काठमाडौं- देशमा कोभिड-१९ को महामारी सुरु हुनुभन्दा अगाडि वर्षमा एक सय भन्दा धेरै चलचित्र बन्ने गरेका थिए। कोरोनाको त्रास कम भएसँगै विस्तारै चलचित्र छायांकन हुन थालेका छन्। हलहरू खुल्न थालेका छन्। तर, चलचित्र क्षेत्र लयमा फर्किन समय लाग्ने देखिन्छ।
यद्यपि, छायांकन भएका सबै चलचित्र हलमा लाग्दैनन्/लाग्न पाउँदैनन्। हलमा लागेका चलचित्र पनि धेरै दिन टिक्दैनन्। नेपालमा यस्ता चलचित्र पनि बन्ने गरेका छन्, जसले हलमा खासै स्थान पाउँदैनन्। तीन हुन् विभिन्न जातजाति र उनीहरूको मातृभाषामा बनेका फिल्म।
शेर्पा भाषामा बनेको फिल्म ‘कर्मा’ केही समयअघि युट्युबमा सार्वजनिक भयो। फिल्ममा नेपाली भाषा बोल्ने कलाकार मिथिला शर्माको पनि अभिनय देख्न सकिन्छ। केही ठाउँमा बाहेक धेरैजसो संवाद शेर्पा भाषामा छन्। साथै, ‘सबटाइटल’ पनि राखिएको छ। अहिलेसम्म यो फिल्मलाई ८३ लाख पटक हेरिएको छ। फिल्म निकै मौलिक कथावस्तुमा तयार पारिएको छ।
‘कर्मा’जस्तै मातृभाषामा बनेका फिल्मले हलमा ठाउँ पाउँदैनन्। यी र यस्ता फिल्महरु विभिन्न देशमा ‘च्यारिटी शो’ गरिन्छ। र, हराउँछन्। केही फिल्मले अन्तर्राष्ट्रिय अर्वाड समेत हात पार्छन्। तर, धेरैजसो गुमनाम नै बन्छन्।
विदेशमा देखाइने र विभिन्न अवार्डहरुमा मनोनयन हुने यस्ता मातृभाषामा बनेका फिल्मले नेपालका हलको मुख भने देख्न मुश्किल पर्छ। कोरोना महामारीअघिका वर्षमा करिब ५०–६० को हाराहारीमा मातृभाषाका फिल्म बन्ने गरेको तथ्यांकले देखाउँछ। तर, यति धेरै संख्यामा बन्ने फिल्म चलचित्र बिकास बोर्डमा भने कमै दर्ता हुने गरेका बताउँछन् बोर्डका अध्यक्ष दयाराम दाहाल।
दर्ता मात्रै कम संख्यामा हुने हैन, हलमा पनि कमै फिल्मले मात्रै मौका पाउँछन्। दर्शकको दायरा सानो भएकाले पनि हुनसक्छ, वितरकको ध्यान यस्ता चलचित्रमा खासै नजाने बताउँछन्, फिल्म लेखक तथा निर्देशक नविन सुब्बा।
सुब्बाका अनुसार, सानो बजेटमा बनाएको फिल्म दर्ताका लागि काठमाडौं नै आइपुग्नुपर्ने र बोर्डमा हलमा चल्ने फिल्म जत्तिकै शुल्क तिरेर दर्ता गर्नुपर्ने भएकाले यो निकै झन्झटिलो छ।
उनले भने, ‘उदाहरणका लागि, सानो बजेटमा गुरुङ भाषामा पोखरामा बन्दै गरेको चलचित्र दर्ता गर्न काठमाडौं आइपुग्नुपर्छ । करोड लगानीको नेपालीभाषी चलचित्र र लाखमा बनाइने आदिवासी मातृभाषाका चलचित्रको दर्ता र सेन्सर शुल्क एउटै छ ।’
सेन्सरको आधारभूत मान्यता नेपालीभाषी चलचित्र र अरू मातृभाषाका चलचित्रबीच फरक हुनुपर्ने उनको भनाइ छ।
उनका अनुसार, परम्परागत नैतिक मनोविज्ञान र विचार पद्धतिका आधारमा मातृभाषाका चलचित्रको सेन्सर गर्न मिल्दैन। आदिवासी जनजातिको सामाजिक–सांस्कृतिक विचार पद्धति र सांस्कृतिक सौन्दर्य बुझ्ने व्यक्तिहरू सेन्सर बोर्डमा हुँदैनन् ।
यता, आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनावारले मातृभाषामा बनेका चलचित्रलाई नेपाली फिल्म क्षेत्रले स्वीकार्न नसकेको गुनासो गरे। उनका अनुसार आदिवासी मातृभाषाका चलचित्र बन्न २०४६ को परिवर्तन कुर्नुपर्यो । पछिल्लो समय भने तामाङ, गुरुङ, थारू, मगर, राई, लिम्बू, शेर्पा, नेवार, राजवंशी, सुनुवार, शेर्पा, धिमाल, याख्खा, माझीलगायतका मातृभाषामा चलचित्र बन्ने गरेका छन्।
त्यसो त, नवीन सुब्बाको संयोजकत्वमा चलचित्र बिकास बोर्डअन्तर्गत बनेको आदिवासी मातृभाषी चलचित्र प्रवर्द्धन बोर्डले अपेक्षाकृत काम गर्न सकेको छैन। ‘फिल्म जतिसुकै गतिलो बनाएपनि, सेन्सरका मानिसको आँखासँग आदिवासी चलचित्रको मेल हुँदैन’, काम गर्न नसक्नुको कारणबारे सुब्बा भन्छन्, ‘बुद्धलाई मान्नेहरुले गाइको मासु पवित्र मानेर खान्छन्। ती कुरा फिल्ममा आए सेन्सर लाग्छ। हिन्दुमा गौमुत्र चढाएजस्तै, अन्य आदिवासीहरुले रक्सी चढाउँछन्, त्यसैलाई पवित्र मान्छन्। तर, त्यस्तो दृश्य राख्नुपरे सेन्सर बोर्डले मद्यपान स्वास्थ्यका लागि हानीकार छ भनेर लेख्न लगाउँछ।’
यसै कुरालाई जोड दिन्छन् सुनुवार पनि। उनका अनुसार, भाषाभाषी र साँस्कृतिक विविधताले पनि आदिवासी तथा मातृभाषामा बनेका चलचित्रलाई काम गर्न समस्या परिरहेको छ।
नेपालभर करिब ६ हजार आदिवासी मातृभाषी चलचित्रकर्मी भएको दावी गर्ने आदिवासी चलचित्र महासंघका अध्यक्ष सुनुवार, आफ्ना लागि भिन्नै चलचित्र विकास बोर्ड चाहन्छन् । सेन्सर पनि सम्बन्धित समुदायबाटै हुनुपर्ने माग राख्छन् । चलचित्र प्रदर्शनमा सकारात्मक विभेद, मिनी र सामुदायिक हल निर्माण गरी नियमित प्रदर्शन व्यवस्थालगायतका उपाय प्रभावकारी बन्न सक्छन् ।
शीर्षक आदिवासी जनजाति झल्किने राख्ने, कथ्य र प्रस्तुति शैली हुबहु दक्षिण भारतीय चलचित्रको नक्कल गर्ने क्रम बढिरहेको आरोप पनि लाग्ने गरेको छ। तर, सुनुवार त्यसमा कमसेकम, बोलिको लवज, लवाइ खवाइ मौलिक रहेको बताउँछन् ।
यता निर्देशक रामबाबु गुरुङ भने सबैले बुझ्ने फिल्म बनाए भाषा र रहनसहनले फरक नपार्ने बताउँछन्। उनका अनुसार ओस्कार अवार्ड जित्ने फिल्म ‘प्यारासाइट’ भाषा बुझेर दिएको अवार्ड हैन। राम्रो फिल्म बने ‘सबटाइटल’ हेरेर पनि फिल्मलाई माया गर्न सक्ने दर्शक रहेको उनको टिप्पणी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।