काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुले तत्कालीन माओवादी शक्तिहरुबीच एकता गरेर जानुपर्ने सुझाव दिएका छन्। आइतबारको केन्द्रीय कमिटी बैठकमा सातवटै प्रदेशका पदाधिकारीसहित प्रदेश सम्पर्क कमिटी, विदेश विभाग र विशेष कमिटीको रिपोर्टिङ गर्ने क्रममा नेताहरुले यस्तो सुझाव राखेका हुन्।
प्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्लेले विभिन्न पक्षमा छरिएर रहेका माओवादीहरुको एकता गरेर जानुपर्ने सुझाव राखेको केन्द्रीय सदस्य सुदन किरातीले बताए। काफ्लेले एकतादेखि विभाजनसम्मको संगठनात्मक स्थितिको रिपोर्टिङ राख्दै विभिन्न शक्तिमा विभाजित माओवादीलाई जोडेर बृहत कम्युनिस्ट एकतामा जानुपर्ने धारणा राखे।
यस्तै प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहले नेकपा विभाजनपछि मधेसमा माओवादीलाई असर परेको धारणा राखे। प्रदेश २ को पार्टी संगठनको अवस्थाबारे साहले जानकारी दिएका थिए।
बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले आफ्नो प्रदेश केन्द्रसँग जोडिएकाले त्यति संगठन बिग्रिनसकेको जानकारी गराए। पार्टी विभाजन हुँदा संगठनमा सामान्य असर परे पनि ठूलो क्षति नभएको उनले बताएका थिए। दाहालले माओवादी केन्द्रलाई संगठित गरेर जानेभन्दा विभिन्न शक्तिमा छरिएका माओवादी शक्तिको एकतामा जोड दिनुपर्ने धारणा राखे।
यस्तै गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले नेकपा विभाजनपछि अन्य प्रदेशको तुलनामा एमालेमा कम भएको कुरा रिपोर्टिङ गरेका थिए। लुम्बिनी प्रदेशकी अध्यक्ष ओन्सरी घर्ती, कर्णार्ली प्रदेशका सचिव मायाप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशका सचिव नेपबहादुर चौधरीले पार्टी संगठन कमजोर भएको भन्दै जनयुद्धकालीन माओवादी शक्तिहरु एक हुँदै बृहत कम्युनिस्ट एकतामा जानुपर्ने धारणा राखेको नेता किरातीले बताए।
उपत्यका विशेष कमिटीका इन्चार्ज लिलामणि पोखरेलले केपी ओली पार्टीबाट गए पनि उनको प्रवृत्ति बाँकी नै रहेको धारणा राखे। ‘केपी ओलीको साथ छुट्यो। ओली पार्टीबाट गए,’ पोखरेलले भने,‘तर, पार्टीमा ओलीप्रवृत्ति बाँकी नै छ। त्यो सबैले म म भनेर त्यागौँ त्यसपछि मात्रै पार्टी बन्ने प्रक्रियामा जान्छ।’ पार्टीमा विधि र पद्धतिलाई अंगीकार गर्दै व्यवस्थित र चुस्त संगठन बनाएर जानुपर्ने पोखरेलले सुभाव दिए।
यी हुन् बैठकका अजेण्डा


आइतबारको केन्द्रीय कमिटी बैठकमा ६ वटा अजेण्डा पेस भएका थिए। जसमध्ये पहिलो- श्रदाञ्जलि दिने, दोस्रो- केन्द्रीय कार्यालयको तर्फबाट सम्बोधन, तेस्रो- प्रदेश कमिटीका प्रतिनिधिबाट छलफल, सुझाव र टिप्पणी, चौथो- संगठनात्मक कामका विषयमा, पाँचौं- कार्यकर्ता भेला र छैटाैं विविधमा पार्टीको नाम परिवर्तन, एकता र रामवृक्ष यादवको सालिकलगायत थिए।
आइतबारको बैठकमा पहिलो, दोस्रो र तेस्रो अजेण्डामा मात्रै छलफल भएको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीको नाम राख्ने विषयमा ध्यान नदिँदा कस्तो अप्ठ्यारो हुन्छ भन्ने विषयमा आफ्ना कुरा राखेका थिए। अब पार्टी निर्माण गर्दा कानुनी पक्षलाई राम्रोसँग केलाउने उनले बताएका थिए। पार्टी निर्माण गर्दा कानुनी विषयलाई समान्य ठान्दा दु:ख पाएको विषयसमेत प्रचण्डले राखेको बैठकमा सहभागी एक नेताले बताए।
बैठकमा पार्टीको केन्द्रीय संगठनको अवस्थाबारे सचिवालय सदस्य श्रेष्ठले जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।