प्रतिनिधि सभा विघटनपछि नेकपाका केन्द्रीय नेतादेखि स्थानीय कार्यकर्तासम्म स्पष्ट रुपमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षमा विभाजित छन्। एउटा सानो संख्या एकता अभियान भन्दै वामदेव गौतमसँग जोडिएको छ। यसरी बनेका तिनै समूहमा छैनन् पूर्वमन्त्री समेत रहेका नेकपा नेता लालबाबु पण्डित। नेकपामा आएको राजनीतिक संकटका विषयमा उनको आफ्नै विश्लेषण छ। उनी प्रतिनिधि सभा विघटन गर्ने ओलीलाई वर्तमान संकटका जति दोषी देख्छन्, पार्टी विभाजनको संघारमा पुर्याउन प्रचण्ड र नेपाल पनि उत्तिकै दोषी ठान्छन्। पण्डितसँग डिबी खड्काले गरेको संवाद् :
तपाईंको स्वभावले तपाईंलाई बीचमा बस्न, शान्त रहन दिँदैन। तर तपाईं यतिबेला शान्त र तटस्थ देखिनुहुन्छ। तपाईं नेकपाको कुनै समूहमा किन नखुल्नुभएको?
म अहिले पनि नेकपामा छु। त्यसमै रहन्छु। पार्टीमा अहिले चिरा परेको छ। तर, विभाजन भने भएको छैन। चिरा पनि स्वार्थको कारणले परेको हो। चिरा अवसरको तानातानको कारणले परेको हो। यहाँ कुनै सैद्धान्तिक विवाद छैन। नीतिगत विवाद छैन। र, गौण कुरामा बढी विवाद भएको छ। गौण कुरालाई प्रमुख ठानेर हिँडेको नेतृत्वपंक्ति, जो पचासौं वर्षदेखि जस्तोसुकै संकट पनि पार गरेर आएको एउटा स्थिति हो। र संकटमा पनि साथीहरुलाई एक ढिक्का बनाएर ल्याएको, पार्टी टुक्राटुक्रा र छियाछिया भएको पीडा पनि भोगेको, जेल नेल, दुःखकष्ट सबै भोगेको नेताहरु आज एक अर्कामा कुरुक्षेत्रको मैदानजस्तै मौखित शस्त्रहरु प्रहार गरेर महाभारतको लडाइँमा लाग्नुभएको कारणले गर्दा यो लडाइँ नै मलाई मन परेको छैन। दोस्रो कुरा संकटको बेलामा नेतृत्वपंक्ति गम्भीर हुनुपर्छ र संकट मोचनको उपाय खोज्नुपर्छ। गम्भीरतापूर्वक खोज्नुपर्छ। न कि संकटको बेलामा आफूले आफ्नै भित्रमा जे हतियारले सकिन्छ, त्यही हतियारले तेजोबध गर्न लाग्नुलाई म बहादुरी ठान्दिनँ।
त्यसैकारणले गर्दा म लामो समयदेखि आन्तरिक संकटको बारेमा आफू जानकार रहेको र त्यसलाई समाधान गर्नका निम्ति नेतृत्वपंक्तिलाई पटकपटक सल्लाह र सुझाव पनि दिइरहेको र विभिन्न संवैधानिक र राजकीय पदहरुमा रहेका र पार्टीका विभिन्न पदमा रहनुभएका सबै नेताहरुसँग निरन्तर छलफलमा रहिआएको छु। तर, मलाई के लागिरहेको छ भने अलिअलि नंग्रा पलाएको, दाह्रा पनि पलाइरहेकोले नंग्राले चिथोर्न मन लागिरहेको र दाह्राले टोक्न मन लागिरहेको आक्रोशपूर्ण स्थिति भएकाले यसलाई शान्त बनाउनका निम्ति म लागिरहेको छु। पार्टी एकताको निम्ति लागिरहेको छु। अहिले पार्टी चिरा मात्रै परेको छ, दुईवटा पार्टी भएको भए म एकातिर लागिसक्थें।
दुवै तर्फबाट हामी नेकपा नै हौं, हाम्रो सिद्धान्त र विचारमा कुनै फरक छैन, हाम्रो चुनाव चिह्न सूर्य हो र हामी नै आधिकारिक हौं भनिरहनुभएको छ। त्यो भन्दा भन्दै पनि त्यहाँ अलंकार र बुट्टाहरु थप्ने काम भएको छ। त्यो भनेको, कति नयाँ पदहरु सिर्जना गर्ने, कति पुरानै पनि, कति नयाँ आकर्षणका निम्ति मैले देखिरहेको छु। त्यो संगठनात्मक सिद्धान्त अनुसार छैन। त्योचाहिँ धेरै मान्छेलाई आफूतिर तान्नका निम्ति प्रलोभित गरिएको स्थिति हो। म सम्झिन्छु, दोस्रो विश्वयुद्धमा, लडाइँमा हार्दै जाँदाखेरी एकैदिन दोब्बर तलब बढाइदिने, एकै हप्तामा चार गुणासम्म तलब बढाइदिने, जसले गर्दा निराश नहुन् भनेर पछि हुँदाहुँदा त एउटा जुत्ता किन्नका निम्ति एक डोको नोट बोकेर हिँड्नुपर्ने स्थिति बन्यो। नेपालमा पनि हामीले एउटा पद पाइसकेपछि त्यहाँबाट तल झर्न मन नलाग्ने गरेको देखेका छौं।
अब पद र मर्यादा एक डोको हुने भयो। मूल्यचाहिँ नरहने भयो?
पद र मर्यादाको मूल्य घटेर संख्या डोकोमा, त्यो पनि कति डोको हुने हो भन्ने टुंगो छैन। अध्यक्ष नै कति डोको हुने भए अब त१ म सम्झिन्छु। कम्युनिस्ट पार्टीको सदस्य बन्नका निम्ति चन्द्रमामा पुगेर आएका युरी गागरिनले माग्दाखेरि पनि दिएनन्। किनभने, एउटा कुराको विशेषता हुन्छ तर त्यो राजनीतिक विशेषता होइन। तर, यहाँ त कम्युनिस्ट विरोधी विचारमा बसेकाहरु एकैचोटी केन्द्रीय कमिटीमा पुग्ने भए। र, ऊचाहिँ कुन पदमा पुग्छ भन्ने सीमा पनि रहेन।
यो एउटा हताश र कमजोर मानसिकताको उपज पनि हो। र, मोटाएको भन्दा सुनिएको देखाउने प्रवृत्ति पनि हो। त्यसकारण अहिलेको होडबाजी र वाकयुद्ध एक किसिमको महाभारत जस्तै हो। लडाइँको बिन्दु सिर्जना गरेजस्तै सानातिना कुरा, पदीय लडाइँ, पदीय महत्त्वाकांक्षाको कारणले देशको संविधान, पार्टीलाई विभाजन गर्नेदेखि लिएर सिंगै देशलाई राजनीतिक स्थिरता र विकासको आशा राखेको जनतालाई विकासबाट पर र शान्तिको चाहना राख्ने जनतालाई शान्तिबाट पर पुर्याउने काम जुन भइरहेको छ। यसप्रति मेरो असहमति हो।
वामदेव गौतमले पनि बीचको धार सिर्जना गर्नुभएको छ। तपाईं त्यहाँ पनि देखिनुहुन्न। तपाईंको बीचको धारचाहिँ के हो?
म अहिले बीच धारमा होइन। म अहिले एकीकृत पार्टीको केन्द्रीय सदस्यको हिसाबले र एकीकृत पार्टी निर्माण हुनुपर्छ, भएकोलाई फुट्न दिनुहुँदैन र जुन समस्याहरु छन्, त्यसलाई आपसी छलफलबाट समाधान गर्न सकिन्छ भन्ने विश्वास राख्ने व्यक्ति हो।
बामदेव गौतमले पनि त यही अभियान थालेको भन्नुभएको छ, उहाँसँग किन नजोडिएको त?
पहिलो कुरा चाहिँ म संसद् पुनःस्थापनाको पक्षमा थिएँ। विघटनको पक्षमा थिइनँ। पार्टीको एकताको पक्षमा छु । म प्रष्ट भन्न चाहन्छु। पार्टी फुटेकै छैन। कता हुने भन्ने कुरा हुँदैन। चिरा मात्रै परेको हुनाले चिरा पार्ने काममा लाग्ने कि टाल्ने काममा लाग्ने भन्दा म टाल्ने काममा छु । एक बनाउने काममा लागिरहेको छु। यही सन्दर्भमा कमरेड वामदेव गौतमले पनि एकता अभियान सिर्जना गर्नुभएको छ। तर अहिलेको समस्याको एउटा मुख्य कारक कमरेड गौतम नै हो। उहाँभित्रको आत्मकेन्द्रित, पद केन्द्रीत महत्वाकांक्षा नै हो ।
जसले गर्दा उहाँभित्र पार्टीको अध्यक्ष, संविधानले नदिएको पनि देशको प्रधानमन्त्री म नै हुनुपर्छ, मेरै निम्ति संविधान पनि संशोधन गर्नुपर्छ, मेरा निम्ति पार्टीले सवै गर्नुपर्छ, पार्टीका निम्ति मैले गर्ने होइनु भन्ने मान्यता रहेको हुनाले उहाँसँग मेरो कुरा मिल्दैन। उहाँले जसले अध्यक्ष दिन्छ, त्यतै लाग्छु भनिसक्नुभयो। दुईतिरैबाट अध्यक्ष पाइनँ भने तेस्रो धारका रुपमा एकता अभियान चलाउने र नयाँ पार्टीको रुप दिने र नयाँ पार्टी बनाएपछि फेरि एकता गर्ने भन्नुभएको छ। उहाँसहित पार्टी तीन टुक्रा हुने, अनि फेरि तीनवटा पार्टीको एकता गर्ने कुरा अहिलेको सन्दर्भमा अव्यावहारिक हो ।
तपाईंको अजेन्डा संसद् पुनःस्थापना हुनुपर्छ भन्ने नै थियो। यो अजेन्डा लिएर त पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पनि थियो। उहाँहरुसँग सहकार्य गर्न के कुराले छेक्यो?
म अहिलेको विवादलाई लामो समयदेखि जान्दछु। म आफ्नो सरकार आफैंले ढाल्ने अविश्वास प्रस्ताव दर्ता गर्ने कुराको विरोधी हुँ। र पद नपाउँदा पार्टी फुटाउने कुराको जग बसाउनेदेखि लिएर त्यो दिशा तयार गर्ने कुराको म विरोधी हुँ। त्यसैले पार्टी विभाजनको कुरामा उहाँ ९प्रचण्ड–माधव०को भूमिका बढी देख्छु। र, त्यसले गर्दा आवेग र आक्रोशमा आएर चलिरहेको संसद्लाई विघटन गर्नु प्रधानमन्त्रीको कमजोरी थियो।
अहिले आन्तरिक झगडा मात्रै होइन, संसद् र संविधान छुन लागिरहेको अवस्थामा म प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा थिएँ। त्यसैले पार्टी विभाजनको विरोधमा छु, विभाजनको अगुवाइ गर्नेको साथमा पनि छैन। संसद् विघटन गर्नेलाई साथ दिन पनि सकिँदैन। निर्वाचन आयोगले एउटा निष्कर्ष नदिउन्जेल म कहीँ छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुभयो उहाँ र पदका लागि पार्टी विभाजनको आधार तयार पार्ने प्रचण्ड र नेपाल तपाईंको मूल्यांकनको तुलोमा बराबर हुन्न।पार्टी विभाजनमा अहिले पुष्पकमल दाहाल कमरेडहरुको भूमिका बढी छ। प्रतिनिधि सभा विघटनमा प्रधानमन्त्रीको भूमिका छ । त्यसैले दुवैजना पछाडि फर्किनुहोस् भनेर आग्रह गरिरहेको छु। भेटेको पनि छु । सल्लाह र सुझाव पनि दिएको छु। पार्टी एकता, संविधान र कम्युनिष्ट आन्दोलनका लागि लागेको छु। आफ्नो भविष्य जुन तरिकाले देख्नुभएको छ, मेरो भविष्य मैले जस्तो देखेको छु। त्यो तीतो भए पनि सुनाएको छु।
पार्टी विभाजन निश्चित देखिन्छ। पद र जिम्मेवारीको भागबन्डा चलिरहेको छ। राजनीतिक उचाइ हासिल गर्नुपर्ने यो मौका गुमिरहेको छ जस्तो लाग्दैन तपाईंलाई?
म पदको पछि लागेको भए पदलाई हेरेर एउटा समूहको पछि कुदिहाल्थें। म पदको पछि नलागेर मेरो पछि पद लागेर आउने भएकाले काम गर्दै जाँदा आइहाल्छ भन्ने विश्वास छ। पद आउने जाने भइरहन्छ। सगरमाथाको चुचुरोमा पुग्नेहरु सगरमाथाको फेदमा आउँदैन भन्ने हुँदैन। चुचुरोमा पुग्ने र आउने क्रम चलिरहन्छ। चुचुरो र फेदको साइनो निरन्तर रहन्छ।
तपाईं सुरुदेखि नै सरकारमा हुनुहुन्थ्यो। बीचमा निकालिनुभयो। यस्तो राजनीतिक दुर्घटना निम्तिने खतराको संकेत त्यो समय मिलेको थियो तपाईंलाई?
मैले सरकामै हुँदा यो पदीय महत्वाकांक्षा र आन्तरिक गड्याङगुडुङ थाहा पाएको हुँ। जुन एकतासँगै जोडिएर आएको थियो। त्यो चारजनाको गोप्य सम्झौताबाट पनि आएको थियो। त्यसको संकेत सपथ ग्रहण गर्ने दिनमै देखियो। पछि काम गर्दै जाँदा बढ्दै गयो। म आफैं मन्त्री हुँदा आफ्नै पार्टीका कतिपय नेताहरुको निर्देशनमा संवैधानिक हक प्रयोग गर्दा समेत मेरो पुत्ला जलाए। गलत कुनै काम नगरेको, दृढतापूर्वक उभिएको र प्रधानमन्त्रीको मूल्यांकनमा ८६ प्रतिशत थियो। विद्यार्थीको भाषामा भन्दा डिस्टिङ्सन ल्याएकै हो। तर प्रधानमन्त्रीज्यूलाई के दबाब पर्योरु म हटें। तर निराश भइनँ। निराश कहिल्यै थिइनँ। मलाई मन्त्री बन्ने बेला थाहा थिएन। ढिलोगरी बोलाइएकाले गएको हुँ।
मैले त्यो बेला भनेको थिएँ, फागुनपछि संकट आउँछ। हामीले गाडीमा गुडेजसरी काम गर्यौं, अब आउने मन्त्रिमण्डलले उडेर काम गर्ला। तर, फागुनपछि महारकेटको आवश्यकता पर्छ। नभन्दै फागुनपछि कोरोना भाइरस र चैतदेखि राजनीतिक संकट आइलाग्यो र वैशाखमा मुखरित भएर देखापर्यो। एकता भदौमा गरियो तर काम चलेन। पुस ५ गते प्रतिनिधि सभा विघटन भयो। यी संकेत देखेको थिएँ। सचेत गराएको थिएँ। जुनबेला पदमा थिएँ, सार्वजनिक गर्न मिल्दैनथ्यो। म कहाँनेर गलत भएँ भने रिस उठेको बेला आफ्नै छोराछोरीलाई ुमार्दिन्छुु त भनिन्छ तर मायाले थप्पड हानिन्छ। त्यसैले जतिसुकै रिस उठेपनि नेताहरु पार्टीलाई माया गरेर अघि बढ्लान् भन्ने लागेको थियो।
मेरो चाहना जनप्रतिनिधि संस्था र पार्टीलाई सुदृढ गर्नु हो। पार्टीका सबै नेताले सम्मानित काम गरुन् भन्ने हो। नेताहरुलाई सुदृढ गर्दा उहाँहरुको मान प्रतिष्ठा अझै बढोस् भन्ने मेरो चाहना हो। नेतृत्वप्रति शंका होइन्, विश्वास पैदा होस्। अहिले संकट देखापरेको छ। जनता र कार्यकर्ताले पनि संकटकै रुपमा हेरेका छन्। सरकरात्मक रुपमा लिएर अघि बढ्न मेरो नेताहरुलाई सुझाव हो।
त्यसो भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै न कुनै क्रुर कदम चाल्न वाध्य पारिने संकेत पहिल्यै प्राप्त गर्नुभएको थियो?
नेतृत्व पङ्तिले धेरै कुरा पचाउन सक्छ। र, पचाउने मात्रै होइन कि उठेका आशंकालाई हटाएर सकरात्मक ऊर्जा लिन्छ भन्ने लागेको थियो। छिटो वा ढिलो पच्ने दुवै खालको खाना खाइन्छ। त्यसको मूल उद्देश्य इनर्जी प्राप्त गर्ने नै हो। नेतृत्व पङ्ति आत्मकेन्द्रित भएर समस्या खोजेर ल्याएर समस्या टाउको बोक्ने र बोकाउने गर्दैन होला लागेको थियो।
मन्त्रालयगत मूल्यांकनमा तपाईंले प्रधानमन्त्रीले अग्रस्थानमै राख्नुभएको थियो। प्रचण्ड–माधव समूहले तपाईंलाई मन्त्रीबाट हटाउने भूमिका खेलेपछि तपाईं दुवै समूहमा अहिले नरहेको टिप्पणी भएको छ। त्यसो हो र?
वाध्य कसले पार्नुभयो, भएन मलाई थाहा छैन। जतिबेलासम्म मैले काम गरें, इमान्दारिताका साथ गरें। मन्त्रीबाट बाहिर हुँदा पनि शिर ठाडो पारेकै छु। कुनै अपराध गरेको छैन। सरकारको स्थायित्व नै मैले चाहेको हुँ। सरकार ढलोस् भन्ने कहिल्यै चाहिनँ। कमजोरी नेतामा छ भनी राजनीतिक रुपमा औंल्याउँछु। गैरराजनीतिक बाटो म लिन्न।
अहिले त कतिपय अवस्थामा गैरराजनीतिक कार्य पनि भएको छ। संसदीय प्रणाली प्रधानमन्त्रीय प्रणाली पनि हो। मन्त्रीलाई हटाउने अधिकार प्रधानमन्त्रीमा हुन्छ। जनताको लागि राम्रो लागे पनि नेतृत्वले कसैको स्वार्थपूर्तिमा नराम्रो लाग्न पनि सक्छ।
आन्तरिक कुरा आन्तरिक नै रहोस्। सवै कुरा बाहिर ल्याउन पनि हुँदैन। एउटा उदाहरण, विवाह गरेपछि हनिमुन हुन्छ। दम्पतिबीच जतिसुकै झगडा भए पनि मूल सडकको चौराहामा आएर यसरी हनिमुन मनाएका थियौं, दम्पतिले भन्दैनन्। भन्नुपनि हुँदैन। तसर्थ पागलपन मैले देखाउन हुँदैन। देश जनता बुझेको मैले आन्तरिक कुरा भन्नु पनि हुँदैन।
पटकपटक पत्रकारले प्रश्न गर्छन्, तपाईलाई किन हटाइयोरु प्रधानमन्त्रीसँग सोध्नुहुन्नरुु बाचुन्जेल मैले प्रधानमन्त्रीसँग सोध्दिन भनेको छु। पदसँग आशक्ति भयो भने त्यसलाई बचाउन निरन्तर लागिरहने कतिपय हुन्छन्। मलाई पदसँगको आशक्ति थिएन। कामको जिम्मेवारी पाएपछि मैले पूरा गर्छु, त्यही नै ठूलो कुरा हो।
जुन पक्षले पार्टीको आधिकारिता प्राप्त गर्छ। त्यही समूहमा तपाईं लाग्ने आशंकामा कति सत्यता छ?
जनताको बहुदलीय जनबादबाट म लामो समयदेखि प्रशिक्षित हुँदै आएको हुँ। त्यही विचारबाट जनताको माया पाएको हुँ। अहिले दुबै चिराले जनताको बहुदलीय जनवाद बोकेका छैनन्। जनताको जनवाद बोकेका छन्। कुनैदिन त्यही सिद्धान्त बोक्लान्, त्यो अर्को कुरा भयो। वर्तमान चिरा पूर्व एमाले र पूर्व एमालेको विचमा मात्रै छैन। दुबैतिर नेता कार्यकर्ता ‘मिसकट’ भएका छन्। त्यसैले त्यो सही होइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।