काठमाडाैं–चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई २–० गोलले पराजित गरेको छ। आत्मघाती गोलबाट पछि परेको एभर्टन दोस्रो हाफमा अर्को गोल खाँदै चेल्सीसँग पराजित भएको हो। सोमबार राति घरेलु टिम चेल्सीले खेलको ३१ औं मिनेटमा अग्रता बनाएको थियो।
एभर्टनका बेन गोडफ्रेले आत्मघाती गोल गरेपछि चेल्सीले १–० गोलको अग्रता बनायो। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकाल्यो। ६५ औं मिनेटमा जोर्गिन्होले गोल गरेपछि चेल्सीले एभर्टनलाई २–० गोलले हराएको हो।
त्यस्तै, सोमबार राति नै भएको अर्को खेलमा वेष्ट हामले लिड्सलाई २–० गोलअन्तरले पराजित गरेको छ। लिड्सविरुद्ध दुबै गोल वेष्ट हामले पहिलो हाफमा गरेको थियो।
जितसँगै चौथो स्थानमा रहेको चेल्सीको २८ खेलबाट ५० अंक भएको छ। एभर्टन भने २७ खेलबाट ४६ अंकसहित लिगको छैटौं स्थानमा छ।
वेष्ट हाम लिगको पाँचौं स्थानमा उक्लिएको छ। वेष्ट हामले २७ खेलबाट ४८ अंक बनाएको छ। लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ खेलबाट ६५ अंक छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ खेलबाट ५४ अंक हुँदा चौथो स्थानको लेस्टर सिटीको समान खेलबाट ५३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।