका गीत फिल्ममा छन्।
नेपाल चलचित्र विकास बोर्डले रिलबाट निकै मिहिनेत गरेर एउटा सुन्दर उपहार नेपाली कला क्षेत्रलाई दिएको छ। फिल्म अध्ययन गरिरहेका तथा नेपाली फिल्मको इतिहासमा रूचि राख्ने सबैले फिल्म ‘आमा’ हेर्न जरुरी छ।
पहिलो नेपाली फिल्म भएपनि यसको खिचाइ निकै सुन्दर छ। ब्ल्याक एण्ड ह्वाइटमा खिचिएको फिल्मलाई डिजिटल बनाइएसँगै कुनै हलिउड फिल्म हेरिरहेको झल्को दिन्छ। फिल्ममा 'इमोसन' भरिपूर्ण छ। कलाकारको अभिनय पनि उस्तै अब्बल।
फिल्मको केन्द्रीय द्वन्द्वमा गाउँको जमिनदार र इमान्दार पञ्चेको लडाइँ देखाइएको छ। साथै, छोरीलाई 'मान्छे नगन्ने' त्यो समयको समाजमा पनि बाबुले छोरीको हरेक निर्णय मानेर फिल्म नारीप्रधान बनाइएको छ।
फिल्ममा समावेश गीतले आनन्दित त बनाउँछ तर, एउटै गीत १० मिनेटसम्म लामो हुँदा केही ठाउँमा अल्छि पनि लाग्छ। समग्रमा नेपालमा बनेको पहिलो फिल्म आमा अब्बल छ। लाग्छ, त्यो बेलामा बनेको फिल्म जत्तिको गुणस्तरीय फिल्म आजको समयमा पनि बन्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।