काठमाडौं- दलित समुदायका नेताहरुले देशमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि युवाको सक्रिय भूमिका हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
५६औँ अन्तर्राष्ट्रिय जातीभेद तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा जागरण मिडिया सेन्टर र युथ एड्भोकेसी नेपालद्वारा यहाँ शुक्रबार आयोजित ‘जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि युवाको भूमिका’ विषयक अन्तरक्रियामा नेताहरुले सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि दलित समुदायको आर्थिक विकासमा जोड दिए।
युनाइटेड नेसन जागरण मिडिया सेन्टर र युथ एड्भोकेसी नेपालद्वारा शुक्रबार नै आयोजित ‘शिक्षामा दलितः चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा वक्ताहरुले शिक्षामा दलित समुदायलाई बढाउनका लागि राज्यले छात्रवृत्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिए। सोही अवसरमा डा. विद्यानाथ कोइरालाले सबैका लागि शिक्षा भनिए पनि आर्थिक, सामाजिकलगायत विभिन्न कारणले दलित समुदाय पछाडि परेको बताए।
युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक अधिकार सुनिश्चितताका लागि दलित र गैरदलित समुदायबीच एकता हुनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा सहभागी युवाहरुले युवा नै परिवर्तनका सम्वाहक भएकाले समाजमा रहेका कुरीति, अन्धविश्वास, विकृति, विसङ्गति तथा जातीय विभेदविरुद्ध युवाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उनीहरुले परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्ने भन्दै समाजमा रहेका हानिकारक परम्पराविरुद्धको अगुवाइ युवाहरुले गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।