नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पार्टीका अन्य नेताको तुलनामा बढी जिल्ला भ्रमण गर्नेमा पर्छन्। २०७४ मंसिरमा भएको आम चुनावमा पराजित भए लगत्तैदेखि उनले १४औं महाधिवेशनमा सभापतिको दाबी गर्दै नेता-कार्यकर्तासँगको भेटलाई तीव्रता दिन थालेका हुन्। भेटघाटमा कार्यकर्ताको कुरा ध्यानपूर्वक सुन्ने र आफ्नो धारणा राख्ने नेतामा पर्छन्, उनी।
आफ्नो बानीलाई उनले कोभिड महामारी र लकडाउनमा पनि कायम राखे, शैलीमा केही परिवर्तन गर्दै। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसो विपक्षमा विभिन्न ठाउँमा पुगेर धारणा राख्ने र अन्तरक्रियामा सहभागी हुने सीमित नेताहरुमा पनि उनी नै थिए। यसैक्रममा उनले निकासका लागि 'अर्ली चुनाव'को चर्चा पनि चलाए। संसद पुर्नबहालीपछि संविधानमै टेकेर मुलुक चुनावतिर जानसक्ने उनको आकलन छ।
‘अर्ली चुनाव’बारे उनको बुझाइ के हो? कार्यकर्ताको पछिल्लो धारणा कस्तो छ? पछिल्लो गतिरोधमा कांग्रेस कहाँ उभिनुपर्थ्यो, कहाँ उभिएको छ, कांग्रेसको महाधिवेशन लगयतका विषयमा नेपाल लाइभका लागि किशोर दहाल, लिलु डुम्रे र प्रवीण ढकालले गरेको कुराकानीको सम्पादित अंशः
सम्भवतः तपाईं जिल्ला भ्रमण गर्ने र कार्यकर्ता भेट्ने कांग्रेस नेताको अग्रस्थानमा पर्नुहुन्छ। कोभिडअघि र अहिले उनीहरुको प्रतिक्रिया वा मनोबल कस्तो पाउनुहुन्छ?
कोभिडअघि जिल्ला भ्रमण गर्दा महाधिवेशनको ‘मुभ’मा म कार्यकर्ताकहाँ पुगेको थिएँ। उनीहरुको मप्रतिको ‘रेस्पोन्स’ उस्तै पाइरहेको छु। अहिले पनि घुम्न त घुमिरहेको छु तर कोभिडका कारण अलि कम गरेको छु। भिडभाड कम गरेर भेटघाट गरिरहेको छु। कोभिडअघि के हो, के हो, भन्ने थियो। अहिले कार्यकर्ताबाट राम्रो रेस्पोन्स पाइरहेको छु। कार्यकर्ताले शेखर सिरियस छ भन्ने बुझ्दै गएका छन्।
प्रतिनिधि सभा विघटन र पुनर्वहालीपछि कार्यकर्ता र जनताको प्रतिक्रिया कस्तो पाउनुभयो?
पार्टीमा क्रियाशील सदस्यता वितरणको कार्य भइरहेको छ। साथै, संगठन समायोजनको कुरा पनि छ। क्रियाशील सदस्यता विवादका कुरा पनि आइरहेका छन्। पार्टी भित्रकै कुरा गर्दा यी कुरामा बढी केन्द्रित भएको पाएको छु। क्रियाशील र नवीकरण सदस्यता विषय उठेका छन्। कति जिल्लामा सदस्यता नवीकरण भएको छैन। कति जिल्लामा सभापतिबाटै रोक लगाइएको छ। कार्यकर्ताका चासो यिनै कुरामा छन्।
अर्को कुरा, कार्यकर्ताले वर्तमान राजनीतिक घटनाक्रम जान्न खोजिरेहका छन्। मिडिया र सोसल मिडियाका कारण पनि गाउँ तहका कार्यकर्ता सचेत भएका छन्। राजनीतिमा के भइरहेको छ भन्ने उनीहरुलाई थाहा छ। पुस ५ मा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति कांग्रेसमा आएका फरकफरक धारणा केलाएर उनीहरुले आफ्नो तरिकाले व्याख्या गर्ने भइसकेका छन्। घटनाक्रमलाई गाउँको कार्यकर्ताले पनि विश्लेषण गर्न सक्ने भएका छन्। मिडियाले गर्दा जनता तथा कार्यकर्ताको चेतना अत्यन्तै बृद्धि भएको छ।
पुस ५ कै कदमप्रति स्थानीय नेता तथा कार्यकर्ताको बुझाईं कस्तो पाउनुभयो?
प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक र असंवैधानिक भन्ने सबैले बुझेका छन्। अधिकांशको भनाइ संसद पुनःस्थापना हुनुपर्छ भन्ने नै थियो। केहीले भने कांग्रेस चुनावमा गए पनि फाइदै हुन्छ भनेका थिए।
संसद विघटनदेखि पुनःस्थापनासम्म आइपुग्दा कांग्रेस नेतृत्व पनि आलोचित भयो। तल्लो तहमा पनि अवस्था त्यस्तै थियो?
कार्यकर्ताको भनाइ नै माथि तपाईंहरु मिल्नुस् भन्ने हो। धारणा एउटै बनाउनुस् भन्ने हो। फरकफरक बोल्दा हामीलाई अप्ठ्यारो पर्छ भन्छन्, उनीहरु।
केही कार्यकर्तामा पुस ५ पछि जाँगर बढेको पाएँ। नेकपा फुटे, हामी जित्छौं, ठूलो पार्टी हुन्छौं भन्ने उनीहरुमा थियो। उनीहरुलाई विस्तारै देशको परिस्थिति र संविधान बुझाउँदै गयौँ। संविधान नै जान सक्नेप्रति हामीले सचेत बनायौं। उनीहरुले पनि बुझ्दै गए। संविधान नै जाने हो भने त संसद् पुनःस्थापना हुनुपर्ने आवाज उठाए।
संविधान विपरीत भएको संसद विघटन बदर हुनुपर्छ भनेर कार्यकर्ताले बुझेछन् तर त्यही कुरा नेतृत्वले भने बुझ्न सकेनन् है?
केन्द्रीय नेताहरुले धेरै बुझेर पनि अप्ठ्यारो पर्ने रहेछ। कतिलाई कुर्सी र पावरको कुरा होला। तलको कार्यकर्तालाई त त्यसको मतलब हुँदैन नि। कांग्रेस अघि आओस् भन्ने चाहना हुन्छ। कम्युनिस्टहरुले दुःख दिएका छ नि उनीहरुलाई। स्थानीय तहमा पनि कांग्रेस कमजोर छ। यस्तो अवस्थामा नेकपा फुट्दा आफूहरुको भोट बढ्छ भन्नु त स्वभाविक हो नि।
कुर्सीप्रति अति मोह छ है मूल नेतृत्वमा?
संसदीय प्रणालीमा प्रतिपक्ष दललाई ‘वेटिङ गभर्मेन्ट’ पनि भनिन्छ। त्यस हिसाबले हेर्नुभयो भने त्यसलाई नौलो पनि भन्दिनँ। नेताहरुले सोचाइ पनि एक पार्ट हो। तर, संविधान नै गएर सरकारमा आउनुको तुक हुँदैन। पुस ५ को कदमलाई सही ठहर्याएर निर्वाचनमा जाऔं भनेको भए वैशाखमा निर्वाचन त हुने थिएन। अनि के हुन्थ्यो? एकथरी हाम्रै नेताले वैशाखमा निर्वाचन हुन्छ र प्रधानमन्त्रीले निर्वाचन गराउनुहुन्छ भनिरहनु भएकै थियो। मलाईचाहिँ वैशाखमा कुनै पनि हालतमा निर्वाचन हुन्छ जस्तो लागेको थिएन।
निर्वाचन आयोगले आजसम्म नेकपाको आधिकारिता दिन सकेको छैन। निर्वाचन कहाँबाट हुन्थ्यो? मूल नेतृत्वले नबुझेको पनि हुनसक्छ। छिट्टै निर्वाचन भए सरकारमा आउन सकिन्छ भन्ने दृष्टिकोण पनि हुनसक्छ।
तपाईंको मूल नेतृत्वसँग कुरा भएकै थियो होला। वैशाखमा निर्वाचन हुनसक्ने कारणचाहिँ के देखाउने गर्नुभएको थियो उहाँले?
प्रधानमन्त्री ओलीको डायनामिक पर्सानालिटी पनि छ। वैशाखमा निर्वाचन गराउन नसके त ५०/५५ वर्षको ओलीको राजनीतिक विश्वसनियता गुम्थ्यो। त्यसैले निर्वाचन गराउनुहुन्छ भन्ने थियो। निर्वाचन हुन सक्दैन भन्ने कुरा शीर्ष नेताले पनि बुझेको जस्तो लागेन। जे सुकै होस्, पुनःस्थापना भयो। राम्रो भयो। अब कुन रुपमा अघि बढ्छ, त्यो हेर्नु छ।
तपाईं कञ्चनपुरमा केही दिनअघि बोल्ने क्रममा नेकपा फुटे पनि कांग्रेसले जित्ने भ्रम नपालौं भन्नु भएको थियो। कांग्रेसले जित्न नसक्ने कुरालाई कुन आधारमा भन्नुभएको थियो?
कांग्रेस ‘मास बेस्ड’ पार्टी हो। कम्युनिस्टहरु ‘क्याडर बेस्ड’ पार्टी हुन्। मास बेस्ड पार्टीमा मतदाताहरु यताउता डाइभर्ट गरिरहेका हुन्छन्। चित्त बुझेन भने उनीहरुले भोट नदिन पनि सक्छन्। त्यस्तो कार्य क्याडर बेस्ड पार्टीमा हुँदैन। दुई कम्युनिस्ट फुटे भने उनीहरुकै या त ओली समूहलाई वा प्रचण्ड माधव समूहलाई मत दिन्छन्। कांग्रेसलाई दिँदैनन्।
कांग्रेसले महाधिवेशन नियमित समयमा गर्न सकेको छैन। संविधानले दिएको व्यवस्था अन्तर्गत थपिएको समयमा हामी छौं। महाधिवेशन नभएका कारण पनि कार्यकर्तामा शिथिलता छ। नेकपा दुई भए पनि हामी खुसी हुनुपर्ने जरुरत मैले देखेको छैन। संगठित हुन सकियो भने कांग्रेस मजबुत हुनसक्छ। आफू संगठित नहुने अनि नेकपा फुट्छ र जित्छौं भन्नु त राम्रो कुरा हुँदैन। नेकपा फुटेर जित्छौं भन्नु मुर्खता हो।
नेकपा विभाजनमा मूल नेतृत्वले नै लाभ देख्यो भन्न खोज्नुभएको?
मूल नेतृत्व मात्रै होइन। फुट्यो भने हामीलाई सजिलो हुन्छ भनेर धेरैले भनिराखेकै छन्। तर, मलाईचाहिँ त्यस्तो लाग्दैन। मासबेस्ड पार्टीको आधार भनेकै आम मतदाता हुन्। क्याडरको भोट कम्युनिस्टलाई नै हो। कम्युनिस्टको भोट कम्युनिस्टलाई नै हो।
कांग्रेसकै बलबुताले भन्दा पनि कम्युनिस्ट बिग्रिएर पार्टी बलियो हुन्छ भन्ने प्रवृत्तिप्रति तपाईंमा असन्तुष्टि देखियो नि?
त्यही प्रवृत्तिले कांग्रेस बिगारेको हो भन्ने लाग्छ।
आफ्नै बलमा पार्टी बलियो हुनका लागि केके सुधार हुनुपर्ला?
महाधिवेशनका लागि समय घर्किसकेको छ। भदौ अन्तिमसम्म हामीलाई अन्तिम समय छ। अधिवेशनले मात्रै कांग्रेसलाई बलियो बनाउँछ। कांग्रेसको महाधिवेशन जति छिटो समयमा हुनसक्छ, त्यति नै ऊर्जा प्राप्त हुन्छ।
पार्टी विधिसम्मत चल्नुपर्छ। भ्रातृसंस्थाहरुलाई चलायमान बनाउनुपर्छ। भ्रातृ संस्थाको अधिवेशन नभएको जुगौं बितिसक्यो। नेविसंघ, तरुण दल, महिला संघका महाधिवेशन भएन वा नयाँ व्यक्ति प्रवेश गराउने माध्यम बन्द गरायौं भने हामी जित्छौं भनी कसरी कल्पना गर्ने? नेकपा फुट्छ, अनि जित्छौं भनेर हुँदैन नि।
सभापतिको यो कार्यकालमा कति विद्यार्थी नेविसंघमा संगठित भए होलान्? यस कुरालाई गहन रुपमा कांग्रेसका साथीहरुले बुझ्नुपर्दछ। नेविसंघ, तरुण दल, महिला संघले अधिवेशन गरेर नयाँ नेतृत्व आउनुपर्यो नि। ५० वर्षको उमेरको व्यक्तिलाई नेविसंघको अध्यक्ष बनाइएको छ। अधिवेशवेशनका लागि समय दिएर पनि हुन सकेको छैन। अनि नेपाली कांग्रेस बढ्छ कसरी? पार्टीको महाधिवेशनअघि भ्रातृ संस्थाको अधिवेशन हुने सम्भावना छैन। त्यस लगत्तै २/३ महिनाभित्रै भ्रातृ संस्थाको अधिवेशन गर्नुपर्छ। त्यसपछि कांग्रेस फेरि जुर्मुराइहाल्छ।
फागुन ११ को सर्वोच्चको फैसलापछि धेरैलाई लागेको थियो, राजनीतिक गतिरोध अन्त्य होला। तर, त्यस्तो देखिएन। यो परिस्थितिप्रति तपाईंको भनाइ के छ?
'डेडलक' खुल्छ भनेर मलाई पनि सुरुतिर लागेको थियो। राजनीतिमा संस्कार र नैतिकता हुन जरुरी छ। प्रधानमन्त्रीले एउटा कदम चालिसकेपछि त्यसलाई कतिले स्विकार गरे, कतिले गरेनन्। संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत हो। पुनःस्थापनाको पक्षमा फैसला गरिदियो। प्रधानमन्त्रीलाई तपाईं गलत हुनुहुन्छ भनिदियो।
‘मोरल ग्राउण्ड’का आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो। मैले सोचेको पनि त्यही हो। उहाँले राजीनामा नदिएपछि डेडलक कायम छ। डेडलकका लागि नेकपा र निर्वाचन आयोग दुवै दोषी छन्। नेकपाभन्दा निर्वाचन आयोग झनै दोषी छ। आधिकारिता जे हो, त्यही निर्णय गर्नुपर्यो नि। सूर्य चिह्न फ्रिज गर्ने हो भने भन्नुपर्यो। नत्र, जसलाई दिने हो देऊ। मुलुकलाई डेडलकमा राख्न त पाइन्न नि।
सर्वोच्च अदालतले जटिल मुद्दालाई दुई महिनामा फैसला गर्न सक्छ भने निर्वाचन आयोगले किन सक्दैन? निर्वाचन आयोगले नसक्ने कुरा हो यो? निर्वाचन आयोगको 'मालाफाइड इन्टेसन' देखिन्छ। देशलाई बन्धक बनाउनमा कांग्रेसको त दोष छैन। नेकपाको पार्टी विभाजनतिर जानुपर्यो। होइन भने मिलेर जानुपर्यो। देशलाई बन्धक बनाउनचाहिँ पाइँदैन।
निर्वाचन आयोगको भूमिका शंकास्पद देखियो भन्न खोज्नुभएको हो?
देखिएन त? तपाईं आफैं भन्नुस्। दिग्गज दिग्गज पूर्वसचिवहरु नै हुनहुन्छ आयोगका पदाधिकारी। खै त निर्वाचनको एउटा सिम्बोल दिन किन दिनसक्नुभएन उहाँहरुले? उहाँहरुको इन्टेन्सन ठीक छ?
नेकपा र निर्वाचन आयोगका कारण गतिरोध उत्पन्न भएको तपाईंको तर्क रह्यो। नेकपाको विवादलाई औपचारिक रुपमै टुंग्याउन तपाईंहरुले पनि आग्रह गर्नुभएन नि?
कांग्रेसले निर्वाचन आयोगलाई नेकपा आधिकारिता छिटो टुंग्याउन भन्नुपर्ने हो। भनेको छैन।
विगतमा प्रधानमन्त्रीको राजीनामा उठाइरहने कांग्रेसले प्रतिनिधि सभा पुनःस्थापनापछि औपचारिक रुपमा राजीनामा दिनुपर्छ भनेर किन भन्न सकेन?
नैतिकताको आधारमा राजीनामा दिन सभापतिले भन्नुभएको छ क्यारे। पार्टी बैठकमा नै गरी राजीनामा नमागिए पनि सभापतिले भनेपछि पार्टीले राजीनामा मागेकै बुझ्नुपर्दछ।
गतिरोध अन्त्यका लागि कांग्रेसको भूमिका तथा अग्रसरता नदेखिएको त स्विकार्नुहुन्छ नि?
अहिलेको अवस्थामा हामीले ‘पर्ख र हेर’कै नीति लिनुपर्दछ। किनकि हामी विपक्षीमा छौं। दुइटै नेकपालाई हामीले अहिले ‘इन्गेज’ गर्नुपर्ने हुन्छ। हामीसँग संख्या कम छ। संसदमा गइसकेपछि संख्याको खेल त आउँछ आउँछ।
संख्या कम भएपनि नैतिकताको आधारमा प्रधानमन्त्रीको राजीनामा माग्न त मिल्छ होला नि?
राजीनामा माग्न त सकिन्छ। संस्थागत रुपमा निर्णय गराउन पार्टीमा कुरा गर्छु।
प्रधानमन्त्री केपी ओलीलाई सभापति देउवाले तपाईं नआत्तिनुस्, म साथमै छु भन्नुभएको भन्ने आशंका पनि छ। सत्य होला?
यो कुरा त कि सभापतिजीलाई सोध्नुपर्यो कि प्रधानमन्त्रीलाई सोध्नुपर्यो। कतिपय आशंका सही पनि देख्छु म। संवैधानिक आयोगहरुमा नियुक्ति भए। अध्यादेशको विरोध जति गर्नुपर्ने हो, त्यति गरिएन ।व्यक्तिगत रुपमा विरोध गर्यौं तर पार्टीबाट जति विरोध हुनुपर्थ्यो, त्यति भएन।
अध्यादेश नै अवैधानिक थियो। संविधानले कल्पना गरेको शक्ति सन्तुलनलाई हो। शक्ति सन्तुलन राख्नकै लागि संवैधानिक परिषद्का सदस्यमा फरकफरक राज्यका अंगका पदाधिकारी राखिएको छ। शक्ति सन्तुलनलाई घटाउँदै तीन जनामा पुर्याउनुभएको छ।
जो व्यक्ति (आयोगका पदाधिकारी) बने त्यसमा मलाई केही भन्नु छैन। नियुक्त व्यक्तिका बारेमा मेरो चासो छैन। जुन रुपमा चयन गरियो, त्यसले सभापति पनि शंकाको घेरामा हुनुहुन्छ। संवैधानिक परिषद्को बैठकमा उहाँ जानुभएन। त्यहाँ कांग्रेसकै मान्छे पनि परेका छन्। जनताले शंकाको घेरामा राखेकै छन्। संवैधानिक परिषद्ले सिफारिस गरेर भएका नियुक्ति खारेज हुनुपर्दछ। खारेज गरिएन भने संवैधानिक आयोगहरुको कुनै तुक नै रहँदैन। व्यक्ति फेरि ल्याउनुस् तर प्रणाली अनुसार ल्याउनुस्। संसद पुनः स्थापना भएको छ, संसदीय सुनुवाइ हुनुपर्यो। नत्र त कुनै माने नै भएन नि। जसलाई जे मन लाग्छ, त्यही गरे भयो।
शक्ति सन्तुलनको कुरा गर्ने तर, भित्रभित्र चाहिँ पदीय भागबण्डा खोज्दा त नागरिकले कांग्रेसलाई किन पत्याउने?
मैले भने नि। जनताले शंकाको घेरामा राखेका छन्। म बोल्दैछु। अरु साथीहरुले पनि भन्नुपर्यो। संसदीय सुनुवाइ समितिबाट अहिले मनोनित भएकाहरुकै नै सुनुवाइ होस न्।
२३ गतेबाट बस्ने प्रतिनिधि सभा बैठकपछि वर्तमान गतिरोध हट्ने देख्नुहुन्छ?
म त सुन्दैछु कि २३ गते बोलाएको संसद २/३ दिनपछि नै अन्त्य गर्ने तयारी छ रे! दुई वर्षअघिदेखि उपसभामुख चयन हुन सकेको छैन। त्यो बेला प्रचण्ड-माधव के गरेर बसिरहनुभएको थियो? उहाँहरु पनि मतियार बन्नुभयो। कांग्रेस के गरेर बसिरहेको थियो? संसद चलेको बेला उपसभामुख चयन भएन भनी घेरेर चल्न नदिनुपर्ने हो। कांग्रेसले उपसभामुख पाउँछ/पाउँदैन भन्ने महत्वपूर्ण कुरा होइन। संसदको गरिमाका लागि पनि उपसभामुख जरुरी छ। अब सुरु हुने संसदमा मौका छ। उपसभामुख चयन गर्न सकिन्छ।
चाँडै अधिवेशन अन्त्य गरेर आफूलाई सहज हुनेगरी अध्यादेश ल्याउने प्रधानमन्त्रीको तयारी रहेको चर्चा पनि छ। त्यस्तो भयो भने कांग्रेसले सघाउँछ?
त्यसो गरियो भने पनि गलत हुन्छ। संविधानकै आधारमा ऐनहरु बनायौं। कुनै ‘कन्टेक्स्ट’ आएको होला नि त्यहाँ। धेरै छलफलपछि बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था गरिएको हो। राजनीतिक दल सम्बन्धी व्यवस्था पनि त्यस्तै कुनै ‘कन्टेक्स्ट’ कै आधारमा आएको हो। त्यसै अनुसारको ऐन बनेको हो।
दल फुटाउने गरी अध्यादेश ल्याउने कार्यमा कांग्रेसले समर्थन जनायो भने भोलिको दिनमा पार्टीलाई अप्ठ्यारो पर्छ। कुनै पनि प्रधानमन्त्री अराजक हुनसक्छ। प्रधानमन्त्रीलाई अराजक हुनबाट त रोक्नु पर्यो नि। नेकपा फुट्ला रे! कांग्रेसलाई फाइदा होला, एक छिनलाई मानौं। पार्टी आफैं विभाजन गरे भो त। विभाजनको विषय निर्वाचन आयोगमा पुगेको छ। निर्वाचन आयोगले विभाजन गर्न नसक्ने, अनि अध्यादेश ल्याउने? अध्यादेश ल्याएर प्रधानमन्त्रीले पार्टी अर्को बनाउने हो भने अहिले नै भन्दिए भइहाल्यो नि। हामी अर्को पार्टी बनाउँछौं, तिमी अर्को चलाऊ भने हुन्छ। त्यसको लागि अध्यादेश किन चाहियो?
तपाईंले विराटनगरमा अब 'अर्ली चुनाव' मा जानुपर्छ भन्नुभएको थियो। किन?
मैले भन्न त भनें तर परिस्थिति पनि त्यतै गइरहेको छ जस्तो देख्छु। अब दुई वर्ष मात्रै बाँकी छ। बरु हामीले चल्न नसक्ने हो भने प्रतिनिधि सभाले नै विघटन गरेर चुनावमा जाने भनेर संविधानमा लेखौं। प्रतिनिधि सभाले सहमतिमा विघटन गरौं भन्न सक्छ नि। अहिले प्रतिनिधिको अवस्थाले नेकपा विभाजन नभई सरकार बन्ने देखिन्नँ। यसैगरी सभा चलिरहने। अनि प्रधानमन्त्रीले दुई तीन दिनमै अधिवेशन अन्त्य गरिदिनुभयो भने के हुन्छ? किनभने सभालाई बिजनेस त सरकारले दिने हो नि त।
नयाँ सरकार बन्ने अवस्था नआउने अवस्थामा कांग्रेसले पनि आफ्नो भूमिका देखाउनुपर्ला नि?
देखाउनुपर्छ। नेपाली कांग्रेसले आफ्नो भूमिका अहिले खोज्नुपर्छ। यसले नेपाली कांग्रेस छ भन्ने देखिन्थ्यो। तर त्यसको अभाव भएको जस्तो देखिन्छ। कुनै बेला चुप लाग्दा पनि भूमिका पाइरहेको हुन्छ। त्यस्तो भइरहेको पनि हुनसक्छ। त्यो आफ्नो ठाउँमा छ। तर जबसम्म नेकपा फुट्दैन, तबसम्म कांग्रेसले गर्ने के? पर्ख र हेर भन्ने भन्दा बाहेक त हाम्रो अर्को बाटो छैन।
कांग्रेस सभापतिलाई त सरकारको नेतृत्व गर्नुस् भन्ने प्रस्ताव पनि आइरहेको छ!
त्यो स्वभाविक हो। सरकारमा जाने हो भने पनि ठीकै छ। तर सरकारमा जाने कसरी? नेकपा विभाजन भएपछि मात्रै जान सक्छ।
अहिले नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्ष र कांग्रेस मिलेर सरकारमाथि अविश्वास प्रस्ताव ल्याउन चर्चा पनि छ। त्यो कति सम्भव छ?
कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउने भन्ने चर्चा त हुँदै आएको छ। तर त्यसका लागि पनि नेकपा त फुट्नुपर्यो नि त। नफुटिकन त कसरी सम्भव हुन्छ र?
केहीगरी नेकपा विभाजन भयो र कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आयो भने अगाडि बढ्ने हो?
यो मेरो व्यक्तिगत धारणा हो, नेपाली कांग्रेसको अहिले सरकारमा जाने भन्दा पनि हाम्रो प्राथमिकता महाधिवेशन नै हो। अब हामीले महाधिवेशन गरेनौं भने कांग्रेसको 'लिगेसी' समाप्त हुन्छ। 'लिगल्ली' त खत्तमै हुन्छ। कुनै पार्टी त रहला तर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पनि पत्याइएको कांग्रेसको लोकतान्त्रिक छवि धुमिल हुन्छ। त्यसपछि को सभापति हुन्छ भन्ने कुरा त्यसपछि गौण हुन्छ।
अहिले संस्थापनइतर समूहका कतिपय नेताहरुले सभापतिले सरकारको नेतृत्व गर्नुभयो भने कांग्रेसले चुनाव हार्छ। विगतमा पनि त्यो देखियो। त्यसैले उहाँले सकेसम्म सरकारको नेतृत्व नलिए हुन्थ्यो भनिरहेका छन्। तपाईं धारणा के छ?
देउवा संसदीय दलको नेता हो। त्यसकारणले भोलि अवसर आयो भने उहाँ नै प्रधानमन्त्री हुने हो। होइन भने संसदीय दलले आफ्नो नेता फेर्नुपर्यो। या देउवाले नै म गठबन्धनको नेतृत्व गर्दिनँ भन्नुपर्यो। बरु उहाँले 'म नेपाली कांग्रेसको महाधिवेशनलाई अगाडि बढाउँछु, तपाईंहरुमध्ये जो हुने हो हुनुस्' भन्नुभयो भने उहाँका लागि पनि राम्रै हुन्छ। अनि निर्वाचनपछि उहाँ फेरि प्रधानमन्त्री बन्न सक्नुहुन्छ। जो सभापति हुन्छ, उसले चुनाव हाँक्छ।
प्रतिनिधि सभा विघटनपछि कैयौं कांग्रेस नेताहरु चुनाव होइन, पुनःस्थापना भनिरहनुभएको थियो। पुनःस्थापना भएपछि भने सरकार गठनमा सहभागी नहुने बरु चुनावतिर जाने भनिरहनुभएको छ। दोहोरो शैली भएन?
संसद् पुनःस्थापनाको कारण हामीले बुझाउन सकेनौं कि जस्तो लाग्छ। किनकि, हामीले गाह्रोगरी संविधान बनायौं। त्यसमा केही त्रुटि र कमजोरी होलान्। तर त्यसलाई सुधार गर्दै हामी अगाडि बढ्ने हो। त्यतिबेला हामीले नहुने निर्वाचनको कल्पना गरेर जाने भनेको भए संविधान त कोल्याप्स हुन्थ्यो नि त। त्यसपछिको देशमा भयावह स्थिति हुनसक्थ्यो। किनकि, ओलीजीले पो म निर्वाचन गराउँछु भनेर भनिरहनुभएको थियो। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीले त त्यति कुरा भन्ने नै भयो नि। स्वभाविक हो। उहाँले भनिरहँदा मलाई अचम्म लागेको थिएन। तर त्यही कुरा पत्याउने हाम्रा साथीहरु देखेर पो मलाई अचम्म लागेको थियो। वैशाखमा कसरी निर्वाचन हुनसक्थ्यो?
तपाईंले भनेजस्तो अर्ली चुनाव भयो भने कहिलेसम्म होला?
चैत वैशाखतिर होला। मंसिरमा चाहिँ चुनाव गर्नुहुँदैन भन्ने पक्षमा छु म। कारण अरु नै छ। किनकि, म हाम्रो महाधिवेशनमा केन्द्रित छु। हाम्रो महाधिवेशन भदौमा छ। भदौमा महाधिवेशन हुनु जरुरी छ। मंसिरमा चुनाव भयो भने हामीलाई अप्ठ्यारो छ। त्यसैले चैत वैशाख चुनावका लागि मौसमका दृष्टिले पनि राम्रो हो।
अबको चुनावमा कांग्रेसको अवस्था कस्तो होला?
कांग्रेसको १४औं भदौमा महाधिवेशन भएर नयाँ नेतृत्व आएपछि त्यसले चुनाव हाँक्छ। त्यतिबेला नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ। बहुमत नै आउँछ म भन्दिनँ। किनकि, हाम्रो चुनाव प्रणालीले बहुमत ल्याउन गाह्रो छ। यसपटक नेकपालाई राम्रो गर्ने मौका थियो। हाम्रो बहुमत पनि आउन सक्छ। तर नयाँ नेतृत्व नआइकनचाहिँ हुँदैन।
कांग्रेसबाट चुनावी नेतृत्व गर्ने सभापति तपाईं नै हुनुहुन्छ कि अरु कोही?
म पनि एउटा उम्मेदवार हो। तर म मात्रै होइन। अरु पनि हुनुहुन्छ। अब कसले जित्छ, त्यो त प्रतीक्षाको विषय रह्यो। तर नयाँ नेतृत्व आउनुपर्यो।
तपाईं म सभापतिको उम्मेद्वारबाट पछि हट्दिनँ भनिरहनुभएको थियो। धारणा परिवर्तन त भएको छैन नि?
अहिलेसम्म त पछि हटेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।