बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १५ दिने कम्युनिटी पोस्टिङ अन्तर्गत धनकुटा जिल्ला अस्पतालमा आएको मौका छोपी स्रष्टा झमक घिमिरेसँग भेटघाट गर्न जाने जमर्को कसेँ। सँगै आएकासाथीहरुसहित म पनि आफ्नो ड्युटी सकेर उहाँको घर जान निस्किएँ।
धनकुटा बसपार्कबाट टयाम्पुबाट करिब १५ मिनेटको दुरीमा रहेको उहाँको पुख्र्यौउली घर धनकुटा नगरपालिका–६ कचिडे पुगियो। उहाँको घरसम्म पुग्ने बाटो त बनाइएको रहेछ तर पानी परेर बाटो बिग्रिसकेको थियो।
उहाँको घर जाने बाटोमा घर देखाउने कुनै चिन्ह भने थिएन। जसले गर्दा हामी सोधखोज गरेर उहाँको घर पुग्यौं।
हामी पुग्दा उहाँको बुबा ह्विलचेयरमा हुनुहुन्थ्यो अनि झमक दिदी चाहिँ पिँढीमा बसिरहनुभएको थियो। उहाँको कृति ‘जीवन काडाँ कि फूल’बाट अत्यन्त प्रभावित भएका हामी अनेकौं कौतुहलता बोकेर त्यहाँ पुगेका थियौं।
बाल्यकालमै सेरेब्रल पाल्सी (बाल मस्तिष्क पक्षघात) बाट पीडित झमकका दुवै हात चल्दैनन् थिए। हामीले कोसेली स्वरुप लगेको कलम र कापी उहाँले खुट्टाका औंलाबीच चेपेर लिनुभयो।
हामी जे–जे सोध्थ्यौं उहाँले त्यसको उतर मजाले खुट्टाले कापीमा लेखेर हामीलाई दिनुभयो। मस्तिष्क पक्षघातका बाबजुद उहाँको जीवन संघर्ष, दुःख अनि सफलता हाम्रा लागि प्रेरणादायी छन्।
मनमा दृढ इच्छा भयो भने जुनसुकै अप्ठेरो परिस्थिसँग लडेर पनि जीवन सार्थक बनाउन सकिन्छ भन्ने जीवित उदाहरण झमकका अघि हामी सम्मानले निहुरिएका थियौं। उहाँसँगको भेटघाट र कुराकानीले एक किसिमको ऊर्जा मिलिरहेको थियो।
आफ्ना शारीरिक अशक्ततालाई तागत बनाएर झमकले जुन स्थान हासिल गर्नु भएको छ, त्यो अकल्पनीय छ।
झमकले बुबाको खराब स्वास्थ्यका कारण आफू घरमै बसेको बताउनु भयो। साथै आफू अर्को कृतिको लेखनमा व्यस्त रहेको पनि उहाँले हामीलाई सुनाउनु भयो। उहाँले हरेक प्रश्नका जवाफ कापीमा लेख्दै मिठो मुस्कानसहित हामीसँग भलाकुसारी गर्नु भयो।
हाम्रा लागि मात्र नभएर उहाँ यो जगतकै लागि आर्दश पात्र हुनुहुन्छ। जसले आफ्नो दुःख, पिरमर्क एकतिर पन्छाएर नेपाली साहित्यलाई ठूलो योगदान दिनुभयो।
अन्त्यमा एउटा डायरीको पानामा उहाँको हस्ताक्षर लिएर बिदा मागी हामी फर्कियौं। मनमा एउटी अभूतपूर्व महिलासँग साक्षातकार गर्न पाएकोमा गर्वको अनुभूति भयो। झमक घिमिरेसँगको यो छोटो भेटले हामीलाई निकै उत्साहित बनायो। सार्थक जीवन जिउन प्रेरणा मिल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।