काठमाडौं- प्राध्यापक कृष्ण खनालले राजनीतिको बल किन अघि बढ्न सकेन भन्ने प्रश्न दलका शीर्ष नेताहरूलाई राखेका छन्। बृहत् नागरिक आन्दोलनअन्तर्गत प्रज्ञा डबलीमा शनिबार आयोजित ‘नागरिकको प्रश्न दलहरूको जवाफ’ कार्यक्रममा उनले उक्त प्रश्न राखेका हुन्।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर वक्ताका रूपमा उपस्थित भएका छन्।
‘हामी सबैलाई लागेको छ, राजनीति किन चलायमान हुन सकेका छैन। प्रतिनिधिसभा पुनर्स्थापना भएको २४ घन्टाभित्र गति लिने आश हामीलाई लागेको थियो। तर, यत्तिका दिनसम्म पनि केही भएको छैन,’ प्राध्यापक खनालले प्रश्न गरे, ‘२४ घन्टामा राजनीतिले कायपलट गर्ने गरेको छ। नेपालमा पनि हामीले यो देखेका छौं। हामी सबैलाई आन्दोलनमा धकेल्ने केपी शर्मा ओली अहिले पनि कुर्सीमा छन्। संसद् सुरू भएपछि उहाँलाई कठालो समातेर निकाल्ने अपेक्षा गरेको थियो। तर, किन यो हुन सकेन?’
माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोबारे पनि उनले प्रश्न गरे। ‘ओलीको मात्र नैतिकताको प्रश्न गर्दा तपाईंहरूको पनि नैतिकतामाथि प्रश्न उठेको छ। देश विदेशका सबै नेपालीले यो चासो राखिरहेका छन्। किन राजनीतिको बल अघि बढेन? कतै यो हलो दुई ढुंगाको तरूलमा अड्किएको त छैन?,’ खनालको प्रश्न छ, ‘हाम्रो आत्मनिर्णयको अधिकार कमजोर रहेछ भनेर केही दिनअघि माओवादी केन्द्रका अध्यक्षले भन्नुभएको थियो। त्यो के हो? तयारी चाउचाउझैँ पस्केर खाने लोकतन्त्रमा हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।