फाइल तस्बिर
काठमाडौं- प्रतिनिधि सभा विघटनपछि गठन भएको बृहत् नागरिक आन्दोलनले आफ्नो नित्य खबरदारी रहिरहने बताएको छ।
‘बृहत् नागरिक आन्दोलनले राजनीतिलाई जनताको पकडमा ल्याउन विभिन्न नागरिक तथा सामाजिक समूहहरूसँग संवाद गर्दै नित्य खबरदारी गरिरहनेछ’, मंगलबार जारी विज्ञप्तिमा भनिएको छ।
२०७७ पुष ५ गतेको असंवैधानिक संसद् विघटनलाई सर्वोच्च अदालतले बदर गरी प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादी यात्रामा रोक लगाएको बृहत् नागरिक आन्दोलनको प्रतिक्रिया छ।
‘संसद विघटन त्यसअघिदेखि नै सुरु भएका असंवैधानिक अभ्यास र प्रतिगामी कदमहरुको प्रकट रुप मात्र थियो। विघटनसम्म पुग्नका लागि राजनीतिक प्रक्रियामा निहित जड कारणहरुको आत्मसमीक्षा गर्दै अब राजनीतिक दलहरूले अग्रगामी राजनीति सुनिश्चित गर्न संविधानमा पहिल्यैदेखि रहेका असन्तुष्टि सम्बोधन गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ।
सामाजिक न्याय सहितको लोकतन्त्रलाई आमनागरिकले जीवन्त रुपमा महसूस गर्न सकिने अवस्था निर्माण गर्न तथा तमाम असन्तुष्ट समुदायहरूले अपनत्व बोध गर्न सक्ने गरी संविधानलाई अध्यावधिक गर्न बृहत नागरिक आन्दोलन निरन्तर संघर्षरत् रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।