काठमाडौं– सुपर एट अन्तर्गत दोस्रो खेलमा भारतले जिम्बाब्वेविरुद्ध ७२ रनको जित निकालेको छ । पहिले ब्याटिङ गर्दै भारतले दिएको २५७ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वे २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रनमा समेटियो ।
जिम्बाब्वेका लागि ब्राइन बेन्नेटले सर्वाधिक ९७ रनको अविजित पारी खेले । यस्तै सिकन्दर राजाले ३१, टडिवान्से मारुमानीले २० र टोनी मयुन्गाले ११ रन बनाए ।
भारतका लागि बलिङतर्फ अर्शदीप सिंहले सर्वाधिक ३ विकेट लिँदा वरुण चक्रवर्ती, अक्षर पटेल र शिवम दुवेले १/१ विकेट लिए ।
त्यसअघि भारतले २५६ रनको स्कोर बनाएको थियो । टी–२० विश्वकप इतिहासमा सर्वाधिक रन बनाउनबाट मात्र ४ रनले चुक्यो ।
यो रेकर्ड श्रीलंकाको नाममा छ । सन् २००७ को विश्वकपमा श्रीलंकाले केन्याविरुद्ध २६० रनको स्कोर बनाएको थियो ।
भारतका लागि आज अभिषेक शर्मा र हार्दिक पाण्ड्याले अर्धशतक प्रहार गरे। अभिषेक शर्माले ३० बलमा चार छक्का र चार चौकाको सहयोगमा ५५ रनको पारी खेले ।
यस्तै हार्दिक पाण्ड्याले मात्र २३ बलमा चार छक्का र २ चौका प्रहार गर्दै अविजित ५० रन बनाए । अर्का ब्याटर तिलक वर्माले पनि आक्रामक पारी खेल्दै मात्र १६ बलमा चार छक्का र तीन चौकाको सहयोगमा अविजित ४४ रन बनाए ।
भारतले पहिलो पावर प्लेमै मात्र १ विकेटको क्षतिमा ८० रन बनाएको थियो । सञ्जु श्यामसनले २४, इशान किशनले ३८ र कप्तान सूर्यकुमार यादवले ३३ रन बनाए ।
जिम्बाब्वेका लागि रिचार्ड नागरभा, ब्लेसीङ मुजरबानी, टिनटेन्डा मपोसा र कप्तान सिकन्दर राजाले १/१ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।