काठमाडौं– यो साता पूँजीबजारमा देखिएको तीव्र उतार–चढावको मूख्य कारण तरलता अभाव हुने र ब्याजदर बढ्ने अनावश्यक हल्लाले लगानीकर्ताहरुमा परेको मनोवैज्ञानिक असर रहेको पूँजी बजारका जानकारहरुले बताएका छन्।
यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.७४ अंकले घटेको थियो। त्यस्तै सोमबार ४० अंकले बढेको बजार मंगलबार ६० अंक र बुधबार ३९.२३ अंंकले ‘करेक्सन’ भएको छ।
बुधबार १.६० अंकले बजार घटेपछि परिसूचक २४१६ अंकमा कायम भएको छ। अघिल्ला हप्ताहरुको तुलनामा यो साता कारोबार रकममा पनि गिरावट देखिएको छ।
यो साता पूँजीबजारमा तीब्र उताव–चढाव देखिनुको कारण ठूला लगानीकर्ता र सेयर बजारका खेलाडीले फैलाएको भ्रम रहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्।
तरलता अभाव र ब्याजदर बढ्ने हल्लाले ‘मास साइकोलोजी’मा प्रभाव पारेका कारण बजारमा निकै उतार–चढाव देखिएको उनको भनाई छ।
‘ठूला लगानीकर्ताले बजारमा तरलता कम छ र बैंकले ब्याजदर बढाउँदैछ भन्ने खालको भ्रम फैलायो। र निरन्तर बढेको बजारमा केहि करेक्सन हुनु स्वभाविक पनि हो,’ उनले भने।
पछिल्लो समय बजारमा निरन्तर करेक्सन देखिने गरी कुनै स्पष्ट कारण नभई ‘अपुष्ट हल्ला’ रहेको रौनियार बताउँछन्। ‘बैंकको ऋण पाउन सजिलो छ। तीन चार दिनभित्रै ऋण स्वीकृत हुन्छ। दोस्रो त्रैमाससम्म हेर्दा धेरैजसो बैंकको ब्याजदर घटेको छ। एक अंकको ब्याजदर (सिंगल डिजिट) भएसम्म बजारलाई त्यति असर देखाउन नहुने हो,’ उनले भने।
सिसिडी रेसियो ८५ प्रतशितसम्म दिन पाउने सुविधा भएपछि अहिले कुनै पनि बैंकको सिसिडी रेसियो ७६ प्रतशित भन्दा बढी कट्न सकेको देखिँदैन। बैंकमा बढी भएको रकम नेपाल राष्ट्र बैंकले रिभर्स रिपोका रुपमा लिएकोमा त्यो पैसा पनि बजारमा आएको छैन।
त्यस्तै आर्थिक वर्षको दोस्रो त्रैमासिक पछि सरकारको बजेट खर्च पनि बढ्ने भएका कारण तरलता अभाव नहुने आंकलन गरिएको छ।
पछिल्लो समय परिसूचक लगातार बढिरहेका कारण करेक्सनलाई स्वाभाविक मानिनुपर्ने पनि रौनियारको तर्क छ।
‘बजार लगातार बढेको थियो। करेक्सन थिएन। करेक्सन नभईकन बजार बढेको बढ्यै हुनु पनि राम्रो होइन। बढ्ने–घट्ने क्रम चलिरहनुपर्छ। एक दिनमा पनि परिसूचक घटेको घट्यै वा बढेको बढ्यै हुनुभन्दा उतार–चढाव नै कायम रहनु राम्रो मानिन्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।