काठमाडौं– प्रतिनिधि सभा विघटनपछि तटस्थ बसेका नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। प्रतिनिधि सभा पुनःस्थापना भएको दिनलाई ऐतिहासिक बताउँदै उनले ओलीलाई यस्तो सुझाव दिएका हुन्।
सर्वोच्चको फैसलालले निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको उनले बताएका छन्।
तीनबुँदे विज्ञप्ति जारी गर्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुपर्ने बताएका छन्।
यसैगरी, अन्य दुई बुँदामा भनेका छन्, ’प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।’
यस्तो छ उनको विज्ञप्ति
संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता विसं २०७७ साल फागुन ११ गतेको दिन ऐतिहासिक महत्त्वको रहेको छ। यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते गर्नु भएको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएको छ। आजको दिन निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान कानुन लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।
यसअवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछुः–
१) सम्माननीय राष्ट्रपति महोदयले प्रेस विज्ञप्तिबाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुपर्छ।
२) प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट ढिलान गरी तुरुन्त राजिनामा दिनुपर्छ।
३) नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय वैठक धुम्वाराही स्थित के. कार्यालयमा बोलाउन अनुरोध गर्छु।
वामदेव गौतम
उपाध्यक्ष, नेकपा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।