फाइल तस्बिर
काठमाडौं- नेकपा एमालेसँग गठबन्धन गरी प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिने विषयमा दुवै दलका कार्यदलबीचको छलफल भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो।
एमालेले सरकारमा सहभागी हुन आग्रह गरेपछि जसपाले आफ्ना कार्यकर्ताविरुद्धका मुद्दा फिर्ताको मागलाई मुख्य रूपमा उठाएको छ।
बैठकमा जसपा नेताहरूमाथि लगाइएका मुद्दा गृह मन्त्रालयले यकिन गर्ने, जसपामा पनि थप गृहकार्य गर्ने र शनिबार पुनः बैठक बस्ने सहमति भएको छलफलमा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। 'आज बालुवाटारमा एमाले कार्यदलसँग छलफल भयो। छलफल सकारात्मक भएको छ। भोलि पनि छलफल हुन्छ,' नेता कर्णले भने।
छलफलमा जसपाका तर्फबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला सहभागी थिए भने एमालेबाट अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सहभागी थिए।
यसअघि बिहीबार जसपाका शीर्ष ५ नेताहरूसँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।