काठमाडाैं- बागलुङको बडीगाड गाउँपालिका-१० बल्देधुरीमा दुई जना युवाको हत्या भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको गहिरो अनुसन्धान तथा दोषीहरूलाई अविलम्ब पक्राउ गर्न माग गरेका छन्।
'घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानुनी कारबाही अघि बढाउन नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ', प्रवक्ता शर्माले भनेका छन्।
बागलुङको बल्देधुरीमा आइतबार होली खेल्ने क्रममा भएको झडपमा निसिखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक नेपालीको मृत्यु भएको थियो। उनीहरूको शव सडकभन्दा ५ सय मिटर तल भेटिएको थियो।
दुवै युवाको मृत शरीर भीरबाट करिब ५ सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भीरबाट धकेलेर हत्या गरिएको हुन सक्ने कांग्रेसले बताएको छ। मृतक कुँवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य समेत रहेका बताइएको छ।
'होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरूलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ', कांग्रेस प्रवक्ता शर्माले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।