फाइल तस्बिर
काठमाडौं- नेकपा एमालेका सांसद शेरबहादुर तामाङले पार्टीले आधिकारिक रुपमा बोलाउने बैठकमा स्थान महत्त्वपूर्ण नहुने बताएका छन्। शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकपछि उनले पत्रकारहरुसँग कुरा गर्दै स्थानको बारेमा धेरै चर्चा गर्नुपर्ने जरुरी नभएको बताएका हुन्।
'स्थान कहाँ थियो भन्ने महत्त्वपूर्ण कुरा भएन। पार्टीको आधिकारिक रुपमा पार्टी अध्यक्ष कहाँ छ, पार्टी अध्यक्षले कहाँ बैठक डाकेको छ, त्यो आधिकारिक कुरा हो। पार्टीको संसदीय दलको नेताले सडकमै डाक्यो भन्ने हामी सडकमै उपस्थित हुन्छौं,' उनले भने।
सांसद तामाङले बालुवाटारमा बैठक बस्ने कुरा पहिलोपटक नभएको बताए। 'कुनै बेला बालुवाटारमा अरु प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यतिबेला पनि बैठक बस्थ्यो,' उनले भने, 'पार्टीको आधिकारिक संस्था, अध्यक्ष वा संसदीय दलको नेताले कहाँ बैठक डाकेको छ, त्यहाँ हुने बैठकलाई, स्थान विशेषलाई लिएर कुनै ज्ञापनपत्र वा भनाइ राखिराख्नुपर्छ जस्तो लाग्दैन।'
आजै बालुवाटारमा बसेको संसदीय दलको बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु उपस्थित भएका थिएनन्। बरु सो पक्षका तीन दर्जन सांसदहरुले बालुवाटारमा बोलाइने बैठकको आलोचना गर्दै प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई सम्बोधन गरेर पत्र बुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।