‘२३ वर्षकी थिइ रे, ३० वर्षकी थिइ रे! होइन,७४ वर्षकी हुनुहुन्थ्यो रे! काँ हुनु, १४ वर्षकी मात्र थिइन् रे! होइन नि, १२। ए होइन, ७ वर्ष। होइन होइन, ६ वर्ष। कि ५ वर्षकी हो र?’
‘धर्मगुरुलाई देखाउन गाकी थिइ रे, त्यसरी एक्लै जाने हो त ! खुब काम गर्न गएकी थिइन्, रातिराति जान्ने भएर। त्यै खोजेकी? हो यही भएर म मेरो छोरीलाई एक्लै कतै जान दिन्नँ! आमा चैँ के भाको, त्यसरी छोरी अरुलाई छोड्ने हो? त्यसरी शिक्षकसँग एक्लै कोठामा जान दिने हो?’
‘प्यान्ट लगाकी थिइ रे! कुर्ता सुरुवाल लगाएकी थिइ रे! साडीचोलो पो लगाको थ्यो रे त! स्कुल ड्रेस थ्यो रे जिउमा! आमाले माया गरेर ल्याइदेको फ्रक लगाकी थिइ रे! हजुरआमाले नातिनीलाई माया गरेर सिलाइदेको दौरा सुरुवाल लगाको थ्यो रे!’
राजसभामा पाण्डवहरुले जुवा खेली आफ्नो पत्नी द्रौपतीलाई समेत दाउ लगाइ उनको चिरहरण भैरहँदा न त्यो सभामा उपस्थित आचार्य, न नीति बनाउने व्यक्ति, न स्वयं उनका पतिहरुले उनलाई बचाउन प्रयास गरे। उल्टै महाभारत हुनुको कारण नै द्रौपतीलाई देखाउन खोजे। हामी अहिले त्यस्तै समाजमा बाँचिरहेका छौं। बलात्कारको शिकार हुनेको तस्बिरदेखि उनका आमाबुबाको समेत परिचय सञ्चारमाध्यममा खुलाइन्छ। तर, बलात्कारी स्वयंको अनुहार पनि बाहिरिँदैन। यहाँ बलात्कारी भन्दा बलात्कृतको इज्जतमा दाग लाग्छ।
मैले कतै देखेको थिएँ, ‘स्त्रीको शरीर पुरुषहरुको उत्सुकताको विषय हुन्छ, तर पुरुषको शरीर स्त्रीहरुको लागि उत्सुकताको विषय हुँदैन!’ यो सब किन हुन्छ भने महिलालाई सानैदेखि आफ्नो ‘मर्यादा’ सिकाइएको हुन्छ। त्यो मर्यादा के हो थाहा छैन, तर त्यो सोचाइ मानसिक भेदको कारण मात्र उत्पन्न हुन्छ। नभए मलाई भन्नुहोस्- त्यो ५–६ वर्षका नानीहरुले आफ्नो काका, मामा, बुवालाई कसरी उत्साहित बनाए?
वुमन्स रिह्याबिलिटेसन सेन्टर नाम गरेको संस्थाका अनुसार गत माघ महिनामा मात्र देशभर १२० जना महिला विरुद्धका हिंसाका घटना दर्ता भएका छन्, जसमा २८ बलात्कार र ६ वटा बलात्कार प्रयासका घटना दर्ता छन्। यी त आफैं दर्ता गरिएका घटना हुन्। यसले के सोच्न बाध्य बनाउँछ भने बाहिर नआएका, इज्जतका लागि सौदा गरिएका, पैसा र पावरले थिचिएका वा दबाइएका, आफूमाथि भइरहेको कुरा कसैलाई भन्न नसकेका केस अरु कति होलान्?
मुलुकी फौजदारी संहिता २०७४ को दफा २१९ (२) अनुसार कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर पनि अठार वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मनिन्छ। उपदफा ३ को व्यवस्था अनुसार जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय तोकिएको छ।
जसअनुसार १० वर्ष भन्दा कम उमेरको बालिका भए १६ वर्षदेखि २० वर्षसम्म कैद, १० वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकी बालिका भए १६ वर्षसम्म कैद, १४ वर्ष त्यसभन्दा बढी १६ वर्ष वर्ष भन्दा कम उमेरकी बालिका भए १२ देखि १४ वर्षसम्म कैद सजाय हुनसक्छ। त्यस्तै, १६ वा १६ वर्ष भन्दा बढी र १८ वर्ष भन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म कैद र १८ वर्ष वा १८ वर्ष भन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था संहितामा छ।
बलात्कारमा सजाय कम भएको भन्दै सजाय बढाउनुपर्ने आवाज उठेपछि सरकारले अध्यादेशमार्फत् सजाय बढाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन। त्यसो हुँदा पनि निकै थोरै महिलाले मात्र न्याय पाउनेछन्।
पीडितले न्याय नपाउने, पीडकले उन्मुक्ति पाउने अवस्थाले पनि त्यही देखाउँछ। अदालतसम्म पुगेका मुद्दामा पनि न्याय टाढा बनेको छ। अदालतमा आँखामा पट्टी बाँधेर, हातमा तराजु बोकेर राखिएको ‘न्यायको मूर्ति’को अर्थ निष्पक्ष न्याय दिलाउनु हो कि तराजुमा जसको शक्ति, पद र पैसा भारी हुन्छ त्यसलाई जिताउनु हो?
अरु त अरु, न्याय पनि बिक्न थालेपछि के बाँकी रहन्छ? हामीभित्रको मानव साँच्चै हराइसकेको हो? आफूलाई नपरी हामी अरुको लागि आवाज उठाउन नसक्ने नै हौँ त? एकचोटी आत्मादेखि मनन गरौं, आफ्नो छोरीचेली सम्झौं त! अझै कहिलेसम्म सहेर बस्ने? कहिलेसम्म पुरुषको दुष्कर्मको दोषी नारीलाई बनाउने? कहिलेसम्म आफ्ना छोरीचेलीलाई ज्यान गुमाउन बाध्य बनाउने? अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा हामी सबैले सोच्नुपर्ने, मनन् गर्नुपर्ने कुरा यही हो।
(नेपाल पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं स्कुल अफ लमा अध्ययनरत छन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।