काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा सहभागिताका हिसाबले महिलाहरुको सहभागिता विश्वमै उदाहरणीय रहेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सव तथा १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बर अन्तर्गतको नेपाल महिला चेम्बरले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले यस्तो बताएका हुन्।
सो अवसरमा उपराष्ट्रपति पुनले सामाजिक राजनीतिक रुपान्तरणमा महिलाहरूको महत्वपूर्ण भूमिका रहे पनि त्यसकाे बास्तविक सम्मान हुन नसकेको बताए।
‘संविधानले महिलाहरूलाई समान अधिकार दिएको छ, सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको छ’, उपराष्ट्रपति पुनले भने, ‘विश्वमै नेपाल उदाहरणीय बनेको छ। तर कानुनले दिएका अधिकारको व्यवहारिक कार्यान्वयनका लागि अझ धेरै काम गर्न बाँकी छ।’
दिनानुदिन बलात्कारका घटनाहरू बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले अपराधीहरूलाई कानुनी कारबाही गर्न नसक्दा समाजमा असुरक्षा बढेको र अन्तर्राष्ट्रियस्तरमा मुलुकको छविसमेत धुमिल भइरहेको बताए।
‘कुनै पनि समाजमा महिलाहरूको अवस्था कस्तो छ भन्ने आधारमा उक्त समाजको प्रकृति र चरित्र थाहा हुन्छ’, उनले भने। महिलाद्वारा सञ्चालित उद्दमहरूको प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाद्वारा सञ्चालित फर्म तथा व्यावसायिक प्रतिष्ठानहरूलाई करमा विशेष छुट दिन आग्रह गरे। कृषि तथा जलविद्युत क्षेत्रमा जस्तै महिला सञ्चालित उद्यम व्यवसायहरूलाई बैंकहरूले ब्याजदर घटाउने गरी सरकारले नीति ल्याउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए।
सरकारले महिलाद्वारा सञ्चालित व्यवसायलाई १५ लाखसम्म बिनाधितो ऋण दिने नीति लिए पनि विभिन्न झन्झट बेहोर्नुपरेको उल्लेख गरे। ‘जति दिने हो, बिना झन्झट, स्वतःस्फुर्त पाउने व्यवस्था मिलाउन अनुरोध गदैछौं’, उनले भने।
नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले राजनीतिक आर्थिक अधिकार पाए पनि कार्यान्वयन फितलो हुँदा महिलाहरू लाभान्वित हुन नसकेको बताइन्। महिलालाई आर्थिक रुपले सक्षम नबनाइ कानुनी अधिकारको पूर्ण उपयोग हुन नसक्ने उनको तर्क थियो। महिलाहरूले गर्ने व्यवसायमा कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न उनले माग गरिन्। नेपाल महिला चेम्बरले महिलाहरूको क्षमता अभिवृद्धिमा कार्य गरिरहेको उल्लेख गर्दै उनले नीतिगत सुधारमा पनि आफूहरूले आवाज उठाइरहेको बताइन्।
उक्त अवसरमा उपराष्ट्रपति पुनले नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सव तथा १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयरको पनि उद्घाटन गरे। सोमबारदेखि सुरु भएको व्यापार मेला बुधबारसम्म चल्नेछ।
व्यवसायीहरू सम्मानित
१११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला चेम्बरले पाँचजना महिला व्यवसायीहरूलाई सम्मान गरेको छ। आईटी एन्ड इन्नोभेसन अवार्डबाट अदिति गोयल सम्मानित भइन्।
यस्तै बिजनेस मोटिभेटर अवार्डबाट राधालक्ष्मी श्रेष्ठ, एग्रो आन्टरप्रेनर अवार्ड झापाको कन्काई महिला ग्रुपले प्राप्त गरेको छ। यस्तै महिला उद्यमी अवार्ड रेखा चौधरी शर्माले पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।