काटमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्रको दोस्रो बजारमा सक्रिय लगानीकर्ताहरुको तथ्यांक सार्वजननिक गरेको छ। गत बिहीबार सम्मको तथ्यांकअनुसार ५ लाख ९४ हजार ८७९ जनाको धितोपत्र दलाल खाता (ब्रोकर अकाउन्ट) छन्।
जसमध्ये करिब आधाले अनलाइनमार्फत सक्रिय रुपमा कारोबार गरिरहेका छन्।
नेप्सेका अनुसार ४ लाख ४५ हजार ३५३ जनाले अनलाइन कारोबारका लागि खाता खोलेका भएपनि २ लाख २२ हजार ५६९ जनाले मात्र अनलाइनमार्फत सक्रिय रुपमा कारोबार गरिरहेका छन्।
यसरी सक्रिय रूपमा अनलाइन कारोबार गर्ने लगानीकर्ताहरू को संख्या ब्रोकर खाता भएका लगानीकर्ताहरुको ३७.४१ प्रतिशत बराबर हो।
नेप्सेको तथ्यांक हेर्दा पछिल्लो १ महिना अवधिमा मात्र ब्रोकर खाता खोल्ने र अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताहरुको संख्या उल्लेख्य रुपमा बढेको देखिन्छ।
माघसम्ममा ब्रोकर खाता भएका ३५ प्रतिशत लगानीकर्ताले मात्र पूँजीबजारको दोस्रो बजार अनलाइनमार्फत कारोबार गरिरहेका थिए। एक महिना अगाडि ५ लाख सक्रिय ब्रोकर खाताहरुमध्ये १ लाख ९६ हजारले मात्रै अनलाइमार्फत कारोबार गरिरहेका थिए।
अहिले ३० लाख ६२ हजार जनाले हितग्राही (डिम्याट) खाता खोलेका छन् भने धितोपत्रको प्राथमिक बजार (आइपिओ) मा अधिकतम साढे १४ लाख लगानीकर्ताले आवेदन दिएको तथ्यांक छ।
पूँजीबजारमा अनलाइन कारोबार बढेसँगै नेप्सेले पुँजीबजारको विस्तार र कारोबार प्रणाली लाई थप सहज बनाउनका लागि भन्दै लागु गरेको ‘पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली (नट्स) को प्रभावकारिता पनि बढ्दै गएको देखिएको छ।
नेप्सेले २०७५ कात्तिक २० गतेबाट नट्स प्रणालीको औपचारिक शुरुवात गरेको थियो। इन्टरनेटको माध्यामबाट संसारको जुनसुकै ठाउँबाट प्रणालीमा प्रवेश गरी धितोपत्रहरुको खरिद बिक्री आदेशबाट प्रविष्ट गरी वास्तविक समयमा कारोबार गर्न सकिने प्रणालीका रुपमा नट्स कार्यान्वयनमा ल्याइएको भएपनि यसको प्रभावकारिता अपेक्षाकृत भने देखिदैन।
नट्स सञ्चालनको शुरुवाती दिनमा डाटा डिस्प्ले, लगानीकर्ताको युनिक क्लाइन्ट कोड (युसिसि) जेनेरेसन, केवाइसी अद्यावधिक, डिएनए लगइन, नयाँ सुचीकरण भएका कम्पनीको पहिलो दिनको कारोबारमा समस्या जस्ता कारण देखिएपनि अहिले त्यस्ता समस्या नरहेको नेप्सले दावी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।